टिएमएनसीको 'मधेश संवाद यात्रा' १५ गतेदेखि शुभारम्भ हुँदै
सुदृढ र समतामूलक मधेशको निर्माण र कुशल नेतृत्व (अग्रदस्ता) को विकाससँग सम्बन्धित विभिन्न विषयबस्तुमाथि बृहत्तर छलफल गरिने जनाएको छ ।

२०७७ कार्तिक १२ बुधबार, बेलुकी ५:१९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) ले 'मधेश संवाद यात्रा' गर्ने भएको छ ।
टिएमएनसीले छलफल, संवाद तथा मिशन केन्द्रित भएर अगाडी बढ्नका लागि मधेशका जिल्लामा मधेश संवाद यात्रा गर्ने भएको हो ।
यस कार्यक्रम अन्तर्गत पहिलो चरणमा मध्य मधेश अर्थात् प्रदेश २ का आठ जिल्लामा कार्यक्रम गरिने टिएमएनसीले जनाएको छ । कार्तिक १५ गतेदेखि सिरहाबाट सुरु हुने संवाद यात्रा २८ गतेसम्म चल्ने टिएमएनसीद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
सिरहामा १५ गते, सप्तरीमा १७ गते, सर्लाहीमा १९ गते, रौतहटमा २१ गते, बारामा २३ गते, पर्सामा २५ गते, महोत्तरीमा २७ गते र धनुषामा २८ गते कार्यक्रम तय भएको टिएमएनसीका संयोजक तथा अधिवक्ता विकास ठाकुरले जानकारी दिए ।
संवाद यात्राका क्रममा प्रत्येक जिल्लाको एक स्थानमा तराई मधेश राष्ट्रिय परिषद्को जिल्ला स्तरीय स्वयंसेवक, स्वतन्त्र युवा, विद्यार्थी, बुद्धिजीवी, पेशाकर्मीहरु माझ मधेससँग सरोकार राख्ने विभिन्न सामाजिक, राजनीतिक पक्ष र तराई मधेश राष्ट्रिय परिषद्को रणनीतिक योजनाको बारेमा अन्तरक्रिया र संवाद गरिने जनाइएको छ ।
अहिलेसम्म मधेशको हकहितमा संचालन भएका सबै समाजिक, राजनीतिक अभियान, आन्दोलनहरुमा मधेशी समाज निर्माण र मजबुत मधेश निर्माण तथा सुदृढीकरणको पाटो गौण रहँदै आएको छ । यसले गर्दा जनधनको ठुलो लगानीको बाबजुद पनि विगतमा मधेशका राजनीतिक अभियान र आन्दोलनहरुले अपेक्षित परिणाम हासिल गर्न सकेको छैन ।
मधेशी सहिदहरुको सहादतको जगमा निर्माण भएको राजनीतिक शक्ति र नेतृत्वहरु अन्त्वगंत्वा भ्रष्ट र चरम अवसरवादी स्वरुपमा रुपान्तरण भएको भन्दै परिवर्तन र फरक गर्ने उद्देश्यले अगाडी बढेको टिएमएनसीका सचिवालय सदस्य काशिन्द्र यादवको भनाइ छ ।
मधेशको राजनीतिक र समाजिक अवस्था एकदमै नै चिन्ताजनक बन्दै गइरहेको भन्दै यसकै लागि टिएमएनसीको परिकल्पना भएको र लक्ष्य प्राप्तिका लागि जुटेको संगठन विभाग प्रमुख सरोज रायले बताए ।
टिएमएनसीले मधेशलाई एक सुदृढ राष्ट्रको रूपमा र मधेशी पहिचानलाई राष्ट्रिय पहिचानको रूपमा स्थापित गर्ने मुल रणनीतिक योजना अन्तर्गत विगतका केहि बर्षदेखि वैचारिक, समाजिक, सांस्कृतिक र राजनीतिक स्तरमा विभिन्न कार्यक्रम र अभियान संचालन गर्दै आइरहेको छ ।
पहिलो चरणपछि दोश्रोमा पूर्वी मधेश र तेस्रोमा पश्चिमी मधेश गरि मधेशका सम्पूर्ण २२ वटै जिल्लामा तीन चरणमा हुने मधेश संवाद यात्रामा मधेशको हकहितप्रति प्रतिबद्ध र चिन्तित तथा सचेत युवा, विद्यार्थी र प्रबुद्ध व्यक्तित्वहरुसँग सुदृढ र समतामूलक मधेशको निर्माण र कुशल नेतृत्व (अग्रदस्ता) को विकाससँग सम्बन्धित विभिन्न विषयबस्तु र तराई मधेश राष्ट्रिय परिषद्को रणनीतिक र कार्यनीतिक योजनाहरुको बारेमा गम्भीर र बृहत्तर छलफल गरिने टिएमएनसीले जनाएको छ ।
टिएमएनसीले यस संवाद कार्यक्रममा मधेश हित चिन्तक, युवा, विद्यार्थी, बुद्धिजीवी, पेशाकर्मी, पत्रकार सहितलाई सहभागिताका लागि अनुरोध पनि गरेको छ । संवाद यात्राका क्रममा संगठन विस्तार अभियान अन्तर्गत जिल्ला स्तरीय तदर्थ समितिको निर्माण र सम्भावना भएका कुशल नेतृत्वको छनौटको प्रक्रियाको पनि थालनी गरिने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…