जीतपुर सिमराका उद्योगले धूवाँ–धुलो व्यवस्थित नगर्दा थला पर्दै स्थानीय
दलितबस्तीका बासिन्दाले उद्योगीहरूलाई सोबारे बारम्बार अवगत गराउँदा पनि बेवास्ता गरिरहेको बताएका छन् ।
२०७७ असोज ५ सोमबार, बेलुकी ७:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका ५ मा सञ्चालित उद्योगहरूबाट निस्किने धूवाँ, धूलोको कारण त्यहाँका दलितबस्तीका बासिन्दाको जनजीवन कष्टकर बनेको छ ।
उद्योगको ब्वाइलरबाट निस्किने धूवाँ, धूलोले आँखा र फोक्सोमा असर परेर धेरैजना बिरामी भइरहेको स्थानीयहरुले गुनासो गरेका छन् । उद्योगबाट निस्किने धूवाँ र धूलोलाई व्यवस्थित गर्नेतर्फ सम्बन्धित निकायले पहल नगरेको दलितबस्तीका राजु रामको गुनासो छ ।
उद्योगबाट निस्किने धूवाँ धूलोको कारण खाना पकाउँदा, कपडा सुकाउँदा र घरमा बस्दा पनि समस्या झेल्नुपरेको उनको भनाइ छ । दलितबस्तीका बासिन्दाले उद्योगीहरूलाई सोबारे बारम्बार अवगत गराउँदा पनि बेवास्ता गरिरहेको बताएका छन् ।
वडाध्यक्ष मोहित चौधरीले उद्योगबाट निस्किने फोहर मैलाको व्यवस्थापन गर्ने दायित्व ऐनमा सम्बन्धित उद्योगको भएपनि यसतर्फ उद्योगीहरूले बेवास्ता गर्दै आएको बताए । वडाध्यक्ष चौधरीले आवश्यक स्रोत, साधन र पूर्वतयारीविना उद्योग सञ्चालन भइरहेकाले समस्या भएको र यसतर्फ स्थानीय प्रशासनले उजूरी सुनेर कारवाही गर्नुपर्ने माग गरेका छन् ।
त्यहाँ रहेका उद्योगीहरूले भने आरोप गलत भएको बताएका छन् । उनीहरूले थर्मल साइक्लोन प्रणालीको आधुनिक प्रविधिबाट ब्वाइलर जडान गरिएको र सोबाट छाई उडेर दलितबस्तीलाई समस्या भएको भन्ने विषय गलत भएको बताएका छन् ।
त्यस्तो समस्या भएको भए उद्योगीहरूलाई अवगत गराइनुपर्ने तर, अहिलेसम्म कसैले गुनासो नगरेको उद्योगीहरुको भनाइ छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
दिपेन्द्र जयसवाल
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…