प्रदेश २ः वीरगँजमा बजार र पसल खोलिए , जनकपुरमा खोल्ने गृहकार्य हुँदै
स्थानीय प्रशासनसँगको सहमतिमा बजार खोल्ने तर्फ केन्द्रीत हुने जनाइएको छ ।

२०७७ जेठ २० मंगलबार, बेलुकी ६:२० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । सरकारले आगमी जेठ ३२ गतेसम्म लगाएको लकडाउनमा पनि वीरगँजका व्यापारीहरुले पसल र बजार खोल्न थालेका छन् ।
वीरगञ्जमा लकडाउन उल्लंघन गरेर व्यापारीले मङ्गलबारदेखि बजार र पसल खोल्न थालेका छन् ।
स्थानीय प्रशासनले वीरगञ्जमा लकडाउनमा औषधिका पसल २४ सै घण्टा र किराना, खाद्यान्न, दूध, पानीलगायतका अत्यावश्यक वस्तुका पसल बिहान साढे ८ बजेसम्म मात्रै खोल्न दिने निर्णय गरेको छ ।
यी बाहेकका अन्य पसल भने खोल्न नपाइने स्थानीय प्रशासनको निर्देशन छ । सरकारले कोरोना महामारी नियन्त्रणका लागि अन्य कुनै विकल्प नअपनाइ लकडाउन मात्रै लम्ब्याउँदै आएकाले व्यापार व्यवसाय धरायसी भइ भोकै मर्नुपर्ने अवस्था आएको भन्दै व्यापारीले पसल खोलेका हुन् ।
यसअघि सोमबार वीरगञ्जमा व्यापारीले वीरगञ्जको माइस्थानमा लकडाउनको विकल्प दिइ पसल खोल्न दिनुपर्ने माग गर्दै प्रदर्शन पनि गरेका थिए । तर सोमबार प्रदर्शन गर्दा पनि कुनै सुनुवाइ नभएपछि मङ्गलबारदेखि व्यापारीले पसल खोलेका हुन् ।
कपडा, जुत्ताचपल ,बिजुली, हार्डवेयर, पान गुट्कालगायतका पसल खुलेकाले मेनरोड र लिंकरोडमा मङ्गलबारदेखि अरु दिनको भन्दा चहल पहल पनि बढेको छ।
वीरगञ्जमा मङ्गलबार प्रहरीले पनि अरु दिनको जस्तो कडाइ गरेको छैन । लकडाउनको ७० औं दिन पुग्दा समेत सरकारले लकडाउनको विकल्प खोज्नुको सट्टा अझ १२ दिन लकडाउन थपेको भन्दै व्यापारीले अब लकडाउनलाई मानेर पसल बन्द गर्न नसकिने बताए ।
साढे २ महिनादेखि पसल बन्द हुँदा पसलको भाडा , कामदारको तलब , बैंकबाट लिएको ऋणको ब्याज तिर्न नसक्दा दिन दिनै ऋणको भार थपिदै गएको भन्दै उनीहरुले बालबच्चा समेत भोकै पर्ने अवस्था आएपछि पसल खोल्न बाध्य भएको बताए।
सोमबार वीरगञ्जमा गरिएको प्रदर्शनमा व्यापारीले सानो र मझौला व्यापारीको लागि राहत, पसलको भाडा मिनाहा, बैंक ब्याज, विद्युत महशुल, सटरभाडा र करमा छुटको माग पनि गरेका थिए ।
विद्युतीय व्यवसायी संघ पर्साका संस्थापक अध्यक्ष सिताराम सर्राफले भने, ‘सरकारले यदि पूर्णरुपमा पसल खोल्न पहल गरेन भने आन्दोलन पनि गर्छौं। ‘
वीरगन्जको माइस्थानका बिजुली पसले सन्तोष सर्राफले भने, ‘अढाइ महिनादेखि पसल व्यवसाय बन्द गरेर सरकारलाई सहयोग गरेकै हो , तर अब बन्द गर्न सकिन्न, त्यसैले सरकारले लकडाउनको विकल्प दिनैपर्छ।’
गत चैत ११ गतेदेखि निरन्तर रुपमा ३ महिनाको लकडाउनमा व्यापार, व्यवासाय सबै चौपट भएको भन्दै लकडाउनको विकल्प दिनुपर्ने सहित अब समाजिक दुरी कायम गरी पसल र बजार खोल्नुको कुनै विकल्प नगरहेको व्यापारीहरुको कथन छ ।
यता, जनकपुरमा पनि धनुषा चेम्बर अफ कमर्सले बजार खुल्लाको लागि गृह कार्य गरेको छ भने स्थानीय प्रशासनसँगको सहमतिमा बजार खोल्ने तर्फ केन्द्रीत हुने जनाइएको छ ।
समाचार श्रोतः यात्राडेली, २०७७ जेठ २० गते, मँगलबार |yatradaily.com
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…