'मधेसमा दलित हत्याको घटनाक्रम'
राजुको पीडा देख्न नसकेरै सँगै आइसोलेसनमा रहेका अरुण सदाले नजिकै गएर सोध्थे, ‘ए राजु, राजु ! के भो हँ ?’
२०७७ भदौ २४ बुधबार, बिहान १०:०५ बजे८ मिनेट पढाइ

सन् २०१९ को डिसेम्बर महिनादेखि छिमेकी राष्ट्र चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाईरसले विश्वभरी नै आफ्नो प्रभाव र त्रास फैलाईरहेको छ । नेपालमा पनि यो महामारीले नराम्रो प्रभाब पारेकै छ ।
कोरोना महामारीलाई हाम्रो देश मात्रै होईन सम्पुर्ण विश्व नै प्रतिकार गरिरहेका छन । महामारीबाट बच्न लगभग ४ महिना अर्थात २०७६ चैत्र ११ गते देखि साउन ७ गतेसम्म लकडाउन गरेर मानिसका गतिविधिहरु अत्यावश्यक काममा मात्रै सिमित गरेका थिए अर्थात घरभित्रै बन्दी सरह बाँच्न बाध्य बनाए पनि हाल निषेधाज्ञा गरिएको अवस्था हो ।
नेपालमा कोरोनाबाट अहिलेसम्म ४०००० हजार भन्दा बढी मानिस संक्रमित र २०० जना भन्दाको मृत्यु समेत भईसकेका छन । यो भयावह महामारीको बिचमा पनि नेपालमा जातिवादी हत्या, हिंसा, कुटपिट, जातिय विभेद र छुवाछूतको घटनाहरु चरम रुपमा भईरहेका छन् ।
२९ असारमा अपहरणमा परेका सप्तरी शम्भुनाथ नगरपालिका ४, का ४० वर्षीय त्रिभुवन राम ३० गते नदी किनारमा मृत भेटिए । गतवर्ष त्रिभुवनको छोरीको सामूहिक बलात्कार भएको थियो ।
बिराटनगर उपमहानगरपालिका १६, दरहियाका ३० वर्षीय राजेश ऋषिदेव सदालाई घर जग्गा सम्बन्धी विवादको विषयलाई लिएर विपक्षीले निर्घात कुटपिट गरी आफ्नै घरमा झुन्ड्याएर हत्या गरेको परिवारको आरोप छ । २६ असारमा सिरहा लहान नगरपालिका १, मटियर्वाका १९ वर्षीय रोशन राम ३० गते मिर्चैयाको बसहा खोला नजिकैको काँसघारीमा प्रहरीले बेवारिसे लासका रुपमा फेला पारे ।

अपहरणपछि हत्या गरिएका त्रिभुवन रामकी छोरीको बलात्कार मुद्दामा चारजना जेल सजायँ काटिरहेका छन् भने तीनजना अझै फरार छन् ।
गाउँकै एकजना जमिनदारको दश कट्ठा जग्गामा त्रिभुवनको मोहियानी हक थियो । जिल्ला भूमिसुधार कार्यालयले मोहियानी हकको प्रमाणपत्र पनि दिइसकेको थियो । २९ गते जग्गा धनीसँग गाउँमा मिलापत्रको लागि छलफल थियो । छलफल सकेर त्रिभुवन घर आएका थिए ।
बेलुका साइकल चढेर गाउँ नजिकैको पसलतिर उनी हिँडेका थिए । पसलबाट फर्किदै गर्दा बाटोमै त्रिभुवन अपहरणमा परे । त्रिभुवन पसलबाट घर नफर्किएपछि रातभर खोजीकार्य सुरु भयो । उनी कतै भेटिएनन् ।
लेखक : बिटु पासवान | उहाँ दलित समुदायका जागरुक युवक हुन् ।
भोलिपल्ट परिवारले प्रहरीमा उजुरी गरे । अविरल वर्षा भइरहेको थियो । उजुरी गरेको ६ घण्टापछि मुतनी नदीमा पानी जमेको एउटा खाल्डोमा त्रिभुवनको शव फेला पर्यो । कुटपिटपछि हत्या गरेको अभियोगमा अनुसन्धानको लागि चारजना पक्राउ परेका छन् भने तीन जना फरार छन् ।
