ज्यानमारा 'आरके मेडिसिटी' : जसको लापरबाहीले पत्रकार चौधरी अल्पआयुमै अस्ताए
परिवारजन भन्छन्, 'समयमै रिफर गरेको भए यस्तो हुने थिएन'

२०७७ कार्तिक ११ मंगलबार, बेलुकी ७:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाल पत्रकार महासंघ सिरहाका सदस्यसमेत रहेका पत्रकार कृष्णमोहन चौधरीको निधन भएको छ ।
सिरहाको सुखीपुर नगरपालिका–८ निबासी ३५ वर्षीय चौधरीको उपचारको क्रममा मंगलबार बिहान निधन भएको हो ।
उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा ज्यान गएको परिवारजनले जनाएको छ । चौधरीको घुँडाको जोर्नी सुन्निएर रगत पिप जमेपछि करिब दुई साताअघि मुसहर्नियाँस्थित आरके मेडिसिटीमा शल्यक्रिया गरियो ।
शल्यक्रिया पश्चात् पनि सञ्चो देखिएन । तर, आरके मेडिसिटीले भने यहीँ ठीक भइहाल्छ भन्दै परिवारजनलाई अल्झाएर राखिरह्यो । स्वास्थ्य अवस्था एकदमै नै नाजुक बनेपछि मात्रै अस्पतालले चौधरीलाई कात्तिक ७ गते धरान रिफर गर्यो ।
तर, धरान पुऱ्याए पनि हातखुट्टा र शरीर थप सुन्निन नरोकिएपछि आइतबार धरानमा पुनः अर्थराइटिसको अपरेशन भयो । अपरेशन भएर उपचारकै क्रममा उनी दम तोडेको मृतकका आफन्त शत्रुधन प्रसाद चौधरीले बताए ।
आरके मेडिसिटीमै ठीक हुन्छ भन्दै करिब दुई हप्ता रोकेर अवस्था गम्भीर बनेपछि मात्र रिफर गरिएकाले अल्पआयुमै उनको मृत्यु भएको परिवारजन बताउँछन् । 'आरके मेडिसिटीले ज्यान बचाउने उद्देश्यले होइन, पैसा कमाउने उद्देश्यले अल्झाएर राख्यो,' एकजना आफन्तले भने, 'समयमै रिफर गरिदिएको भए आज यस्तो हुने थिएन ।'
आफूहरूसँग अन्याय भएको भन्दै न्यायका लागि परिवारजनले अपील पनि गरेका छन् । मृतक चौधरीको आजै अपराह्न स्थानीय गागन नदीको किनारमा दाहसंस्कार गरिएको छ । चौधरीका दुई छोरा, एक छोरी र पत्नी छन् ।
यसअघि समेत निरन्तर विवादमा आउँदै आएको आरके मेडिसिटी राजनीतिक र प्रशासनिक पहुँचको आडमा कानुनी कारवाहीबाट बच्दै आएको छ ।
यता, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य देवकुमार यादवले पत्रकार चौधरीको दु:खद निधनप्रति दु:ख व्यक्त गर्दै यस प्रकरणको छानबिन गरी अस्पतालका स्टाफ, डाक्टर, अस्पताल प्रशासन लगायत दोषी सबैलाई कानुनी दायरमा ल्याएर मानवता बचाउन प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…