धनुषा: कमला नपाका मेयर र वडाध्यक्षको सरकारी गाडी चोरी !
योजनावद्ध रुपमा मोटरसाईकललाई अर्को ठाउँमा लगि चोरी मुचुल्का उठाउन लगाइएको ?

२०७७ भदौ २ मंगलबार, बिहान ११:२६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाका मेयर र एक वडाध्यक्षको सरकारी गाडी चोरी भएको रिपोर्ट लेखाइएको छ ।
पूर्वी धनुषाको कमला नपाका मेयर राम उदगार गोईतले नगरपालिकाबाट लिएको सरकारी गाडी चोरी भएको हो । गत बर्षको पुस २८ गते राती चोरी भएको ईलाका प्रहरी कार्यालयमा रिपोर्ट लेखाइएको छ ।
नगरपालिकाबाट मेयर गोईतले एक चारचक्के र एक मोटरसाईकल समेत लिएका हुन् । चारचक्के आफैं चढेपनि मोटरसाईकल भने अन्य व्यक्ति चढदै आएका थिए । कमला नगरपालिका वडा नं. २ को माचि झिटकैया पुरबारी टोलबाट गाडी चोरी भएको हो ।
स्थानीयहरुका अनुसार, गाडी चोरी नभएर गाडीमा साँचो (चाभी) लगाएरै एक जना लगेको देखिएको बताइएको छ । पुस २८ गते राती स्थानीय बिजली यादवको निधन हुँदा टोलवासीमा रुवाबासी चलिरहँदा एक जनाले मोटरसाईकल लगेको बताइएको छ । निरन्तर सर्वसाधारणको आवतजावत र मोसा चोरी भएकै ठाउँमा मान्छेहरुको भीड लागेको अवस्थामा मोटरसाईकल चोरी हुनु अपत्यारिलो लागेको नाम नखोल्ने शर्तमा एक जनाले भने ।
मोटरसाईकलको पार्टपूर्जाहरु खोलेर अन्य मोटरसाईकल सेटमा फिट गरेको हुनुपर्ने वा भारततर्फ बेचेको हुनुपर्ने अनुमान गरिएको छ । यद्यपी, यसबारे ईलाका प्रहरी कार्यालय खजुरीले पुस २९ गतेको जाहेरीमा ज १२ प ६६९७ नम्बरको सरकारी गाडी चोरी भएको जाहेरी लेखाइएको छ । गाडी अहिलेसम्म फेला परेको छैनन् । सो गाडीको नम्बर प्लेट समेत परिवर्तन गरी चढिरहेको थियो ।
प्रहरी नीरिक्षक हिरेन्द्र रोकायाका अनुसार, माघ २५ गतेसम्म खोजबिन गरी फेला नपरेपछि अन्य सम्बन्धित निकायमा समेत उजुरी गरि जानकारी दिएको कागजातहरु बनाइदिएको प्रतिक्रिया दिएका छन् । सो घटना योजनावद्ध रुपमा गरिएको आशंका गरिएको छ ।
सोही क्रममा गएराती कमला नगरपालिका वडा नं. ५ का वडाध्यक्ष शिवा पासवानको पनि सरकारी नम्बर प्लेटको सवारी चोरी भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ स्थित उनको आफ्नै घर (जनकपुरको घर) अगाडी राखिएको अवस्थामा गएराती चोरी भएको बताइएको छ ।
वडाध्यक्ष पासवानले चढदै आएको प्रदेश २ ०२–००१ ब ००५९ नम्बरको सरकारी प्लेट नम्बरको मोटरसाईकल चोरी भएको हो । गएराती करिब २ बजेतर्फ कसैले गाडी चोरी गरि लगेको बताइएको छ ।
यता, मेयरको गाडी चोरी भएपनि कसैले पनि कुनै प्रकारको चासो लिएनन् । सरकारी नम्बर प्लेटको सवारी चोरी भएपछि हुनुपर्ने सक्रियता नदेखिएपछि योजनावद्ध रुपमा मोटरसाईकललाई अर्को ठाउँमा लगि चोरी मुचुल्का उठाउन लगाइएको नाम नखोल्ने शर्तमा एक जना स्थानीयले बताए ।
सो सन्दर्भमा मेयर गोईतले गाडी चोरी सम्बन्धी उजुरी प्रहरीमा दिएको र प्रहरीले खोजबिन गरिरहेको प्रतिक्रिया दिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…