निजगढ विमानस्थलको नापजोखमै ६७ करोड बढी खर्च !
विमानस्थल निर्माण शुरू गर्न आफूहरूले कुनै बाधा अवरोध नगरेको टाँगियाबस्तीका बासिन्दाहरूले बताएका छन्।
२०७७ जेठ २४ शनिबार, बेलुकी ७:२२ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । बाराको निजगढमा बन्ने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुअघि तयारी कार्यका लागि ६७ करोडभन्दा बढी रकम खर्च भइसकेको छ ।
विमानस्थलको चार किल्ला घेर्न ५४ किलोमिटर लम्बाइ तारबार गर्दा ४ करोड ४३ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।
त्यसैगरी, ६५ बिघा १५ कट्ठा जग्गा मुआवजाका लागि ४३ करोड ६४ लाख रुपैयाँ वितरण गरिसकेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका निमित्त प्रमुख एवं इन्जिनियर विजय यादवले जानकारी दिनु भयो।
पूर्वतयारीका लागि निर्माण क्षेत्रमा नै अरू विभिन्न काम गर्न करीब १९ करोड रुपैयाँ खर्च भइसकेको उनले बताएका छन्।विमास्थलको पूर्वतर्फ बकैया खोलामा तटबन्ध निर्माणका लागि प्रक्रिया अघि बढिसकेको छ।
पश्चिमतर्फको पसाहा खोलामा २.५ किलोमिटर तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको आयोजनाका निमित्त प्रमुख ई यादवले बताएका छन।
सङ्घीय सरकारको आगामी आवको लागि प्रस्तुत बजेटमा रकम विनियोजन भएको घोषणासँगै अढाई दशकदेखि चर्चामा रहेको यो विमानस्थल बन्ने भएको हो।
आयोजनाले पहिलो चरणमा १९ सय हेक्टर क्षेत्रफलमा काम गर्ने भएपछि त्यस क्षेत्रमा पर्ने रूखबिरुवाको यकीन तथ्याङ्क निकाल्न डिभिजन वन कार्यालय बाराले गृहकार्य अघि बढाएको डिभिजन वन प्रमुख मन्जुर अहमदले बताएका छन ।
कोरियाली कम्पनीले विमानस्थल क्षेत्रभित्र सुविधासम्पन्न होटलसँगै स्मार्टसिटीसहितको अन्तर्राष्ट्रिय विमानस्थलको मोडल तयार पार्दै ठूलो परिमाणमा रूख मास्नुपर्ने देखाएको छ। सोही मोडल अनुसार काम गर्दा वातावरणीय प्रभाव अध्ययन प्रतिवेदनले २४ लाख रुख काट्नुपर्ने तथ्याङ्क बाहिर ल्याएको हो।
त्यसपछि यति ठूलो परिमाणमा रूख मासेर विमानस्थल बनाउन नहुने भन्दै केही वातावरण विज्ञ एवं जानकारहरूले अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले सो मुद्दाको छिनोफानो अहिलेसम्म गरिसकेको छैन।
विमानस्थल निर्माण क्षेत्रको बिचमा पर्ने वन क्षेत्रभित्र रहेको टाँगियाबस्ती स्थानान्तरण मुख्य समस्या देखिएको हो। जसमा ७३१ बिघा १४ कट्ठा वन क्षेत्रको जमीनमा करीब ८ हजार जनसङ्ख्याको बसोबास छ।
विमानस्थल निर्माण शुरू गर्न आफूहरूले कुनै बाधा अवरोध नगरेको टाँगियाबस्तीका बासिन्दाहरूले बताएका छन्।
तर उनीहरूले विस्थापित हुने बस्तीलाई जिल्लाभित्रै स्थानान्तरण गर्नुपर्ने, प्रतिघरधुरीलाई २ बिघा ५ कट्ठा जमिन उपलब्ध गराउनुपर्ने, विमानस्थलमा रोजगारका अवसर दिनुपर्नेलगायतका माग राखेको टाँगियाबस्ती सरोकार समितिका अध्यक्ष रमेश सापकोटा बताएछन्।
विमानस्थल निर्माणका लागि कुल ११ हजार ८ सय ७५ बिघा क्षेत्रफल जमीन चाहिन्छ। विमानस्थल क्षेत्रभित्र पर्ने ९० बिघा लालपुर्जा भएका नम्बरी जग्गामध्ये ६५।१५ बिघा आयोजनाले अधिग्रहण गरिसकेको छ।
निजगढ विमानस्थल पूर्णरूपमा सञ्चालनमा आएपछि प्रत्यक्ष वा अप्रत्यक्षरूपमा २० लाखजनाले रोजगार पाउने अर्थविद् सुरेन्द्र उप्रेतीको दाबी छ।
विमानस्थल निर्माणले यहाँका जनता र मुलुकको भाग्य र भविष्य उज्ज्वल हुने मात्रै नभई सोझै अन्य मुलुकसँग नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सहज रहन्छ।
यसले रोजगार सिर्र्जनासँगै आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने भएकोले समयमा सम्पन्न गर्नुपर्ने निजगढका बासिन्दाहरूको माग छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
दिपेन्द्र जयसवाल
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…