विराटनगर दरहियाका राजेश ऋषिदेव ( सदा ) आफ्नो आँगनमा कुलदेवताको मन्दिर बनाएका थिए । छिमेकी जग्गा धनिले मन्दिर आफ्नो जग्गामा परेको दावी गर्दै आएका थिए । दरहियामा एक मात्र मुसहर घर छ । असार १९ गते घरका सबै सदस्य मजदुरी गर्न वाहिरी सकेका थिए । घरमा राजेश दम्पती मात्र थिए । जग्गा धनीहरूले राजेशलाई निर्घात कुटपिट गरिरहेको सुनेर श्रीमती कलमीदेवी घटना स्थलतिर हिँडिन् । घटनास्थल पुगेपछि उनलाई पनि निर्घात कुटपिट गरेर रोडमा लडाए । कलमी भन्छिन्,´मलाई टाउकोमा हानेपछि मुर्छित भएँ । त्यसपछि केही थाहा भएन । विपक्षीले श्रीमानलाई कुटपिट गरी आफ्नै घरमा लगेर झुन्ड्याइदिए ।’

दिउँसो कामबाट घर फर्केको राजेशका भाइले भाउजूलाई मुर्छित र दाइलाई घरमा झुन्डिएको देखेपछि हारगुहार गरेका थिए । तर, उमेशको बिलाप कोही सुन्ने भएन । उमेश भन्छन्, ´गाउँकै एकजना पहाडिया गोपाल दाईले आफ्नो टेम्पोमा कोशी अंचल अस्पताल पुर्याइदिए । तर, अस्पतालले मृत घोषणा गरिदियो ।` प्रहरीले अहिलेसम्म मुद्दा दर्ता लिएको छैन ।
राजेशका बुवा अमरलाल भन्छन्, ´प्रहरीले मुद्दा दर्ता लिएन । धेरैपटक धाएँ । प्रहरीले अनुसन्धान गर्नुपर्छ मात्र भन्छन् । सबै मिलेर प्रमाण नष्ट गरिसकेको छ । हामी शोकमा बेहोस थियौं । विपक्षीहरु पहुँचबाला हुन् । हामी सोझा मान्छे ।’
‘पोस्टमार्टम रिपोर्ट बनाएर हामीलाई कम्जोर पारे । लास कुहिन्छ भनेर उनीहरुले हतार हतार प्रक्रिया पुर्याए । र, उनीहरुले नै लास खाल्डो खनेर गाडे, कलमीले थपिन्, मोरंगका जिल्ला प्रहरी प्रमुख सन्तोष खड्कासँग फोनसम्पर्क गर्दा धेरै कुरा बताउन चाहेनन् । उनले प्रस्ताव गरे, ‘हामीसँगै छानवीनमा जाउँ ।’
मिर्चैया नगरपालिका ९, मा हत्या गरी फालिएका सिरहा लहानका रोशन रामको शव दुर्गन्धित भइसकेकाले सोही दिन मिर्चैया प्रहरीले लहान अस्पताल ल्याइएको थियो । साउन १ गते प्रहरीले बेवारिसे शवको पोस्टमार्टम गरिसकेको थियो । बेवारिसे लास भेटिएको थाहा पाएपछि २ गते रोशनका बुबा सिफैत राम अस्पताल पुगेका थिए ।
रोशनले लगाएको कपडा र प्रहरीले देखाएको फोटोको आधारमा सिफैतले आफ्नो छोरालाई चिनेका थिए । लकडाउनको समयमा साथीहरूसँग सीमावर्ती गाउँ गएका बेला उनी लागुपदार्थसहित पक्राउ परेका थिए । लागु पदार्थसम्बन्धी मुद्दामा २५ जेठमा जिल्ला अदालत सिराहाले १० हजार धरौटी तोकेको थियो । गरिबीका कारण समयमा उक्त रकम तिर्न सकेनन् । त्यसपछि रोशनलाई पुर्पक्षका लागि जेल चलान गरिएको थियो । एक महिना जेल बसाइपछि १० असारमा उनी घर आएका थिए ।
