मिर्चैया नगरपालिकाको अनियमितता विरुद्ध सर्वदलीय आन्दोलन घोषणा
पारदर्शीताको लागि आवाज उठाउँदा मेयर यादवले विपक्षीलाई अनावश्यक दुःख दिने काम गरिरहेको गुनासो छ ।

२०७७ भदौ २२ सोमबार, राति ११:२३ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै स्थानीय राजनीतिक दलहरुले त्यसविरुद्ध सर्वदलीय रुपमा आन्दोलनको घोषणा गरेको छ ।
विभिन्न राजनीतिक दलका स्थानीय नेताहरुले नगरपालिकाविरुद्ध सर्वदलीय रुपमा आन्दोलनमा उत्रिने घोषणा गरेका हुन् । सर्वदलीय संयुक्त संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गर्दै गर्न लागेको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
संघर्ष समितिले भाद्र २६ गते मिर्चैयामा र्याली प्रदर्शन, २८ भाद्रमा राघोपुरमा नगरपालिकाको गतिविधिबारे विषेश चर्चा र असोज २ मा आन्दोलनको समिक्षा गर्दै आउने दिनको आन्दोलनका प्रारुप तय गर्ने जारी प्रेस विज्ञाप्तीमा उल्लेख गरिएको छ ।
मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवको निर्देशनमा नगरपालिकाले नियमित रुपमा सार्वजनिक गर्नुपर्ने सूचनाहरु लुकाएर चरम भ्रष्टाचार गरिरहेको आरोप उनीहरुको छ । पदिय मर्यादालाई दुरुपयोग गर्दै मेयर यादवले आफू अनूकुल नीति, नियम तथा ऐनलाई अपव्यख्या गरेर भ्रष्टाचार गर्ने गरेको उनीहरुले बताए ।
योजना संचालन हुने स्थानका उपभोक्ताको प्रत्यक्ष सहभागीतामा उपभोक्ता समिति गठन गर्ने प्रावधान छ । तर, मेयर यादवले त्यसलाई बेवास्ता गर्दै अधिकांश योजनाका उपभोक्ता समितिमा अन्य ठाउँका आफू अनूकुलका व्यक्तिहरुलाई राखेर मोटो रकम नजराना असुल्ने गरेको उनीहरुको आरोप छ ।
पारदर्शीताको लागि आवाज उठाउँदा मेयर यादवले विपक्षीलाई अनावश्यक दुःख दिने काम गरिरहेको गुनासो छ ।
नगरपालिकाबाट संचालन भएको योजनाहरुको विस्तृत विवरण सहितको जानकारी लिन लिखित निवेदन दिएर पटकपटक ताकेता गर्दा पनि बनावटी कारण देखाएर मेयर यादवले समय टार्दै आएको तत्कालिन राजपाका नगरध्यक्ष अंजय कुमार साहले बताए । सूचना दियो भने मेयरले गरेको भ्रष्टाचारको पोल खुल्ने भएर सार्वजनिक गर्नुपर्ने सूचनाहरु समेत लुकाउन लागी परेको उनको ठम्याई छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…