'युवा र वर्तमान राजनीति'
बिचार र ब्यबहारहरुको स्थापना तथा अनुशरण गर्न युवाहरु जहिले पनि एक कदम अगाडी नै देखिएका छन् ।
२०७७ भदौ १३ शनिबार, दिउँसो १२:४२ बजे६ मिनेट पढाइ

विश्व समाजमा युवाको पहिचान नौलो होइन, देश र समाज अनुसार युवालाई फरक फरक रुपमा चित्रण गरिन्छ ।
कुनै समाजमा परिवर्तनका संवाहक, बिकासका सहयोगी, नयाँ कुराको प्रतिपादक र जोश जाँगरले परिपूर्ण रहेको उमेर समुहका लाइ युवा बुझिन्छ भने कुनै समाजमा बिद्रोही, उदण्ड, विलासी, खर्चालु, बेकम्मा, रिसाहाहरुको जमातलाई युवा बुझिन्छ।
तर युवालाई यी दुइवटा मात्रै परिभाषाले समेट्न सकेको छैन किनकि कुनै समाजका सबै युवाहरु न त सबै कुरा बाट सकारात्मक गुण बोकेका हुन् न त सबै नकारात्मक पक्ष मात्र भएका हुन् । यो कुरा त्यस देश र समाजबाट सिर्जित सामाजिक वातावरणले निर्माण गर्ने बिशेषता हो | यदि कुनै देशको आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक वातावरण सभ्य र सुसंस्कृत छ भने त्यो समाजका युवाहरुमा पनि त्यहि गुण बढी रहेको हुन सक्छन जुन एउटा सामान्य सिद्धान्त हो ।
तसर्थ युवालाई देश र समाजको आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक वातावरण बाट सिर्जित निश्चित विशेषता र उमेर समुहका जमात पनि भन्न सकिन्छ । युवाको गुण र विशेषतामा बुझाई फरक भए जस्तै उमेरको बारेमा पनि विभिन्न धारणा छन् । संयुक्त राष्ट्र संघ र विश्व बैंकले १५ देखि २४ बर्षका लाइ युवा मानेको छ भने जापानले ) देखि २४ बर्ष, चीनले १४ देखि २८ बर्ष र भारतले १५ देखि ३५ बर्ष का लाइ युवा मानेको छ।
नेपालमा युवा भनेर जति कमजोर रुपमा सोचिञ्छ त्यति नै डरलाग्दा समस्या र चुनौतिहरु सामना गर्नुपर्ने निश्चित छ | नेपालमा युवाहरुलाई पहिचानहीन बर्गको रुपमा लिईञ्छ । उदण्ड, कमजोर मानसिकता , विलाशी , कलिला, अपरिपक्व लगायतका उपनाम बाट चिनाइने प्रबिर्ती छ ।
ठुलो जिम्मेवारी लिन सबै कुराबाट सक्षम हुँदा पनि उमेरलाई आधार मानी परिपक्वता आएको छैन भन्ने दिग्भ्रमबाट समाजका सबै वर्ग र क्षेत्र ग्रसित छन्, यो एउटा दुर्भाग्य बाहेक केहि होइन । युवाले समाजका अग्रणी क्षेत्र पत्रकारिता, वकालत, प्राध्यापन, प्रबिधि विकास लगायत अन्य क्षेत्रहरुमा पनि खेलेको भुमिका सराहनीय छ, साथै समाजमा हुने अत्याचार बिरुद्ध लड्ने पनि युवा नै अग्रणी भूमिकामा हुन्छन ।
यी गम्भीर प्रश्न सबैको मनमा उब्जन जरुरि छ अनि मात्र युवालाई सहीरुपमा हामी बुझ्न सक्छौ । युवा भनेको परिवर्तनका संवाहक र बिकाशका साझेदार हुन् भन्ने दृष्टिकोण बनाउन सक्छौ । युवा अवस्था भनेको शारीरिक रुपमा सक्षम, मनोबैज्ञानिक रुपमा उत्सुक , जिज्ञाशु , सामाजिक दृष्टिकोणमा परिवर्तन चाहने , राजनीतिक रुपमा चेतनशील , प्रबिधिप्रिय , मेहनती , जुझारु र मित्व्यी हुनसक्ने र नेतृत्व प्रदान गर्न सक्ने क्षमता रहेको हुन्छ ।
हावादारी र धेरै बुझेको छैन जस्ता विशेषण बाट ग्रसित भएर आम युवाहरूबारे बाकि समाजले एउटा धारणा बनाउने गरेको छ । युवाहरुलाई हेर्ने दृष्टिकोण परिवार, समाज र राष्ट्रका सबै तहमा एकै नासे छन् , सारमा उनीहरुको बुझाई हो युवाहरु अपरिपक्व हुन्छन । राजनीतिक आर्थिक वा सामाजिक बिकाशको क्षेत्रमा जहिले पनि एउटा कार्यक्रम बनाइञ्छ र नाम दिईन्छ युवा परिचालन, कार्यक्रमको नामले भन्छ युवाहरु परिचालित हुनुपर्यो अर्थात् ठुलाबडाले दिएको आदेशानुशार चल्नु पर्यो ।