जेलमै चिनजान भएका व्यक्तिले घुम्न जाऔँ भन्दै असार २६ गते बाइकमा चढाएर रोशनलाई लगेका थिए । उनीहरु त्यही दिन राति रोशनको ससुराली मिर्चैया पनि पुगेका थिए । तर, उनीहरु त्यहाँ धेरैबेर रोकिएनन् । २६ गते राति नै रोशनलाई हत्या गरी फालिसकेको अवस्थामा उनके शव भेटियो ।
जेठ १२ गते २३ वर्षीय शम्भु सदा मुसहर ट्याक्टरमा माटो लोड गरेर आफ्नो गन्तव्यतिर लागे। धनुषा सवैला नगरपालिका वडा नम्बर १२ स्थित बरकुर्वाका शम्भु सदा मुसहरका लागि यो दिन अन्य दिन झैँ सामान्य भने बनेन।
.jpg)
अकल्पनीय घटना घट्यो। साहुको ट्याक्टर चलाएर सामान्य जीवनयापन गर्दै आएका सदाले चलाएको ट्याक्टरले एक महिलालाई ठक्कर दियो। सवैला वडा नम्बर १३ बस्ने ५५ वर्षीय सुमित्रा देवी साह भुँइमा पछारिन्। चोटको कारण रगत बग्न थाल्यो। सदा आत्तिए।
एक छिनमा गाउँलेको भिड लाग्यो। मानिसले चालक शुम्भुलाई घेरा हाले। उनी त्रसित बने। के गर्ने? कसो गर्नै? उनीसँग भिडबाट भाग्नुको कुनै विकल्प केही देखेनन्। अन्ततः त्यही विकल्प रोजे। ट्याक्टर साहुको थियो। यति ठूलो दुर्घटनाका कारण उनी आत्तिएका थिए। भागेर सुरक्षित भएको अनुभूति गरेपछि उनले साहुलाई फोन गरे।
ट्याक्टर मालिक सञ्जय साहले केही सान्त्वना दिए। सवारीको लाइसेन्स भएकाले नआत्तिन र प्रहरीमा आत्मसमर्पण गर्न सल्लाह दिए। उनी साहको करिब ३ महिनाअघि देखि ट्याक्टर चलाउँदै आएका थिए। यता घाइते सुमित्राको अवस्था गम्भीर बन्दै गएको थियो। स्थानीयले उपचारको लागि अस्पताल दौडाए। तर, अस्पताल नपुग्दै सुमित्राको सास गयो। सदालाई अब सवारी ज्यान मुद्दा चल्ने भयो।
सदासामु कानुनी बाटोमा जानुभन्दा अर्को विकल्प थिएन। इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा थुनिएका थिए सदा। तर, २७ गते फेरि अर्को अकल्पनीय घटना घट्यो। अब त्यो घटनाको पीडा उनले होइन परिवारले भोगिरहेका छन्। उनी त अब यो संसारमा नै छैनन्।
प्रहरी कार्यालय सबैलाईको हिरासत कक्षभित्र सदा मृत अवस्था फेला परे। हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीको दाबी छ। तर, मृतकका आफन्त पत्याउन तयार छैन। उनीहरू प्रहरीले नै हिरासतभित्र सदालाई मारेको आरोप लगाइरहेका छन्।
धनुषाको हंसपुर नगरपालिका प्रसाहीका १६ वर्षीय राजु सदा अस्पतालको आइसोलेसन वार्डको भुइँमा छठपटाइरहेका थिए । उनी कतिबेला खुट्टा उचाल्थे त कति बेला हात चलाउँथे । कहिले कपाल बेस्सरी लुछ्थे ।
तर स्वास्थ्यकर्मी, चिकित्सक कोही पनि हेर्न आएनन् । राजुको पीडा देख्न नसकेरै सँगै आइसोलेसनमा रहेका अरुण सदाले नजिकै गएर सोध्थे, ‘ए राजु, राजु ! के भो हँ ?’
