बोक्सी आरोपमा निर्घात कुटिइन् महिला, मिल्न दबाब
प्रहरीले पनि दोषीलाई कारबाही गर्न अग्रसरता लिएका छैनन् ।

२०७७ असोज ५ सोमबार, दिउँसो ३:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा बोक्सीको आरोपमा एक महिलामाथि निर्घात कुटपिट भएको छ ।
सिरहाको मिर्चैया नगरपालिका–२ मल्हनीयाँ पिरारीकी अन्दाजी ४० वर्षीया कलासो देवि साह बोक्सीको आरोपमा कुटिएकी हुन् ।
उनलाई स्थानीय विनोद कापर, उनका परिवारका सदस्य र आफन्तले गत शुक्रबार बोक्सी भन्दै कुटपिट गरेका हुन् । कुटपिटबाट उनको शरीरमा गहिरो चोट लागेको छ । उनी उपचारपछि आइतबार घर फर्केकी छिन् ।
विनोदले आफ्नी श्रीमतिलाई भूतप्रेत लगाइदिएको भन्दै कुटपिट गरेको पीडित महिलाले बताएकी छिन् । आफूलाई कथित धामी भन्ने स्थानीय बिल्सा नामक व्यक्तिले कलासोले नै भूत लगाइदिएको भनेर विनोदका परिवारको कान भरेको र त्यसपछि उनीमाथि कुटपिट भएको हो ।
घटनास्थलमा जनप्रतिनिधि र प्रहरी पुगेपनि हालसम्म कसैलाई नियन्त्रणमा लिइएको छैन । बोक्सी आरोपमा कुटिएकी कलासोकी श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा छन् ।
कलासोले आफूलाई झुट्टा आरोप लगाएर कुटपिट गर्नेमाथि कानून कारबाही गर्न पनि माग गरेकी छन् ।
मिल्न दबाब
बोक्सीको आरोपमा कलासो कुटिएपछि केही स्थानीयले घटना मिलाउन दबाब दिएका छन् । तर, पीडित कलासो यसमा सहमत छैनन् ।
उनले भनिन्, ‘म कसरी बोक्सी भएँ, मलाई नभएको आरोप लगाएर, बेइज्जत गर्ने, कुट्ने अनि औषधिको पैसा दिएर मिलापत्र गर्न भन्ने, आज यसले कुट्यो, भोली अरुले पनि कुट्न सक्छन् ।’
प्रहरीले पनि दोषीलाई कारबाही गर्न अग्रसरता नलिएको उनको गुनासो छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…