हुलाकीदेखि जिल्लाका अधिकांश सडक दयनीय
उत्तरतर्फ सर्लाहीको पर्सा गाउँपालिकाअन्तर्गत संग्रामपुरपछि पर्ने महोत्तरी जिल्लामा निर्माण पूरा भइसकेको छ । संग्रामपुरदेखि सर्लाहीको सदरमुकाम मलंगवा हुँदै वाग्मतीसम्मको हुलाकी सडकको निर्माण रोकिएको छ ।

२०७७ कार्तिक २७ बिहीबार, दिउँसो ४:२५ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । हुलाकी राजमार्ग पर्ने प्रदेश नम्बर २ का अधिकांश जिल्लाका अधिकांश ग्रामीण सडक धुलाम्मे हुँदा चाडपर्वका समयमा गाउँघर फर्किने यात्रुले सास्ती पाएका छन् ।
लामो समयदेखि जीर्णावस्थामा रहेका जिल्लाका भित्री ग्रामीण सडक आवतजावत गर्नै मुश्किल पर्ने गरी धुलाम्मे भएका छन् । यसबाट पैदल यात्रीका साथै सवारी साधनमा यात्रा गर्ने यात्रीहरु मारमा परेका छन् ।
सोही क्रममा सर्लाही जिल्लाको पूर्वपश्चिम हुलाकी सडक, चन्द्रनगर, ब्रह्मपुरी हुँदै सदरमुकाम मलंगवासम्म पुग्ने सडक, हरिपूर्वाबाट पर्सा गाउँपालिका हुँदै सदरमुकाम मलंगवासँग जोडिएको सडक र नवलपुरबाट मलंगवा जोड्ने सडक जीर्ण छन् ।
यात्राका क्रममा चर्को घाममा ठूल्ठूला खाल्डाखुल्डी र कुहिरीमण्डल धूलो उड्ने हुलाकी सडकको यात्रा गर्दा बिरामी हुने अवस्था आएको एक यात्री रजनीश रायले बताए ।
अहिले धुलाम्मे सडक थोरै पानी पर्नेबित्तिकै हिलाम्मे भई पोखरीमा परिणत हुने र पानी नपर्दा धुलाम्मे हुने गरेका कारण स्थानीय पैदल यात्री तथा सवारी यात्री मारमा पर्ने गरेको पर्सा गाउँपालिका–१ का वडाध्यक्ष सुरेन्द्रकुमार रायले बताए ।
अत्यधिक खाल्डाखुल्डी र धुलाम्मे ग्रामीण सडकका कारण यात्रुलाई हैरानी हुनाका साथै दुर्घटना पनि बढ्न थालेको अध्यक्ष रायले बताउनुभयो । विशेष गरी साँझका समयमा सवारी साधनको बढी आवागमन हुने भएकाले ग्रामीण सडकमा दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…