तर राजु केही बोल्न सकेनन् । अरुणले भुइँबाट उठाएर बेडमा राखे । शरीर थप्थपाए । तर राजुको पीडा २० को १९ भएन । पीडाले हातखुट्टा चलाए, सिरानी च्यापे । आइसोलेसन सेन्टरमा घण्टौंसम्म छटपटाउँदा पनि राजुले उपचार पाएनन् ।
अन्तत: सोमबार साँझ आइसोलेसन अस्पतालभित्रै राजु सदाको प्राणपखेरु सदाका लागि अस्तायो । राजु सदाको मृत्यु कि हत्या ?
गत साउन ३२ गते रौतहटको गरुडा नगरपालिका ८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा राम पक्राउ परेका थिए । रामको उपचारको क्रममा बुधवार राति वीरगञ्जको नेशनल मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीले हत्याको आरोपमा रामसहित सात जनालाई पक्राउ गरेको थियो । हत्याको मुख्य दोषीलाई जोगाउन प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरी चरम यातना दिएको स्थानीयको आरोप छ । प्रहरीले कुटपिट गरेपछि गम्भिर घाईते भएका रामको मृत्यू भएको स्थानीय आरोप लगाउँदै छ।
कोभिड १९ को समयमा रुकुमको सोतीबाट सुरु भएको दलित युवा नवराज बिकको नरसंहारको घटनादेखि हाल त्रिभुवन राम, रोशन राम र राजेश सदाको घटनासम्म आइपुग्दा देशमा लोकतन्त्र र मानव अधिकारप्रति गम्भीर प्रश्नचिह्न खडा भएको छ ।
यतिबेला जताततै दलित मारिएका छन् । जताततै दलित कुटिएका छन् । दिनप्रतिदिन दलितहरुमाथि कुनै न कुनै घटना घटिरहेकै छन् । तर, पनि सरकार र राजनीतिक दल मौन छन् । कुनै सामाजिक र सामूहिक चेतनामूलक अभियान अभियान चलाएको छैन । न त कसैले दलित नरसंहारलाई राजनीतिकरुपमा प्रमुख मुद्दा बनाएको छ । सबै सरोकारवाला पक्षहरू मौन छन् । किनभने त्यहाँ दलित नेतृत्व छैन, गैरदलितहरुकै हालीमुहाली छन् ।
यतिबेला मधेस दलित हत्याको हर्टस्पोर्ट बनेको छ । दिनप्रतिदिन कुनै न कुनै घटना घटेकै छन् । प्रदेश सरकार भने कतै राहतको नाममा पाँचलाख बोकेर जान्छन्, त कतै ललिपप बाँड्दै हिडेका छन् । दलित न्याय र अधिकारलाई पैसा र पावरमा साटिरहेका छन् । गाउँघरमा थुप्रै घटनाहरु पैसा र पावरको बलमा दवाइरहेका छन् । केही घटनाहरु मात्र सार्वजनिक हुने गरेका छन् ।
तीनै तहको सरकारले पनि तिनै पुराना यथास्थितिवादी समाजिक राजनीतिक चरित्र देखाइरहेका छन् । अब दलित समुदाय कोसँग न्याय र अधिकारको आशा गर्ने ? प्रश्न र स्थिति दुबै गम्भीर छन् ।
दलित आयोग निर्माणको कुरा त अहिले उठ्नै छाडेको छ । लाग्छ, दलित मान्छे नभएर कुनै निर्जीव वस्तु हुन् जस्तो व्यवहार जताततै भइरहेको छ । दलितमाथि भएको अत्याचारले कसैलाई पोलेको छैन । पोलेको छ त केबल दलितलाई मात्र ।
लकडाउनको समयमा सबैभन्दा धेरै कष्ट कसैले झेलेका छन् भने त्यो दलित समुदाय नै हुन् । जसको कुनै हिसाब किताब छैन् । दलित र विपन्न मजदुर परिवार एकातिर काम र माम नपाएर भोकै मर्नु परिरहेको अवस्था छ भने अर्कोतिर पुस्तौंदेखि जरा गाडेर रहेका जातीय विभेदका कारण नरसंहारका घटनाहरुबाट विक्षिप्त छन् । अहिलेसम्म जुन कारणले दलितहरू मारिए, त्यो जातीय विभेदकै कारण मारिए ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…