नविनतम ज्ञान र अविष्कारहरुको प्रमुख हिस्सा रहेको युवा जनशक्ति करिब करिब सबै सामाजिक तथा राजनीतिक उथल पुथलको संवाहक भएको तथ्य इतिहाश देखि बर्तमान सम्मका युवाहरुले निभाएको भूमिकाहरु हरु बाट स्पष्ट हुन्छ। पुराना गलत कुराहरु छोड्न ,नबिनतम योग्य बिचार र ब्यबहारहरुको स्थापना तथा अनुशरण गर्न युवाहरु जहिले पनि एक कदम अगाडी नै देखिएका छन् ।
नया प्रविधिको अविष्कार गर्न तथा आत्मसाथ गर्न ,नया मान्यताहरु स्थापित गर्न ,बिधि र नियमको आधारमा अग्रगामी राजनीतिक ब्यबहार अबलम्बन गर्न गराउन युवाहरु अग्रणी स्थानमा रहेको यथार्थ हामीबीच लुकेको छैन । रेम्मिट्टान्स मार्फत नेपाली अर्थतन्त्रलाई भरथेग गर्न नेपाली युवाहरुको योगदान को अवमुल्यन गरिनु हुदैन ।
यस अर्थमा युवाहरु सबै दृष्टिकोणले सक्षम र क्षमतावान छन् र उनीहरुको यस्तो अदम्य साहसलाई कम आंकलन गर्नु समाज परिवर्तनको यस घडीमा ठुलो भुल हुनेछ । बैज्ञानिक युग जसमा योग्यता, क्षमता र दक्षताको उच्चत्तम कदर हुने कालखण्ड पनि हो, तसर्थ यस किसिमको युगमा उमेर वा अन्य कुनै अड्को थापेर अवसरहरुबाट बन्चित गराउनु मुर्खतापुर्ण हुन जान्छ ।
युवाहरु नयाँ सोच, दृष्टिकोण, शैली, आधुनिक तौर तरिका ,लगनशीलता ,कटिबद्धता र खुल्लापन का कारण पनि नयाँ युगलाई नेतृत्व दिन परिपक्क्वा छन् । राष्ट्र, समाज, र परिवारका सबै तहमा युवाप्रतिको दृष्टिकोणमा सकारात्मकता आउन सक्यो र युवाले राष्ट्र निर्माणमा पुर्याउनसक्ने सकारात्मक योगदानलाई आत्मसात गर्न सके समृद्ध नेपालको सपना साकार हुन बेर लाग्दैन कमजोर राजनीतिक, आर्थिक र सामाजिक अवस्थाका बाबजुद पनि संबेदनशील संक्रमंकालिन अबस्थामा युवा भूमिकाको पहिचान समयमै हुन जरुरि छ ।
नीतिले सबै क्षेत्रका युवाहरुको सहभागिताबाट पहिचान गरिएका आवश्यकताहरुलाई सम्बोधन गर्नु पर्दछ देशको अति सक्रिय जशाक्तिको उचित ब्यबस्थापन गर्न राष्ट्रिय प्राथमिकताका साथ् एक उत्कृष्ट नीति मार्फत संचालन हुने कार्यक्रमहरुले सम्बोधन गर्न सक्दछ ।
इतिहास को धेरै कालखण्डमा निरंकुशता र तानासाहसंग लड्दै स्वतन्त्रताको मैदानमा निर्धक्क संग ओर्लन सफल र कहिल्यै हार्न नजान्ने , विजयको श्रीन्ग्खला रच्न सक्ने युवा समुदाय स्वयम् उर्जावान हुन्छन, उमेरका हिसाबले पनि केहि गरौ भन्ने भावनाका हुन्छन ।
क्रान्तिबिना परिवर्तन सम्भव हुदैन र युवा बिना क्रान्ति सम्भव हुदैन, युवाहरुले जस्तोसुकै क्रुर दमनलाई पनि निर्धक्क संग अन्त्य गर्न सक्छन भन्ने कुरा हाम्रै देशको इतिहाशमा पनि पटक पटक प्रमाणित भएको छ तर पनि निर्णायक तहमा सहभागिता भने नगण्य छ ।
राज्यले कुनै पनि तह र तप्कामा युवाको समाबेशी सहभागिता गरेको देखिन्दैन ,युवालाई भविष्यको कर्णधार भनेर उधारो आस्वाशन दिन खप्पिश नेताहरुले युवालाई वर्तमानका साझेदार बनाउन कहिल्यै चाहेनन् र बनाएनन । प्रतेक पार्टीमा युवाहरु बन्द गर्न र टायर बाल्न मात्र नभई पार्टीको नेतृत्वमा हुनुपर्छ ।
राजनीतिमा पढे लेखेका युवाहरु किन आउन चाहदैनन किनकि राजनीतिप्रतिको दृष्टिकोण बौद्धिक युवावर्गमा राम्रो छैन । कुनैपनि राजनीतिज्ञको भाषणमा पढेलेखेका युवाहरुलाई राजनीतिमा आउ र देशलाई समृद्धि बनाउनेतिर मिलेर लागौं भन्ने आँट नहुनुले नै शंका उत्पन्न गराउँछ | अहिलेका राजनीतिज्ञ हरुलाई डर त लाग्ने होइन कि पढेलेखेका बौद्धिक युवा राजनीतिमा आए कतै हामीलाई नटेर्ने र हामीभन्दा अगाडी बढ्ने त होइन ?
