टिएमएनसीको मधेश संवाद यात्रा सुरु, सशक्त मधेश निर्माण अभियानमा जुट्न अपिल
सक्षम नेतृत्व उत्पादन गरी समुन्नत, समतामूलक र सशक्त मधेश निर्माण मूल उद्देश्य

२०७७ कार्तिक १५ शनिबार, राति ९:०८ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को मधेश संवाद यात्रा प्रारम्भ भएको छ ।
टिएमएनसीले आज कार्तिक १५ गतेदेखि सिरहाबाट संवाद यात्राको थालनी गरेको हो । मिशन केन्द्रित भएर अगाडी बढ्न छलफल तथा संवादका लागि थालिएको संवाद यात्राको पहिलो दिन आज गोलबजारमा अन्तरक्रिया गरिएको छ ।
जिल्लाका विभिन्न स्थानबाट गोलबजार आइपुगेका सहभागीहरुलाई टिएमएनसीका अगुवाहरुले टिएमएनसीको उद्देश्य र लक्ष्य बारे प्रकाश पारेका छन् । मधेशमा रुपान्तरणका लागि विभिन्न खाले संघर्ष भएपनि त्यसपछि अवसर पाएकाहरु खराब बन्ने गरेको र अज्ञानताले पनि मधेश समग्रतामा खाडलमा परेको भन्दै सशक्त मधेश निर्माणकै लागि टिएमएनसीको जन्म भएको संयोजक विकास ठाकुरले बताए ।
सम्बोधनका क्रममा टिएमएनसीका सचिवालय सदस्यसमेत रहेका अगुवा काशिन्द्र यादवले यस्तै अवस्था रहिरहे पछि गएर मधेशको अवस्था झनझन दलदलमा फस्दै चिन्ताजनक बन्दै जाने बताउँदै मधेशमा ‘क्यापेबल लिडर्स’ उत्पादनको आवश्यकता रहेको र टिएमएनसीको मूल उद्देश्य यही रहेको बताए । यतिबेला आन्तरिक रुपमा समेत विभाजित रहेको मधेशको उत्थानका लागि टिएमएनसीले काम गर्ने उनले जनाए ।
भौतिक पूर्वाधार निर्माणले मात्रै विकास नहुने भन्दै समाजिक सेवा, समाजिक विकास र समाजिक मुद्दामा काम गर्दै टिएमएनसीले सक्षम नेतृत्व उत्पादन गर्ने र मधेशलाई सशक्त राष्ट्र बनाउने यसको मूल लक्ष्य रहेको उनको भनाइ छ । टिएमएनसीले सक्षम नेतृत्व उत्पादनका लागि मधेशको राष्ट्रिय रुपरेखा तयार गरी सम्बन्धित ज्ञानशास्त्रको प्रकाशन तथा प्रशिक्षण अगाडी बढाउने उनले बताए ।
सांगठनिक रुपमा स्थापित भएर टिएमएनसी पार्टीको रुपमा रुपान्तरण हुने पो हो की भन्ने सहभागीहरुको प्रश्नमा उनले भने, ‘त्यस्तो कदापि हुँदैन, यो सधैं यथावत् रहन्छ । हो, हामी पछि मजबुत भइसकेर सक्षम व्यक्तिलाई राजनीतिमा उतार्छौं, जसले सशक्त मधेश निर्माणका लागि काम गर्न सकोस् ।’
दक्ष जनशक्ति निर्माण भइसकेपछि राजनीतिका लागि टिएमएनसीले विचारधारा मिल्ने र मधेशको पीडा आत्मसात गर्ने पार्टीसँग मिलेर काम गर्नेसक्ने वा पार्टी नै बनाउनु परे पार्टी बनाउन मिल्ने, तर टिएमएनसी यथावत् नै रहने उनले बताए । मधेशवाद र मधेशको उत्थान यसको मूल चिज रहेको भन्दै राजनीतिक पार्टीलाई नियन्त्रणमा राखिराख्न पनि टिएमएनसी यथावत नै रहने उनको भनाइ छ ।
सक्षम नेतृत्व उत्पादन गरी समुन्नत, समतामूलक र सशक्त मधेश निर्माण नै यसको मूल उद्देश्य रहेको बताउँदै उनले टिएमएनसी नेतृत्व उत्पादन गर्ने ‘पावर हाउस’को रुपमा काम गर्ने उनले जनाए । सशक्त मधेश निर्माणका लागि टिएमएनसीको अवधारणा सबैले अंगिकार गर्नैपर्ने भएकाले नयाँ पुस्तासहित सबैलाई मनन र चिन्तन गर्न अग्रहसमेत उनले गरे । अस्था र पेशा जुनसुकै भएपनि यससँग आवद्ध हुन मिल्ने उनले प्रष्ट पनि पारे ।
आजको भेलाबाट टिएमएनसीको सिरहा जिल्ला काउन्सिल समेत गठन गरिएको छ । स्थानीय युवा शत्रुधन यादवको संयोजकत्वमा जिल्ला काउन्सिल गठन गरिएको टिएमएनसीका प्रचारप्रसार विभाग प्रमुख आभाष सिंहले जानकारी दिए ।
प्रथम चरणको मधेश यात्रा अन्तर्गत प्रदेश २ का आठै जिल्लाको एकएक ठाउँमा अन्तरक्रिया तथा संवाद गरिनेछ । सिरहापछि अब १७ गते सप्तरीमा, १९ गते सर्लाहीमा, २१ गते रौतहटमा, २३ गते बारामा, २५ गते पर्सामा, २७ गते महोत्तरीमा र २८ गते धनुषामा कार्यक्रम हुनेछ ।
यसपछि दोश्रो चरणमा पूर्वी मधेश र तेश्रो चरणमा पश्चिमी मधेश गरी मधेशका २२ वटै जिल्लामा संवाद यात्रा गरिने टिएमएनसीले जनाएको छ । यसक्रममा मधेशप्रति प्रतिवद्ध र चिन्तित सचेत युवा तथा प्रबुद्ध व्यक्तित्वहरुसँग संवाद गरिनेछ भने कुशल नेतृत्व छनोट गरी जिल्ला स्तरीय तदर्थ समितिको निर्माण पनि हुनेछ । यस लगत्तै गाउँस्तरमा पुगेर सक्रियता बढाउने टिएमएनसीको योजना छ ।
टिएमएनसीले मधेशलाई एक सुदृढ राष्ट्रको रुपमा र मधेशी पहिचानलाई राष्ट्रिय पहिचानको रुपमा स्थापित गर्ने मूल रणनीतिक योजना अन्तर्गत विगतका केहि वर्षदेखि वैचारिक, समाजिक, सांस्कृतिक र राजनीतिक स्तरमा विभिन्न कार्यक्रम र अभियान सञ्चालन गर्दै आएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…