मधेशमा लोप हुँदै 'मखान खेती'
मखान पोखरीभित्र तयार भएपछि पोखरीमा डुबुल्की लगाएर पानी बाहिर निकाल्छन्

२०७७ कार्तिक १४ शुक्रबार, दिउँसो १:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । मिथिला मधेश क्षेत्रकै किसानको आम्दानीको भरपर्दो स्रोत तथा सम्मानको प्रतीक मानिएको मखानखेती महोत्तरीबाट लोप हुन थालेको छ ।
किसानहरूले आम्दानीका लागि खुला ठाउँमा पोखरी बनाई माछा पाल्न थालेपछि मखानखेती लोप हुन थालेको हो । चाडपर्व, पूजाआजा, विवाह व्रतवन्धजस्ता शुभकार्यका साथै श्राद्ध कर्ममा समेत मिथिलामा मखानाको प्रयोग हुन्छ ।
मिठो खाद्य पदार्थको रुपमा रहेको मखान भारतबाट समेत आयात हुन थालेकाले राज्यलाई व्यापक घाटा भइरहेको छ । यसको खेती नभएर जिल्लाको मलाह जातिको रोजगारीसमेत गुम्न थालेको नेता राम उदिश मुखियाले बताए ।
केही वर्ष अघिसम्म मात्रै मखानको बजारमा वृद्धि हुन थालेपछि उनीहरु मखान खेती गरी राम्रो आम्दानी लिन अग्रसर भएका थिए । तर किसानले आम्दानी बढाउनका लागि पोखरीमा माछापालन गर्न थालेकाले यसको खेती लोप हुनथालेपछि उनीहरुको पेशा सङ्कटमा परेको जलेश्वरका मलाह खेलावन मुखियाले बताए ।
विशेषगरी पोखरी तलाउमा गरिने मखान खेतीमा शुरुमा केही मेहनत र खर्च गर्नु परेपनि पछि थोरै मेहनतमा प्रशस्त लगातार आयआर्जन गर्न सकिन्छ । मखान पोखरीभित्र तयार भएपछि पोखरीमा डुबुल्की लगाएर पानी बाहिर निकाल्छन् र घाममा सुकाउँछन् । त्यसपछि आगोमा भुटेर लावा तयार गरी बेच्छन् ।
मखानखेती जिल्लाको मटिहानी, सिमरदही, धिरापुर, आवर, वरदाहा, रामगोपालपुर, हरिहरपुर हरिनमरी र सदरमुकाम जलेश्वर नगरपालिकालगायत दर्जनौ गाउँमा करिब ५०० वटा जति पोखरीमा हुने गरेकामा अहिले सबै पोखरीमा माछा पाल्न थालिएको छ । जिल्लामा अहिले पनि कुनै कुनै स्थानमा थोरै भएपनि मखानखेती हुने गरेको जलेश्वर उद्योग वाणिज्य सङ्घका सदस्य शिवचन्द्र चौधरीले बताए ।
मिथिलामा कोजाग्रत पूर्णिमाका दिन हजारौं किलो मखानको बिक्री हुने गर्दछ । दीपावली र छठ पर्वलगायत विभिन्न पूजापाठमा पनि मखानको विशेष महत्व रहेको छ ।
महोत्तरीमा पछिल्लो दिनमा मखानखेतीमा कमी आएपछि आउँदा दिनमा यस क्षेत्रमा मखानको अभाव हुने र यसबाट जिल्लाावासीमा नराम्रो असर पर्ने सर्वसाधारणको भनाइ छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…