सिरहा आइसोलेशनमा चरम लापरवाही : न जाँच, न पौष्टिक आहार, भगवान भरोसे संक्रमित
सिरहाका दुई आइसोलेशनमा हाल ४४ जना संक्रमितहरु उपचार गराइरहेका छन् ।

२०७७ साउन ३१ शनिबार, बिहान ११:१५ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । सिरहा सदरमुकामस्थित आइसोलेशनमा बस्दै आएका कोरोना संक्रमितहरुले आफूहरुलाई यहाँ भेडाबाख्रा झैँ राखेर छाडिदिएको गुनासो गरेका छन् ।
जिल्ला अस्पतालद्वारा सिरहास्थित चमाविमा सञ्चालित उक्त आइसोलेशनका संक्रमितहरुले व्यवस्थापन पक्षको लापरवाहीका कारण आफूहरु भगवान भरोसे बसिरहेको गुनासो गरेका हुन् । यहाँ जुनसुकै बेला जटिल रोग लाग्न सक्ने त्रासमा संक्रमितहरु छन् ।
आइसोलेशनमा चेकजाँचसमेत नहुने गरेको उनीहरुको गुनासो छ । एकजना नर्सकै भरमा आइसोलेशन सञ्चालन भइरहेको उनीहरुले बताए । ‘डाक्टर यहाँ मुख देखाउन पनि आएका छैनन्,’ एकजना संक्रमितले भने, ‘एकजना नर्स बिहान एकचोटी नामको लागि आउँछिन्, सोधेर जान्छिन्, केहि समस्याभन्दा पनि वास्ता हुँदैन ।’
खाना–नास्ता पनि खानै मन नलाग्ने खालको दिने गरेको, फोहर र लामखुट्टे आजित बनेको उनीहरुले बताए । ‘यहाँ न खानपान राम्रो छ, नत जाँच नै हुन्छ, फोहर पनि सफाइ हुँदैन,’ संक्रमितले भने, ‘यहाँ हामी भेडाबाख्रा झैँ अलपत्र राखिएका छौं, कतिबेला के हुने हो ठेगान छैन ।’
आइसोलेशनमा बसेका संक्रमितहरुले आफूहरुलाई दैनिक मासुभात नै दिनु नपर्ने भन्दै कम्तिमा पनि कोरोना भाइरससँग लड्न शक्ति दिने पोषिलो खानेकुरा दिनुपर्ने बताए । ‘आइसोलेशनमा नभई नहुने तातो पानीको व्यवस्था छैन, सेनिटाइजर त दिँदैन, अन्य कुरा परै जाओस्,’ अर्का एकजना संक्रमितले भने, ‘यहाँ नदिएका सामानहरु घरबाट मगाउँदा पनि दुईतीन दिनमा दिन्छ, कैदी जस्तै बसिरहेका छौं ।’
कोरोना संक्रमित पनि यहि समाजको हो, पोजेटिभ भएपनि मानवीय व्यवहार गरेर हौसला दिनुपर्ने बताउँदै पशु जस्तो भइरहेको व्यवहारप्रति उनीहरुले आपत्ति जनाएका छन् । उनीहरुले यहाँको व्यवहार र व्यवस्थापन हेर्दा नाम मात्रको आइसोलेशन भएको बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…