शम्भु सदाको न्यायको लागि सिरहामा प्रदर्शन : 'हामी मर्छौं, न्याय मर्न दिन्नौं'
घटनालाई सामान्य रुपमा नलिई सूक्ष्म छानविन हुनुपर्ने उनीहरुको माग छ ।

२०७७ असार ४ बिहीबार, बिहान ८:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रहरी हिरासतमा शंकास्पद मृत्यु भएका धनुषाका शम्भु सदाको न्यायको लागि सिरहामा प्रदर्शन भएको छ ।
सिरहा जिल्लाका युवाहरुको विभिन्न तीन संगठनले गोलबजारमा प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेको हो । शम्भुको मृत्यु घटनाको न्यायिक छानविनको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
धनुषाको सबैला नगरपालिका–१२ घर भएका २४ वर्षीय शम्भु सदा मुसहरलाई प्रहरीले हत्या गरी आत्महत्या देखाउन खोजेको आरोपसहित सिरहा युवा सञ्जाल, आरम्भ साइन्स एन्ड कल्चर क्लब तथा सनराइन सिरहा युवा सञ्जालले संयुक्त रुपमा प्रदर्शन गरेको हो ।
‘शम्भुलाई प्रहरीकै संलग्नतामा मारेर आत्महत्याको नाटक रचेकोले पीडितलाई न्याय र पिडकलाई कारवाहीका लागि माग गर्दै प्रदर्शन गरेका हौं,’ सिरहा युवा सञ्जालका संस्थापकसमेत रहेका प्रदर्शनमा सहभागी आभाष गुरुले भने । प्रहरी हिरासतको शौचालयमा, सर्ट, भेष्टले घाँटीमा बाँधेर, मुखमा कपडा ठुसेर आत्महत्या गर्नु एउटा देखाउने कथा जस्तै रहेको उनको कथन छ ।
प्रहरीको निगरानीमा रहेको व्यक्ति एउटा सर्टको सहारामा त्यो पनि शौचालयमा झुण्डिनु रहस्यमय रहेको भन्दै घटनालाई सामान्य रुपमा नलिई सूक्ष्म छानविन हुनुपर्ने उनीहरुको माग छ ।
शम्भुको हत्या नै गरिएको भन्दै परिवारजन तथा गाउँलेले पनि न्यायिक छानबिनको माग राख्दै आन्दोलन गर्दै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…