बकैयाँ खोलालाई 'च्यानालाईज' गरिदै
खोलामा थ्रुप्रिएको नदीजन्य पदार्थ उत्खनन एवं वितरण गर्न ठेक्का आव्हान गरेको थियो ।
२०७७ जेठ २५ आइतबार, राति ८:०५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर ४ स्थित बकैया नदीमा अहिले वर्षातको समयमा खोलामा आउने बाढी गाउँमा पस्न नदिन बकैया खोलालाई च्यानालाईज गर्ने कार्य भईरहेको छ ।
अघिल्लो वर्षको बाढीले पुर्वी तटबन्द कटान गरेपछि नगरले वर्षात अघि नै काम सक्ने गरी खोलालाई च्यानालाईज गर्न थालेको हो ।
नदीले धार परिवर्तन गरेर अघिल्लो वर्ष पूर्वी तटबन्द कटान गरे पछि नियन्त्रण गर्न खोलाको धार परिवर्तन गरी तटबन्ध निर्माण सुरु गरिएको निजगढ नगरपालिकाले जनाएको छ ।
कार्यपालिकाको बैठकबाट निर्णय गराई ७ वटा एक्साभेक्टर मार्फत यति बेला खोलाको धार परिवर्तन गर्ने कार्य भईरहेको छ ।
खोलाको धार परिवर्तन गर्दा जिल्ला अनुगमन तथा समन्वय समितिले दुःख दिएको र केही सञ्चार माध्यमले खोला दोहन गरेको समाचारको कार्यपालिका बोर्डले आफुहरुको ध्यानाकर्षण भएको जनाएको छ ।
वर्षात अघि नै नदीजन्य पदार्थको व्यवस्थित उत्खनन गरी नदीलाई च्यानालाईज गरी बस्ती जोगाउन र वर्षात शुरु हुन केही दिन मात्र बाँकी छदाँ स्थानियहरुले समेत बस्ती जोगाउन व्यपाक दवाब दिएपछि कार्यपालिकाबाट निर्णय गराई अहिले खोलालाई च्यानालाईज गर्ने काम भईरहेको निजगढ नगरपालिका वडा नं ४ पुराने निजगढका जनकधारी चौधरीले बताउनु भयो ।
प्रारम्भिक वातावरणीय परीक्षणको प्रतिवेदन बमोजिम नगरले खोलामा थ्रुप्रिएको नदीजन्य पदार्थ उत्खनन एवं वितरण गर्न ठेक्का आव्हान गरेको थियो ।
खोलालाई ६ वटा प्लटमा विभाजन गरी एक करोड २२ लाख ४३ हजार घनमिटर नदिजन्य पदार्थ निकाल्न ठेक्का लगाएको थियो । ठेक्का लगाउने वित्तिकै ठेक्काको विषयलाई लिएर मुद्दा पर्नु, ठेक्का समयमा लगाउन नसक्नु, त्यसपश्चात लकडाउन शुरु हुनु जस्ता कार्यले गर्दा खोलाबाट उत्खनन् गर्न नसकिएको नगरले जनाएको छ ।
निजगढ नगरपालिकाका उपप्रमुख लिलादेवी लामिछाने खनालले नगरपालिकाले नदी उत्खनन र दोहन गरेको नभई बर्षायाममा निजगढमा बाढी पस्ने जोखिम बढेकोले हाल बकैया खोला नियन्त्रणको लागि तटबन्ध र नदी च्यानलाइजिङ्ग कार्य गरेको बताईन ।
निजगढ नगरपालिकाको वडा नं. ४, ८ र ९ हुँदै बग्ने बकैया नदिले धार परिवर्तन गरी वर्षेनी दुःख दिएपछि कार्यपालिकाको निर्णय बमोजिम खोलाको धार परिवर्तन गरी अस्थाई तटबन्ध निर्माण गर्ने निर्णय भएको उपप्रमुखे खनालले बताईन ।
नदीको पश्चिम तर्फ थुप्रिएको ढुंगागिटी वर्षात अघि नै ननिकाल्ने हो भने खोलाले धार परिवर्तन गरी गाउँ पस्ने भएपछि अहिले ठेकेदार मार्फत नै उक्त क्षेत्रको उत्खनन गराईएको र आफुहरुको प्रत्यक्ष निगरानीमा खोलाको च्यानालाईज गर्ने काम भईरहेको हुँदा ठेकेदारले बदमासी गर्न नसक्ने निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालले बताउनु भयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…