थुनुवा छुठाइदिने भन्दै ४ लाख लिने कांग्रेस नेता पक्राउ, यसरी खुल्यो पोल
पैसा तिरेर पनि मान्छे नछुटेपछि प्रहरी गुहारे पीडित परिवार

२०७७ असोज २६ सोमबार, दिउँसो २:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा थुनामा रहेका मान्छे छुटाइदिन्छु भन्दै रुपैयाँ असुल्ने नेपाली कांग्रेसका एकजना स्थानीय नेता पक्राउ परेका छन् ।
मिर्चैयाका डिएसपी सन्तुलाल जैसवारको कमाण्डमा गएको प्रहरी टोलीले कांग्रेस सिरहाका नेता रामबाबु यादवलाई पक्राउ गरेको हो । उनी कांग्रेसका पूर्व जिल्ला सहसचिव हुन् ।
रामबाबुलाई सिरहा सदरमुकामबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट १ लाख रुपैयाँ पनि प्रहरीले बरामद गरेका छन् ।
इप्रका मिर्चैयाले गत १८ गते जुवा खेल्ने आठ जनालाई एक होटलबाट पक्राउ गरेको थियो । सोहीमध्ये सियाराम महतोलाई प्रहरीबाट छुटाइदिन्छु भन्दै ४ लाख रुपैयाँ यादवले सियारामको परिवारसँग लिएका थिए ।
प्रहरीका अनुसार पक्राउ परेका नेता यादवले सियारामको दाई राधेश्यामसँग २० गते दुई पटक गरी ४ लाख रुपैयाँ असुलेका थिए । पैसा तिरेर पनि मान्छे नछुटेपछि पीडित परिवारले प्रहरीलाई गुहारेका थिए ।
मुद्दाको विषयमा कांग्रेस नेता यादवसँग कुरा गर्दा महतोको परिवारले अडियो रेकर्ड गरेका छन् । जसमा प्रहरी प्रशासनका हाकिमलाई मिलाउन पैसा लिएको र आइतबार मान्छे घरमै पु¥याइदिने यादवले बोलेका छन् ।
प्रहरीले मुद्दा मिलाउने नाममा पैसा असुलेको थाहा पाएपछि नेता यादवलाई पक्राउ गरेको हो । उनीमाथि ठगी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी शालिग्राम शर्माले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…