भारतमा ३४ वर्षपछि नयाँ राष्ट्रिय शिक्षा नीति पारित
झण्डै ३४ वर्षपछि नयाँ शिक्षा नीति आएकाले पनि यसको महत्व र औचित्य बढीरहेको उहाँको भनाइ छ ।
२०७७ साउन १४ बुधबार, राति १०:३४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । भारतको केन्द्रीय मन्त्रिपरिषद्ले नयाँ राष्ट्रिय शिक्षा नीति पारित गरेको छ । यसअघि लागू हुँदै आएको नीतिलाई झण्डै ३४ वर्षपछि विस्थापित गर्ने गरी राष्ट्रिय शिक्षा नीति २०२० पारित गरिएको हो ।
मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले नीति पारित गरेको केन्द्रीय मन्त्री प्रकाश जभादेकरले बुधबार जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा उहाँले २१औँ शताब्दीलाई सुहाउने गरी नयाँ नीतिमा धेरै व्यवस्थाहरू समावेश गरिएको बताउनुभयो ।
“प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ राष्ट्रिय शिक्षा नीति पारित गरेको छ, यसले २१औँ शताब्दीको आवश्यकतालाई सम्बोधन गर्ने विश्वास लिएका छौँ,” मन्त्री जभादेकरले भन्नुभयो ।
झण्डै ३४ वर्षपछि नयाँ शिक्षा नीति आएकाले पनि यसको महत्व र औचित्य बढीरहेको उहाँको भनाइ छ । सरकारले ल्याएको नयाँ शिक्षा नीतिलाई सरोकारवाला र विज्ञहरूले स्वागत गर्ने र सकारात्मक रूपमा लिने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
भारतले ल्याएको नयाँ शिक्षा नीतिले विश्वकै शिक्षा क्षेत्रलाई प्रभावित पार्ने पनि मन्त्री जभादेकरले दाबी गर्नुभयो ।त्यसैगरी उच्च शिक्षा सचिव अमित खारेले नयाँ शिक्षा नीति पारित भएको दिनलाई ऐतिहासिक दिनको संज्ञा दिनुभयो ।
“मन्त्रिपरिषद्ले पारित गरेको नयाँ शिक्षा नीतिले शैक्षिक क्षेत्रको पुनः संरचना र गुणस्तर वृद्धिका लागि ठूलो सहयोग गर्ने विश्वास लिइएको छ,” उहाँले भन्नुभयो । नयाँ शिक्षा नीतिमा अनुगमन, प्रशासन, आर्थिक व्यवस्थापन, पारदर्शीतालगायतका विषयमा केही सुधार गर्ने प्रयास गरिएको शिक्षा सचिव खारेले जानकारी दिनुभयो ।
“हाम्रो देशमा सम्बन्धन प्राप्त ४५ हजारभन्दा बढी क्याम्पस छन् । उनीहरूका लागि स्वायत्ततासहितका विषेश व्यवस्थाहरू गरिएको छ,” उहाँले भन्नुभयो । शिक्षा सचिव खारेले क्षेत्रीय भाषामा पठनपाठन गराउन सकिने गरी अनलाइन पाठ्यक्रमको समेत व्यवस्था नयाँ शिक्षा नीतिमा रहेको बताउनुभयो ।
विद्युतीय प्रयोगशालाको अवधारणा विकास गर्दै राष्ट्रिय शैक्षिक प्राविधिक मञ्च पनि स्थापना गरिने उहाँले जानकारी दिनुभयो । शिक्षा नीति बनाउँदा व्यापक छलफल र अन्तरक्रियाहरू गरिएको र प्राप्त सुझावलाई सकेसम्म समेट्ने प्रयास गरिएको पनि शिक्षा सचिव खारेले बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एजेन्सी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…