मिर्चैयामा कोरोना 'इन्ट्री' : भोलि बिहानदेखि ३२ गतेसम्म लकडाउन
कन्ट्याक्ट ट्रेसिङपछि सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान र अवस्था हेरेर त्यस क्षेत्रलाई सील गर्ने तयारी समेत गरिएको छ ।

२०७७ साउन २१ बुधबार, बेलुकी ६:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मिर्चैयामा एकैदिन तीन जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
मिर्चैयास्थित एक हस्पिटलका सञ्चालक दाजुभाइ र थप एकजना गरी तीन जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
सञ्चालक दाजुभाइमा संक्रमण पुष्टि भएपछि अस्पताल सील गरिएको छ । मिर्चैयामा कोरोना संक्रमित फेला परेको यो पहिलोपटक हो ।
तीन जनामा कोरोना संक्रमण पुष्टि भएसँगै मिर्चैया नगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ । नगरपालिकाको आज बुधबार अपरान्ह बसेको आपतकालिन बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना संक्रमित भेटिएपछि थप सतर्कता अपनाउँदै भोलि २२ गते बिहान ६ बजेदेखि ३२ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय भएको मिर्चैयाका नगरप्रमुख श्रवण कुमार यादवले जानकारी दिए । लकडाउन अवधिभर अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहनेछन् ।
अत्यावश्यक कार्यका लागि बिहान १० बजेदेखि १२ बजेसम्म अर्थात् २ घण्टाको समय निर्धारण गरिएको छ । संक्रमित भेटिएपछि जोखिम बढेकोले अनावश्यक रुपमा बाहिर हिँडडुल नगरिदिन तथा अत्यावश्यक काममा जाँदा सुरक्षा अपनाएर जान मेयर यादवले आग्रह गरे ।
लकडाउन अवज्ञा गरिए संक्रामक रोग ऐन बमोजिम कारवाही गर्ने निर्णयसमेत गरिएको छ । लकडाउन पूर्णरुपमा कार्यान्वयन गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई जिम्मेवारी दिइएको छ ।
यता, आज भेटिएका संक्रमितहरुको तथा सम्भावित जोखिम रहेको क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङको काम पनि सुरु भएको स्वास्थ्य शाखाले जनाएको छ । कन्ट्याक्ट ट्रेसिङ गरी संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरी सबै जनाको स्वाब संकलन गरी परीक्षण गरिने जनाइएको छ ।
कन्ट्याक्ट ट्रेसिङपछि सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान र अवस्था हेरेर त्यस क्षेत्रलाई सील गर्ने तयारी समेत गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…