प्रदेश नं २ का एकपछि अर्को जिल्लामा कर्फ्यू
प्रदेशमा सबैभन्दा बढी रौतहटमा हालसम्म एक हजार २५९ मा सङ्क्रमण पुष्टि भएको छ ।

२०७७ साउन २१ बुधबार, दिउँसो ४:५५ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले लकडाउन हटाएपनि प्रदेश २ को विभिन्न जिल्लामा एकपछि अर्को जिल्लामा कर्फ्यू लगाउने क्रम जारी छ । लकडाउन हटेर आवागमन खुकुलिँदै जाँदा प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण जोखिम झनै बढेको छ ।
लकडाउन हटेको साउन ७ गतेयता हालसम्म ७८१ नयाँ सङ्क्रमित थपिएका छन् । साउन ६ गतेसम्म कूल सङ्क्रमित रहेका चार हजार २६४ सङ्ख्या आज पाँच हजार ४५ पुगेको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयले जनाएको हो । प्रदेशमा हालसम्म यो व्याधिले १९ जनाको ज्यान लिइसकेको छ ।
साउन ७ गतेयता सङ्क्रमण झन् बढेपछि प्रदेश नं २ मा एकपछि अर्को जिल्ला र नगरमा खुला आवागमन रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्दैछन् ।
प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा सोमबार मध्यरातदेखि नै सात दिनको निषेधाज्ञा लागू छ । त्यसैगरी वीरगञ्ज महानगरमा मात्र रहेको निषेधाज्ञालाई पर्सा जिल्ला प्रशासन कार्यालयले मङ्गलबारदेखि जिल्लाभरमै लागू गरेको छ ।
पूर्वको सप्तरी जिल्लाको राजविराज र महोत्तरीको जलेश्वर नगरमा तीन दिनपूर्व नै निषेधाज्ञा जारी छ भने सर्लाही जिल्ला प्रशासनले आजदेखि लागू हुने गरी सात दिनको निषेधाज्ञा आदेश जारी गरेको छ ।
लकडाउन हटेसँगै सबैतिर भीडभाड बढेको, शारीरिक (भौतिक दूरी) को ख्याल नगरिएको, मास्क नलगाई हिँडडुल गर्ने क्रम बढेको र भारतसँगको खुलासीमाबाट दोहोरो आवतजावत निकै बढेपछि महामारी सङ्क्रमण र थप जोखिम बढेको विज्ञ बताउँछन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…