धनुषाधाम नगरपालिकाभित्रको हाटबजार सहित सबै सेवा पनि बन्द
समाजिक दुरी, मास्क, सेनिटाईजर बिना कुनै सेवा प्रवाह नगर्न भनिएको छ ।

२०७७ साउन २४ शनिबार, राति ८:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाले नगरभित्र लाग्दै आएको हाट बजारलाई पूण रुपमा बन्द गर्ने निर्णय गरेको हो । नगर क्षेत्रभित्र विभिन्न वडामा लाग्दै आएको साप्ताहिक हाट बजारहरु तत्काल बन्द गर्न पत्राचार गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीद्धारा हस्ताक्षरित शनिबार प्रकाशित गरिएको सार्वजनिक सूचनामा श्रावण मसान्तभरिको लागि कोरोना भाइरसको सँक्रमणलाई मध्यनजर गर्दै हाट बजारहरु बन्द गर्न भनिएको छ ।
यसका साथै, धनुषाधाम नगरपालिकाले प्रदान गर्दै आएको अत्यावश्य सेवा बाहेक सबै सेवाहरु यस मसान्तभरि बन्द गर्ने निर्णय गरेको हो । स्वास्थ्य सेवा, कृषि सेवा, विपद व्यवस्थापन सेवा बाहेक अन्य सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको सँक्रमण समुदाय स्तरमा पुगेको भन्दै सँक्रमण रोकथामको लागि नगरपालिकाको कार्यालयले सो कदम उठाएको प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बताए । उनले नगर प्रमुख बालेश्वर मण्डल, उपमेयर विद्या देवी भूजेलको विशेष उपस्थितिमा सो निर्णय गरिएको बताए ।
नगरपालिका सहित नगरपालिकाको ९ वटै वडामा समेत सबै सरकारी सेवाहरु बन्द गर्न वडाध्यक्षहरुलाई पत्राचार गरेको छ । वडा कार्यालयहरुमा भीडभाड नहोस भन्ने उदेश्यका साथ यस मसान्तभरि अत्यावश्यक सेवा बाहेक सबै सेवाहरु बन्द गर्न पत्राचार गरेको हो ।
नगरपालिकाभित्र रहेको सहकारी सँस्था, बैँक, वितीय सँस्था, विद्युत प्राधिरकणमा सेवाग्राहीहरुलाई अनिवार्य रुपमा सुरक्षाको सबै उपाय अपनाएर मात्र सेवा दिन आग्रह गरिएको छ । समाजिक दुरी, मास्क, सेनिटाईजर बिना कुनै सेवा प्रवाह नगर्न भनिएको छ ।
यसका साथै, बिदेशबाट आउने नागरिकलाई सम्बन्धित वडामा वडाध्यक्ष, महिला स्वयँसेविकाले होम क्वारेन्टाईन व्यवस्थापन गराउने र सोको लागि स्वास्थ्य शाखाले समन्व्य गर्न निर्देशन दिइएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…