सप्तरीकी बुहारीहरुलाई सिलाई मेसिन र हातेकल
प्रदेश नं २ का पाँच जिल्लामा सहज परियोजनाको परिवार केन्द्रित पद्धतिअन्तर्गत कार्यक्रम सञ्चालित

२०७७ भदौ २५ बिहीबार, दिउँसो ३:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । प्रदेश नं. २ को सप्तरी जिल्लाकी केही बुहारीहरुलाई आय आर्जनको लागि हातेकल र सिलाई मेसिन प्रदान गरिएको छ ।
निरन्तर लकडाउन र निषेधाज्ञाका कारण मारमा परेका अल्सँख्यक, सीमान्तकृत समुदायका आधा दर्जन परिवारलाई सिलाई मेसिन र हातेकल प्रदान गरिएको हो । समाजिक सँस्था सहज परियोजना अन्तर्गत ६ घर परिवारलाई आय आर्जनको लागि सिलाई मेसिन प्रदान गरिएको छ ।
कोरोना भाइरस रोकथामको लागि स्थानीय प्रशासनले निरन्तर रुपमा लगाएको लकडाउनका कारण व्यापार, व्यावसाय गुम्नुका साथै आर्थिकोपार्जन समेत चौपट्ट भएको अवस्थामा आत्मनिर्भर बन्न सिलाई मेसिन प्रदान गरिएको जनाइएको छ ।
सहज परियोजनाको परिवार केन्द्रित पद्धतिअन्तर्गत आयआर्जनका लागि व्यवसाय शुरुआत गराउने उद्देश्यले राजविराज – ६ का चार तथा बोदे बर्साइन नगरपालिका– ५ र तिलाठी कोइलाडी गाउँपालिका–५ बर्साइनका एक परिवारलाई हातेकलका पूरै सामग्री प्रदान गरिएको राजविराज –७ की रेणुकुमारी रामले बताइन् ।
आयआर्जन क्रियाकलाप र आर्थिक रुपान्तरणसम्बन्धी ११ हप्ते तालीममा सहभागी परिवारका बुहारीहरुको नेतृत्वमा व्यवसाय शुरुआत गर्न लागिएको जानकारी दिँदै समग्र उत्थान केन्द्रका कार्यक्रम अधिकृत रामभरोसी महतोले अन्य बुहारीलाई पनि माग भएअनुसारको व्यवसाय शुरुआत गर्न क्रमशः बीउपूँजी प्रदान गरिने बताए ।
युके एडको आर्थिक सहयोगमा भिएसओ नेपाल र इन्टरनेशनल एलर्टको साझेदारीमा बीउपूँजी प्रदान गर्न लागिएको जनाइएको छ । प्रदेश नं २ का पाँच जिल्लामा सहज परियोजनाको परिवार केन्द्रित पद्धतिअन्तर्गत कार्यक्रम सञ्चालित छन् । सञ्चालित कार्यक्रममा २० परिवार सहभागी छन् ।
परिवारका सासूससुरा तथा छोरा–बुहारीले ११ हप्ते तालीम लिएपछि परिवारभित्र लैङ्गिक विभेद कम हुनाका साथै आयआर्जनका लागि सबै सदस्य योगदान गर्न तत्पर बनेको राजविराज नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष प्रेम यादवले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…