हाम्रो देशको राजनीतिक संस्कारले बुढा नेताहरु अक्शिजन लागेर बेडमा भएपनि नया नेतृत्वलाई हस्तान्तरण गर्न चाहदैनन् | विदेशतिर भने आफुलाई असहज र अस्वस्थ महसुश हुनासाथ पदमा भएपनि राजिनामा दिई वातावरण सहज बनाइदिन्छन् |
जबसम्म राजनीतिमा युवा पुस्ताको नाममा गुण्डा , अपराधी , भू–माफिया र दलालहरुले प्रवेश पाउँदै गर्छ तबसम्म देशमा न भ्रस्टाचार समाप्त हुन्छ न त सुशासन नै कायम हुन्छ र न त पढेलेखेका बौद्धिक युवावर्ग राजनीतिमा प्रवेश गर्नेछ .|
गाँधीजीले भन्नु भएको थियो - "politics is a dirty game" तर अहिलेको बौद्धिक युवा भन्न चाहन्छन politics is not a dirty game only the players are dirty तर अहिलेका युवाहरुलाई विभिन्न तहका भातृसंगठन का नाम दिएर ५० भन्दा बढी उमेरसम्म अल्झाएर राख्ने गरेको पनि नदेखिएको होइन |
देशमा लोकतन्त्र त छ तर कुनैपनि राजनीतिक पार्टीमा लोकतन्त्र देखिन्दैन | अहिलेको समाजमा कुनैपनि युवा कुनै राजनीतिक दलमा लागेकोछ र यदि उसले १-२ केन्द्रीय नेताहरुलाई मात्रै चिन्न सक्यो भने पनि उक्त युवाले आफु सफल भएको ठान्ने प्रबिर्ती छ किनकि उक्त नेताले अब उसलाई आफ्नो संसदिय कोषबाट भएपनि केहि रकम उपभोक्तासमिति बनाई उपलब्ध गराउनेछ र कमाइ खाने भाड़ों खुल्ने छ र यहि हो अहिलेको युवाको राजनीति |
नेपाल त्यस्तो देश हो जसले विगतमा युवा प्रधानमन्त्री ,युवा सभामुख आदि इत्यादी पाइसके तथापी यो संस्कार पुनः जागरण किन हुनसकेन,सोच्ने बिषय हो ? स्कूलमा पढ्ने बाल बालिकाहरुलाई पनि अभिवाहक र शिक्षकहरुले सानैदेखि डाक्टर, इन्जिनियर ,वकिल बन्नुपर्छ भनेर सिकाईन्छ तर राम्रो मानिस र देशलाई समृद् बनाउने बन्नुपर्छ भनेर सिकाईन्दैन |
देशलाई समृद्धितर्फ उन्मुख गराउनु छ भने, नयाँ सोंच र नयाँ अनुहार स्थापित गराउनु छ भने अहिलेदेखि नै बाल बालिकाहरूमा पनि राजनीति प्रतिको नकारात्मक सोचमा परिवर्तन ल्याउनु आवश्यक छ | वास्तबमा राजनीति फोहोरी खेल होइन यसलाई फोहोरी बनाईएको हो ताकी सफा खेल खेल्न चाहनेहरु यसमा आउदै न आऊँन र सधै भ्रस्टचारी र कुसाशन नै हावी रहुन |
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…