बाटो विस्तारको नाममा चुरेको अवैध उत्खनन्, माटो अन्यत्रै बिक्री गरिँदै
यहाँ अव्यवस्थित तरिकाले भइरहेको उत्खनन्ले पहिरोको जोखिमसमेत निम्त्याएको छ ।

२०७७ भदौ ४ बिहीबार, दिउँसो ४:३३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ स्थित मिर्चैया–कटारी सडकखण्डमा बाटो विस्तारको नाममा अवैध रुपमा चुरे उत्खनन् भइरहेको पाइएको छ ।
मिर्चैया नगरपालिका र उदयपुरको कटारी नगरपालिकाको सीमासँग जोडिएको चुरे क्षेत्रमा अवैध रुपमा उत्खनन् भइरहेको पाइएको हो । कुनै पनि ठाउँमा उत्खनन् गरिँदा वन समिति, सम्बन्धित पालिका तथा निकायसँग सहमति लिनुपर्ने प्रावधान छ ।
तर, मिर्चैया नगरपालिका क्षेत्रभित्र पर्ने सो चुरे उत्खनन्को लागि यहाँका निकायलाई जानकारी नै नदिई उत्खनन् गरिँदैछ । सडक विस्तारको नाममा उत्खनन् भइरहेको भनिए पनि त्यहाँको माटो अन्यत्रै ढुवानी गरेर बिक्री गरिरहेको देखिएको छ ।
अवैध रुपमा उत्खनन् भइरहेको जानकारी पाएपछि मंगलबार मिर्चैया ७ का जनप्रतिनिधि, स्थानीय तथा मिर्चैयाका प्रहरी त्यहाँ पुगे । उनीहरु उत्खनन् भइरहेको ठाउँमा पुग्ने बित्तिकै माटो ढुवानी गरिरहेका ट्रिपर तथा जेसिभी चालक त्यहाँबाट फरार भए ।
उनीहरुले त्यहीँ छाडेर भागेको जेसिभी मिर्चैया ल्याउन प्रहरीले प्रयास गरेपनि प्राविधिक नहुँदा तत्कालै ल्याउन सकेनन् । उत्खनन् भइरहेको स्थलमा पुगेका सबैले डिभिजन वन कार्यालयलाई अवैध रुपमा उत्खनन् भइरहेको जानकारी गराएपछि वन टोली अबेर साँझ मात्र त्यहाँ पुग्यो ।
अवैध उत्खनन् भइरहेको ठाउँमा स्थानीयहरु पुगेपछि उनीहरु सबै भाग्नुले पनि यहाँ अवैध तरिकाले उत्खनन् गरी माटो बिक्री गर्ने काम भइरहेको स्थानीयको दावी छ । ‘बाटो विस्तार हुनु राम्रो हो, तर लिगल तरिकाले हुनुपर्छ,’ स्थानीय रामेश्वर यादवले भने, ‘सडक विस्तारको नाममा यहाँबाट लिइएको माटो अन्यत्रै लगेर बिक्री गरिनु इलिगल हो ।’
यता, मंगलबार डिभिजन वन कार्यालय लहान सिरहाका प्रमुख सुभाषचन्द्र दासले सडक विस्तारको काम भइरहेको कुरा आफूले जानकारी पाएको मात्रै बताएका थिए । तर, त्यसको एक दिनपछि उत्खनन् गरिरहेका ठेकेदारले डिभिजन वन कार्यालयसँग भएको सम्झौता पत्र लिएर आएका छन् ।
यसअघि अवैध रुपमा उत्खनन् गरिरहँदा फन्दामा परेपछि भागेको र एकदिनमै सम्झौता पत्र लिएर आउँदा आश्चर्य लागेको स्थानीय बताउँछन् । ठेकेदारले सम्झौता पत्र नगरपालिका, वडा कार्यालय र वन समितिलाई देखाएर फेरि उत्खनन् गरी माटो बाहिर पठाउने काम थालेका छन् ।
यहाँ अव्यवस्थित तरिकाले भइरहेको उत्खनन्ले पहिरोको जोखिमसमेत निम्त्याएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…