धनुषाको थप ५२ बिघा जग्गामा वन लगाइदैछ : अध्यक्ष मण्डल
मिथिला वाइल्ड लाईफ ट्रस्टले प्राकृति क्षेत्रको नाँगोपनलाई हरियाली बनाउँदै आएको छ ।

२०७७ साउन १३ मंगलबार, बिहान ८:०२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा थप ५२ बिघा जग्गामा वन लगाउने कार्यक्रमको उदघाटन गरिएको छ ।
धनुषा जिल्लाको मिथिला नगरपालिका–४ (पुष्पवलपुर) स्थित भाटीघारी सामुदायिक वन भित्र पर्ति चौर को रुपमा रहेको ३२ हेक्टर (लगभग ५२ बिघा) नदी उकास जग्गालाई प्राकृतिक वनको रुपमा पूनःस्थापना गर्ने कार्यक्रमको उद्घाटन गरिएको छ ।
प्रदेश नं. २ को चुरे भित्र रहेका पर्ति चौर र नदी उकास जग्गाहरुलाई वनको रुपमा पूनसर््थापना गरि प्रदेश २ को पूर्वमा रहेको कोशी टापु वन्यजन्तु आरक्ष देखि पश्चिममा रहेका पर्सा राष्ट्रिय निकुञ्ज सम्म आवतजावत गर्ने वन्यजन्तु र सो क्षेत्रमा वसोवास गर्दै आईरहेका समुदाय बिचको द्वन्द न्यूनिकरण गर्न वन लगाउने कार्यक्रम सुरु गरिएको मिथिला वाइल्ड ट्रस्टका अध्यक्ष देव नारायण मण्डलले जानकारी दिए ।
मण्डलका अनुसार, सोही क्षेत्रका समुदायसँग सहकार्य गरी समुदायमा आधारित संरक्षणमुखी कार्यक्रमहरु गर्ने उद्देश्य सहित धनुषा जिल्लाको मिथिला नगरपालिका वार्ड नं. ४ (पुष्पवलपुर) स्थित भाटीघारी सामुदायिक वन भित्र पर्ने ३२ हेक्टर नदी उकास जग्गालाई पहिलो चरणमा वृक्षारोपन गर्ने कार्यक्रमको उद्घाटन गरेको हो ।
भाटीघारी पूनःस्थापना परियोजना नाम दिईएको यस परियोजनालाई यूके स्थित छोराछोरी (Chora-Chori) र जेम्मा र क्रिस मैकगघ फाउण्डेसन (Gemma and Chris McGough Foundation) को आर्थिक सहयोगमा वन लगाउने कार्यक्रम सुरु गरिएको हो ।

भाटीघारी सामुदायिक वनका अध्यक्ष श्याम गोले र अभियानी सुरेश शर्माको सँयुक्त अध्यक्षता तथा प्रदेश नं. २ विद्यायक एवम् अभियानी राम अशिष यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वन लगाउने परियोजनालाई आवश्यक पर्ने बिरुवा र प्राबिधिक सहयोग डिभिजन वन कार्यालय, धनुषाले उपलब्ध गराएको ट्रस्टका अध्यक्ष मण्डलले थपे ।
उनले भने, –“पहिलो चरणमा २ बर्ष ६ महिना लगाएर भाटीघारी सामुदायिक वनमा ३२ हेक्टर नदी उकास जग्गालाई स्थानिय स्तरमा पाईने र स्थानिय वातावरणमा पाईने बोटका प्रजातीहरु रोपण गरी प्राकृतिक वनको रुपमा परिणत गर्ने लक्ष्य राखेका छौँ । यस परियोजना अन्तर्गत हुने वृक्षारोपण कार्यक्रममा काठ प्रजातीका विरुवा ४० प्रतिशत रोपिने छ भन्ने बाँकी ६० प्रतिशत स्थानिय चराचुरुङ्गि र वन्यजन्तुहरुलाई आकर्षण गर्ने प्रजातीहरुका साथै रैथाने प्रजातिहरुलाई संरक्षण गर्ने गरि स्थानिय स्तरबाट बोट र बिऊ संकलन गरि वृक्षारोपण गरिनेछ ।”
चुरे क्षेत्रमा वृक्षारोपण सफल बनाउन आवश्यक तारवार सहितको घेरावेरा, सिँचाई, मल्चिङ्ग र पूनःरोपण जस्ता सबै कार्यक्रमहरु रहेकोले वृक्षारोपण सफल हुने प्रति विश्वास व्यक्त गर्दै सिकाईहरुको आधारमा पनि अन्य सामुदायिक वनहरुसँग सहकार्य गरेर अन्य क्षेत्रमा वृक्षारोपण गर्ने उद्देश्य राखिएको बताइएको छ ।
सोही कार्यक्रम अन्तर्गत वातावरण जोगाउनको लागि र वातावरण प्रदुषणबाट रोक्नको लागि प्लास्टिक मुक्त क्षेत्र बनाउन कपडाको झोला समेत वितरण गरिएको थियो । विद्यायक एवम अभिायनी यादवले कपडाको झोला वितरण गरेका थिए ।
सो कार्यक्रममा विशेष अतिथिका रुपमा डिभिजनल वन अधिकृत अशोक कुमार झा, सामुदायिक वन उपभोक्ता महासंघ, प्रदेश २ का संयोजक शोम प्रसाद शर्मा, स.व.अ. शंकर नारायण झा, स.व.अ. राजेन्द्र लाल कर्ण, एन्टि प्लास्टिक अभियानी कृष्ण चन्द साह, प्याक नेपालका अध्यक्ष सुनिल यादव सहित अधिकारकर्मी, अभियानी, पत्रकारहरुको पनि मोटो सहभागीता रहेको थियो ।
मिथिला वाइल्ड लाईफ ट्रस्टले प्राकृति क्षेत्रको नाँगोपनलाई हरियाली बनाउँदै आएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…