समाजवादी ट्रेड युनियन प्रदेश २ ले मनायो स्थापना दिवस : 'वर्तमान सरकार मजदुर विरोधी'
विद्यमान श्रम ऐनमा व्यवस्था भए अनुसारको मापदण्डहरुलाई सरकारले प्रभावकारी बनाएर लानुपर्ने सुझाव

२०७७ कार्तिक २४ सोमबार, बिहान ११:४३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी ट्रेड युनियन प्रदेश २ ले प्रथम स्थापना दिवस मनाएको छ ।
तत्कालीन समाजवादी पार्टी निकट मजदुर संगठन समाजवादी ट्रेड युनियन प्रदेश २ ले आइतबार बर्दीबासमा एक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अवसरमा युनियनले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले वर्तमान सरकार मजदुर विरोधी रहेको आरोप लगाएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेकी तत्कालीन समाजवादी पार्टीको प्रदेश २ की कोषाध्यक्ष रेणु यादवले दुई तिहाईको दम्भले मात्तिएको वर्तमान सरकारलाई यो ट्रेड युनियनले मात्रै तह लगाउन सक्ने धारणा राखिन् । बिगतमा राणा, पञ्चायत तथा राजालाई समेत मजदुर संगठनले नै तह लगाएको स्मरण गर्दै धेरै दम्भ देखाए परिणाम राम्रो नहुने चेतावनी उनले दिइन् ।
मजदुरको हक-हितका लागि सपा र राजपा मिली बनेको जसपाले कसैसँग सम्झौता नगर्ने स्पष्ट पर्दै उनले ढुक्क भएर संगठनलाई अब्बल बनाउन आग्रह गरिन् ।
यस्तै, कार्यक्रममा सिरहाबाट बर्दीबास आइपुगेका तत्कालीन सपाका मिर्चैया नगर अध्यक्ष रामदयाल यादवले सहिदको बलिदानबाट प्राप्त उपलब्धीलाई वर्तमान सरकारले उपेक्षा गरेकोमा चिन्ता व्यक्त गरे । उनले आफ्नो पार्टीको नाम नै जनता समाजवादी भएकोले आफूहरु समाजवाद पथमा अग्रसर रहेकोे र मुलुकको अबको विकल्प नै यही भएको बताए ।
युनियनका प्रदेश २ का अध्यक्ष फूलगेन साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका उपाध्यक्ष जिमी यादवले श्रमिकको हकहित र अधिकार संरक्षणका निम्ती आफ्नो युनियन सधैं अग्रणी भूमिकामा रहेको बताए । विद्यमान श्रम ऐनमा व्यवस्था भए अनुसारको मापदण्डहरुलाई सरकारले प्रभावकारी बनाएर लानुपर्ने उनको सुझाव छ ।
कार्यक्रममा अन्य वक्ताहरूले पनि सबै श्रमिकको सम्मान गरे र उनीहरुको अधिकारलाई सुनिश्चित गरेमा मात्रै मुलुकमा समृद्धि सम्भव रहेको धारणा राखे । कार्यक्रममा प्रदेश २ का विभिन्न स्थानका सयौंको उपस्थिति रहेको थियो ।
महोत्तरी जिल्ला कार्यसमिति गठन
युनियनको सोही सभाबाटै महोत्तरी जिल्ला कार्यसमिति पनि गठन गरिएको छ । गठित जिल्ला कार्यसमितिले जिल्लाका विभिन्न स्थानीय तह तथा स्थानहरूमा संगठनका कार्य गर्नेछन् ।
समायोजनपछि थप प्रभावकारी तरिकाले अघि बढ्ने योजना रहेको उपाध्यक्ष यादवले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…