मिर्चैया खानेपानी आयोजना लथालिङ्ग, उदासीनताले उपभोक्ता हैरान
खानेपानी जस्तो संवेदनशील विषयमा खेलाँची

२०७७ असोज २७ मंगलबार, राति ९:०२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मिर्चैया खानेपानी आयोजना विगत झण्डै डेढ वर्षदेखि लथालिङ्ग अवस्थामा छ ।
पानी नआउने तथा कुनैकुनै बेला आएपनि शुद्ध पानी नआउँदा उपभोक्ता हैरान बनेका छन् । मानव जगतका लागि खानेपानी नभई नहुने चिज हो ।
तर, यहाँका सरोकारबाला निकाय र व्यक्ति भने यसप्रति गम्भीर देखिएका छैनन् । स्थानीय तहको चुनाव हुनुभन्दा अगाडिदेखि नै झण्डै सात वर्ष कार्यकाल चलाएको मिर्चैया साना शहरी तथा खानेपानी सरसफाइ आयोजनाको तत्कालिन उपभोक्ता समिति नगरपालिकाले गत २०७५ चैत २१ मा खोरेज गर्यो ।
उपभोक्ता समितिको कार्यकाल ३ वर्ष मात्रै हुने हुँदा बढी समयसम्म एउटै समितिले निरन्तरता पाइरहनु राम्रो नहुने र व्यवस्थित ढंगले उक्त समितिले काम पनि गर्न नसकेको भन्दै नगरपालिकाले सो समिति खारेज गरेको थियो । नगरपालिकाले पुरानो समिति खारेज गरेलगत्तै चुनाव नहुञ्जेलसम्म खानेपानी आयोजना रेखदेख तथा सञ्चालनका लागि तदर्थ समिति बनायो ।
नगरपालिकाले केहि दिन भित्रै चुनाव गरिने भन्दै मिर्चैया ५ का वडाध्यक्ष धिरेन्द्र साह (ललन) को अध्यक्षतामा सम्बन्धित वडा ४, ६, ७, ८ का वडाध्यक्षसहित कार्यपालिका सदस्यहरु सम्मिलित ९ सदस्यीय तदर्थ समिति बनाएको थियो । तर, हालसम्म चुनाव हुन सकेको छैन ।
त्यसो त बीच बीचमा चुनावको चर्चा चल्दै नआएको होइन । खानेपानीको समस्या समाधान नहुँदा यहाँका विभिन्न स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा अगुवाहरुले संघर्ष समिति नै गठन गरी नगरपालिकामा र विभिन्न कार्यालयमा ज्ञापनपत्र पनि बुझाए । तर, तीन–चार पटक चुनावको चर्चा चलेपनि नगरपालिकाले समिति बनाएको झण्डै डेढ वर्ष बढी हुनै लाग्दा समेत चुनाव हुन सकेको छैन ।
सरोकारबाला निकायको उदासीनताले हालसम्म चुनाव हुन नसक्दा तथा हालका तदर्थ समितिले पनि मतलब नराख्दा खानेपानी आयोजना लथालिङ्ग अवस्थामा पुगेको हो । सरोकारबाला निकायले निकास दिनुपर्नेमा चाँसो नलिँदा यहाँका हजारौं उपभोक्तालाई सुरक्षित खानेपानीको समस्या भइरहेको छ ।
निकास दिलाउन फेरी पहल, तर समाधान कहिले ?
खानेपानीको समस्या समाधानको लागि पटकपटक आवाज उठाउँदै आएका यहाँका अगुवाले फेरि एकपटक अगाडि आएका छन् । संघर्ष समितिका अगुवाहरुले निकास माग्दै सोमबार खानेपानी कार्यालयमा ताला लगाउन नै गए ।
तर, सोही दिन खानेपानी कार्यालयमै संघर्ष समिति र तदर्थ समिति बीच निकासका लागि प्रक्रिया अगाडि बढाइने सहमति बनेपछि उनीहरु फर्किए । संघर्ष समिति र तदर्थ समिति बीचमा कार्तिक ३ गते सोमबार सर्वदलीय बैठक बोलाइ चुनावी प्रक्रिया अगाडि बढाउने सहमति भएको हो ।
खानेपानी जस्तो संवेदनशील विषयमा खेलाँची गरिनु नहुने संघर्ष समितिका अंजय साहको भनाइ छ । सरोकारबाला निकायको लापरवाहीले उपभोक्ता शुद्ध खानेपानी उपभोगबाट वञ्चित रहेको भन्दै उनले शीघ्र नै यो समस्या समाधान भए हितकर हुने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…