आरके मेडिसिटीलाई कारवाही नभए संघर्षमा जान बाध्य हुन्छौं : एसवाइएन
सञ्जालले घटनाको छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

२०७७ भदौ ११ बिहीबार, बेलुकी ७:०३ बजे१ मिनेट पढाइ

सिरहा । सिरहा युवा सञ्जालले पत्रकार बिनय यादवमाथि मुसहर्नियाँस्थित आरके मेडिसिटीमा भएको दुर्व्यवहार घटनाको निन्दा गरेको छ ।
सञ्जालले बिहीबार एक विज्ञप्ति जारी गर्दै समाचारकै निहुँमा पत्रकार यादवमाथि भएको दुर्व्यवहार निन्दनीय र आपत्तिजनक रहेको भन्दै घटनाको निन्दा गरेको हो ।
गत शुक्रबार राति आरके मेडिसिटीमा भर्ना भएका पत्रकार यादव परिवारका एक बच्चालाई अस्पतालले शनिबार साँझ अत्यन्तै नाजुक अवस्थामा पुर्याएर रिफर गरेको थियो ।
अस्पतालले जवाफ दिएपछि बच्चालाई बाहिर लैजान अस्पताल पुगेका पत्रकार यादवमाथि उनले यसअघि लेखेको 'अस्पतालको लापरबाहीले महिलाको मृत्यु' सम्बन्धि समाचारलाई निहुँ बनाएर धक्का लगाउँदै दुर्व्यवहार भएको थियो ।
अस्पतालका व्यवस्थापन पक्षकै मान्छेहरुबाट भएको सो घटनाले मानवताको उपहास गर्ने काम भएको ठहर गर्दै न्यायको आवाजमाथि दमन गर्ने कामसमेत भएको सञ्जालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

'अस्पतालले बिरामी बच्चाको अवस्था अत्यन्तै गम्भीर बन्दै गएका बेला पनि गैरजिम्मेवार रुपले विवाद खडा गरी एम्बुलेन्ससमेत रोक्न गरेको प्रयासले मानवताको उपहास गर्ने काम भएको छ,' सञ्जालकी महासचीव आकांक्षा झाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'यो प्रेस स्वतन्त्रतामाथिको हमला र अन्यायको पराकाष्ठा हो ।'
सञ्जालले घटनाको छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । 'न्यायका लागि बोल्ने वातावरण बनाइदिन सम्बन्धित निकायलाई अनुरोध गर्दै चाँसो नलिइए संघर्षमा जान बाध्य हुने जानकारी पनि यसैसाथ गराउँदछौं,' विज्ञप्तिमा उल्लेख छ ।
सञ्जालद्वारा जारी विज्ञप्तिमार्फत् विश्व महामारीका बेला चिकित्सा क्षेत्रले मानवजगत जोगाउन गरिरहेको प्रयास र योगदानको प्रशंसा पनि गरिएको छ ।
तर, केहि अस्पताल र डाक्टरबाटै हुने गरेको यस्ता मानवता विपरीतका कार्यले सिंगो चिकित्सा क्षेत्रमै धब्बा लगाउने कार्य भइरहेको सञ्जालले जनाएको छ ।
पत्रकार यादव सञ्जालका पूर्वसचीव समेत हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…