जलेश्वरका एक व्यापारी ५ दिनदेखि बेपत्ता, अपहरणको आशंका
सरसामानको आधारमा लछारपछार भएको र त्यसपछि उनलाई कसैले अपरहण गरी लगेको प्रहरीले अनुमान

२०७७ असोज १२ सोमबार, दिउँसो ४:१७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जलेश्वर । विगत पाँच दिनदेखि बेपत्ता रहेका महोत्तरीका एक कपरड व्यापारीको आजसम्म कुनै पत्ता लागेको छैन् ।
जलेश्वर नगरपालिका– ५ बस्ने ब्रम्हदेव साहका छोरा २४ वर्षीय राजु साह गत बुधबार रातिदेखि नै बेपत्ता रहेकामा उनको आजसम्म कुनै पत्ता नलागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
जिल्लाकै मटिहानी नगरपालिका–८ स्थित बजारमा रेडिमेड कपडा पसल सञ्चालन गर्दै आएका राजु गत बुधबार राति पसल बन्द गरेर मोटरसाइकलमा घर फर्किने क्रममा मटिहानी नगरपालिका–६ र जलेश्वर नगरपालिका–५ को बीचमा पर्ने वनको बाटोबाट बेपत्ता भएका थिए ।
बेपत्ता राजुको मोटरसाइकल साँचोसहित बाटोमै रहेको, दुवै खुट्टाका चप्पल टुटेको अवस्थामा त्यही सडकमा रहेको र उनले लगाएको टिसर्ट पनि आधा च्यातिएको अवस्थामा त्यही सडकमा प्रहरीले फेला पारेको थियो ।
बिहीबार बिहानै प्रहरी घटनास्थल पुगेपछि फेला परेका ती सरसामानको आधारमा लछारपछार भएको र त्यसपछि उनलाई कसैले अपरहण गरी लगेको प्रहरीले अनुमान लगाएको थियो ।
सोही दिन घटनास्थल नजिकै रहेको सडकको दुवै छेउको झाडीमा, सीमा नजिकैको खेतबारी, नदी, पोखरी सबैतिर खोजी गरिए पनि कहीँकतै कुनै पत्तो लागेको थिएन् र आजसम्म पनि प्रहरीले उनको खोजतलास गरिरहँदा पनि कुनै पत्ता नलागेको जनाइएको छ ।
नेपाल भारत सीमा नजिकै घटना घटेकाले उनलाई कसैले भारततिर अपहरण गरेर लगेको हुनसक्ने परिवारजनले आशङ्का गरेका छन् । प्रहरीले उहाँको खोज तलासका लागि भारतीय पक्षसँग पनि सहयोग मागेर सबैतिर खोजतलास जारी रहेको र चाँडै पत्ता लाग्ने जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…