सिरहाः कल्याणपुर नगरपालिकाका मेयर मण्डल निलम्बीत !
अख्तियारले मेयर मण्डल र उनका छोराविरुद्ध आज विशेष अदालतमा आज मुद्दा दायर गरेको हो ।

२०७७ साउन २८ बुधबार, बेलुकी ७:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डल र उनका छोरा सन्त कुमार मण्डलमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि आजदेखि निलम्बनमा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर मण्डल र उनका छोराविरुद्ध आज विशेष अदालतमा आज मुद्दा दायर गरेको हो । मेयर मण्डलका छोरा गत असार ३१ गते डिपीआर कामको भुक्तानीका लागि सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिँदालिँदै लहानबाट पक्राउ परेका थिए ।
घुस रकम मेयर मण्डलले मागेको र घुस लिन छोरालाई पठाएको पुष्टि भएकाले उनी दुबै जनामाथि मुद्दा दायर गरिएको अख्यितयारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । डिपिआर निर्माण कार्य सम्पन्न गरेको कामको भुक्तानीका लागि काटिएका चेक दिन घुस मागेको र सेवाग्राहीले नियमानुसार पाउनुपर्ने भुक्तानी नगरी दुःख दिएको अख्तियारको दाबी छ ।
उक्त चेकको सो दिन अन्तिम म्याद भएको हुँदा चेक क्लियरिङ नभई चेकको म्याद नै समाप्त भएपछि हालसम्म पनि भुक्तानी सेवाग्राहीले पाउन नसकेको अख्तियारले जनाएको छ ।
चेकको म्याद समाप्त भएका कारण भुक्तानी हुन नसकेकाले मेयर मण्डलमाथि बिगो ५ लाख र उनका छोरा सन्तकुमारले ५ लाख लिएको तथ्य स–प्रमाण पुष्टि हुन आएकोले उनीमाथि पनि बिगो ५ लाख कायम गरी भ्रष्टाचार निवारण ऐनबमोजिम सजायको मागदाबी लिई अख्तियारले विशेष अदालतमा आरोप–पत्र दायर गरेको हो ।
मेयर मण्डलले कार्य सम्पन्न भैसक्दा पनि चेक नदिएर हैरानी तुल्याएको उजुरी आयोगमा परेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
मेयर मण्डल सार्वजनिक पदधारी भएकोले विशेष अदालतमा मुद्दा दायर भएलगत्तै उनी स्वतः निलम्बनमा परेका छन् । यस उपर कारवाही विशेष अदालतमा हुनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…