प्रदेश २ : राहत तथा ब्याज अनुदान आवेदनको समयावधि ७ दिन थप
झन्झटिलो प्रक्रिया र जानकारी अवाभमा न्यून आवेदन आएपछि समय थप गर्ने निर्णय गरिएको छ ।

२०७७ जेठ २२ बिहीबार, बिहान ८:५८ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले राहत तथा ब्याज अनुदानका लागि आवेदनको समयावधि सात दिन थप गरेको छ ।
कृषि मन्त्रालयले आवेदनको समयावधि ७ दिन अर्थात् २९ गतेसम्म थप गर्ने निर्णय गरेको हो । झन्झटिलो प्रक्रिया र जानकारी अवाभमा न्यून आवेदन आएपछि समय थप गर्ने निर्णय गरिएको छ ।
लकडाउनका कारण समस्यामा परेका किसानहरूलाई राहत तथा ब्याज अनुदानका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यसअघि १५ दिन अर्थात् २२ गतेभित्र आवेदन दिन आह्वान गरेको थियो । तर, राहतका लागि आवेदन बारे जानकारी नपाएर तथा जानकारी पाएपनि झन्झटिलो प्रक्रियाका कारण एकदमै न्यून आवेदन परेको छ ।
किसानले अरु निकाय अर्थात् वडा कार्यालय तथा नगर पशुपंक्षी केन्द्रबाट सिफारिस पाएपनि प्रहरी कार्यालयबाट मुचुल्का पाउन कठिनाई भएको देखिएको छ । प्रहरीलाई प्रष्ट निर्देशन नभएका कारण मुचुल्का बनाउन गएका किसान त्यसै फर्किनुपरिरहेको छ ।
कोरोना भाइरसको नियन्त्रण गर्न लकडाउनका कारण कृषकमा पर्न गएको प्रतिकुल प्रभाव न्यूनीकरण गर्ने राहत तथा अनुदान प्रवाह निर्देशिका २०७६ अनुसार प्रदेशभित्रका कृषि, पशुपन्छी तथा मत्स्य उत्पादन, प्रशोधन तथा बजारीकरणसँग आबद्ध नेपाली कृषक, कृषि उद्यमी, कृषि फार्महरूलाई अनुदान दिन लागिएको हो ।
राहत माग गर्दा संलग्न गर्नुपर्ने कागजातहरू
१) स्थानीय तहको सिफारिस तथा प्रहरी कार्यालयको मुचुल्का तथा क्षति सम्बन्धमा प्राविधिक प्रतिवेदन ।
२) बालि र वस्तुको क्षति (यथासम्भव फोटो सहित) को परिमाण र सो को मूल्य खुलेको प्राविधिकको स्पष्ट प्रतिवेदन । (प्रतिवेदन सम्बन्धित विषयका प्राविधिकले तयार गरी प्रमाणित गरेको हुनुपर्नेछ)
३) स्थानीय तहको कृषि प्राविधिक, वडा कार्यालय र स्थानीय तहको सिफारिस बीमा गरेको हकमा सोको प्रमाणित प्रतिलिपिलगायत मन्त्रालयले आवश्यक ठानेको अन्य प्रमाण कागजात ।
४) बैंकको नाम र खाना नम्बर ।
व्यवसाय पुनस्र्थापनाका लागि अनुदान माग गर्दा संलग्न गर्नुपर्ने कागजातहरू
१) बालि र वस्तुको क्षतिको भएको वा लकडाउन अवधिमा व्यवसाय चालू रहेको, व्यवसायको स्केल आदी व्यहोरा खुलेको आधिकारिक प्रमाण
(प्रतिवेदन सम्बन्धित स्थानीयतहरूको कृषि प्राविधिक र वडा कार्यालय र स्थानीय तहबाट तयार भएको हुनुपर्ने)
२) बीमा गरेको हकमा सोको प्रमाण ।
३) आगामी सिजनमा गर्ने व्यवसायको सक्षिप्त स्पष्ट योजना वा उक्त अविधिमा सो व्यवसायसम्बन्धी कार्य सुरु गरेको भए सो (सामग्री खरिदको बिल र बिजक आदि कागजात) को प्रमाण ।
४) बैंकको नाम र खाता नम्बर
बैक र वित्तीय संस्थामा कृषि ऋणको ब्याज भुक्तानीका लागि आवश्यक कागजातहरू
१) सम्वन्धित पत्र वडाको सिफारिस । (सिफारिसमा कृषक र फार्म हाल सम्बन्धित वडामा कृषि व्यवसाय गरेको सञ्चालनमा रहेको हो होइन स्पष्ट खुलाउनुपर्ने)
२) सम्बन्धित बैक र सहकारी संस्थाबाट कृषक र निजको नाममा रहेको ऋणसम्बन्धी विवरण । (फारम ४ बमोजिम)
३) २०७६ फाल्गुन मसान्त सम्मको ऋणको स्टेटमेन्ट
४) कृषकले ऋण लिएर गरेको कार्यको विवरण
सम्पर्क कार्यालयहरू
कृषि ज्ञान केन्द्र, वारा कृषि ज्ञान केन्द्र, पर्सा
कृषि ज्ञान केन्द्र, रौतहट भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, सर्लाही
भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, महोत्तरी कृषि ज्ञान केन्द्र, धनुषा
भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, सिरहा कृषि ज्ञान केन्द्र, सप्तरी
भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, रौतहट कृषि विकास निर्देशनालय,नक्टाझिज
भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, पर्सा कृषि ज्ञान केन्द्र, सर्लाही
भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, धनुषा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, जनकपुरधाम
नोट : सम्बन्धित बैंकर सहकारी संस्था समेतले आफ्नो ऋणीहरूको आवेदन एकमुष्ट संकलन गरी सम्बन्धीत कार्यालयमा बुझाई सहजीकरण गर्न सक्नेछन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…