'सफल सहज जीवन साक्षरता विना परिकल्पना नगर्नु'
इच वन टीच वन का माध्यमले सम्पूर्ण निरक्षरलाई साक्षर बनाउनु पर्छ
२०७७ भदौ २३ मंगलबार, राति ८:३२ बजे३ मिनेट पढाइ

साक्षरताले मानवको अन्तर्निहित प्रतिभा प्रस्फुटन गरेर सक्षमता ल्याउँछ । सक्षमताले पौरखी हातहरूलाई परिमार्जित र परिष्कृत गरेर हरेक व्यक्तिको जीवनमा आमूल परिवर्तन गर्छ । उसमा सूचना र प्रविधिको जानकारी राख्ने क्षमतामा वृद्धि हुुन्छ ।
साक्षरताले आत्मबल र आत्मविश्वासमा बढोत्तरी भई एक सफल र सबल नागरिकका रूपमा जीवनयापन गर्न अहम् भूमिका खेल्छ । साथै, साक्षरता सहज आधुनिक जीवनको अपरिहार्य कुञ्जी हो ।
आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण गरी देश विकास गर्न साक्षरता प्रतिशत उच्च हुनु पहिलो सर्त हो । मानव विकास सूचकांकलाई उच्च राख्न आवश्यक सर्तहरू स्वास्थ्य, शिक्षा, विद्यालय भर्नादर, मातृ–शिशु मृत्युदर, पोषण आदिको आधारशिला पनि साक्षरता हो । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा प्रतिबद्ध सबै खाले विकासका लक्ष्य हासिल गर्न साक्षरता आधारभूत र अनिवार्य सर्त हो ।
त्यसकारण राज्यले आफ्ना नागरिकलाई यथासिर्घ छिटो साक्षर बनाउन विभिन्न योजना, अभियान र कार्यक्रम ल्याउनुपर्ने हुन्छ । निरक्षरता र गरिबी एक–अर्काको परिपूरक हुन् । सहज र सफल जीवन जिउन कम्तीमा साक्षरताको विकल्प छैन ।
विज्ञान र प्रविधिको द्रुत गतिमा विकास र विस्तार भइराखेको वर्तमान एक्काइसौं शताब्दीमा पनि विश्वमा ७७ करोड ३ लाख जनता निरक्षर प्रौढ छन्, जसमा हरेक तीन निरक्षरमध्ये करिब दुई जना महिला पर्छन् । वि.सं. २०६८ को जनगणनाअनुसार नेपालको साक्षरता प्रतिशत ६५।९ प्रतिशत छ, जसमध्ये पुरुष ७५।१ र महिला ५७.४ प्रतिशत साक्षर छन् । महिला र पुरुषबीचको साक्षरताको खाडल करिब १८ प्रतिशत रहेको देखिन्छ ।
सामाजिक–आर्थिक रूपान्तरण गरेर समृद्ध नयाँ नेपाल बनाउने सपनालाई यथार्थतामा बदल्न आधा आकाश ओगटेका महिलाहरूको सशक्तीकरणको विकल्प छैन । साक्षरता सशक्तीकरणको पहिलो खुड्किलो हो । यसै वास्तविकतालाई आत्मसात् गरेर तत्कालीन अनौपचारिक शिक्षा केन्द्रले महिलालाई विशेष ध्यान दिएर कार्यक्रम सञ्चालन गर्दै आएको पाइन्छ ।

महिला जनसङ्ख्या बढी भएको हाम्रो जस्तो देशलाई नयाँ नेपाल बनाउन महिला साक्षरतालाई विशेष महत्व दिएर सघन कार्यक्रम ल्याउनुपर्ने हुन्छ । आधा आकाश ढाकेका महिलाको सशक्तीकरण नागरिकन समृद्ध समाजको अपेक्षा गर्न सकिन्न ।
एम.एस. डब्लु. सी. नेपालले पनि अन्तर्राष्ट्रिय साक्षरता दिवसहरूमा महिला सशक्तकरणका लागि साक्षरतालाई केन्द्रित गर्दै आएको छ । सशक्तीकरण भन्नाले प्राप्त सूचनाहरूको सही जानकारी गरी निर्णय गर्ने क्षमताको विकास गर्नु हो । किनकि महिलाले समान अधिकार र अवसरको उपयोग जबसम्म गर्न पाउँदिनन् तबसम्म दिगो विकासको कल्पना पानीको फोकाजस्तै हुन्छ।
एक जना पुरुष शिक्षित भए आफूमा मात्रै सिमित हुन्छ, तर एक जना महिला शिक्षित भए परिवार नै शिक्षित हुन्छन् । त्यसकारण महिला शिक्षित हुनु भनेको पारिवारिक सक्षमता आउनु हो, आयआर्जन बढेर आत्मनिर्भर बन्नु हो, इलममा बढोत्तरी गरी सम्पन्नतातिर लम्कनु हो ।
आफ्नो हक, अधिकार र कर्तव्यप्रति सजग र सचेत भई स्वाभिमानीपूर्वक आत्मनिर्भर जीवनयापन गर्न कम्तीमा साक्षरताको विकल्प छैन । नेपालमा पनि महिला साक्षर र सशक्तीकरणका कार्यक्रम ल्याउने धेरै निकाय र संघसंस्था छन्, जसमा अनौपचारिक शिक्षा केन्द्र, सानोठिमीले अग्रणी भूमिका खेल्दै आएको भए तापनि अहिले अनौपचारिक शिक्षाको नेतृत्व लिने छुट्टै निकाय छैन । संघीय संरचनाअनुसार अहिले अनौपचारिक शिक्षाको व्यवस्थापनकोे जिम्मेवारी स्थानीय तहलाई सरे तापनि खासै ध्यान पुगेको पाइँदैन ।
उल्लिखित कार्यक्रमहरू फितलो व्यवस्थापनका कारण प्रभावकारी हुन सकेका छैनन् । मागअनुसार पर्याप्त कार्यक्रम प्रदान गरिएको पाइँदैन । निश्चय नै हात्तीको मुखमा जिरा भएको छ ।
कार्यक्रमको सफलताका लागि पर्याप्त साधनस्रोतको तर्जुमा, प्रभावकारी कार्यान्वयन एवम् सेवाग्राहीको अनुगमन निरीक्षण कार्य प्रगतिका आधारमा पुरस्कार र दण्डको व्यवस्था गर्ने कार्यमा सबैको साथ–सहयोग भएमा निश्चय नै हामी सुगमतापूर्वक साक्षरताको लक्ष्यमा पुग्न सक्छौं ।
त्यसकारण महिला साक्षरतालाई प्रत्येक नेपालीले घरघरबाट सुरु गर्दै पारिवारिक साक्षरतालाई प्रोत्साहित गर्नुपर्छ । अरूले के गर्यो भन्दा पनि मैले के गरें भन्ने कुराले महत्व राख्छ । अन्धविश्वास र पछौटेपनलाई छिमल्दै समृद्धितिर लम्कन हरेक नागरिक साक्षर हुँदै शिक्षित हुनुको विकल्प छैन ।
इच वन टीच वन का माध्यमले सम्पूर्ण निरक्षरलाई साक्षर बनाउनु पर्छ | अन्तर्राष्ट्रिय साक्षरता दिवसको शुभ अवसरमा संसार भरिका निरक्षर साक्षर होस ।
लेखक : जगदिश चौधरी, एम.एस.डब्लु.सी. नेपाल का केन्द्रीय अध्यक्ष हुन
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…