महामारी नियन्त्रणका लागि 'P3CE' को अवधारणा उपयोगी हुनसक्छ
यदि छैन भने हामी के गर्छौ, हामीले जानेर मात्र हुदैन यो कुरा दैनिक जीवनमा पनि लागु गर्नुपर्छ ।
२०७७ जेठ १० शनिबार, बिहान ११:४५ बजे४ मिनेट पढाइ

अस्पतालमा रहुञ्जेल कुनै रोग निको हुन्छ । कुनै रोग घर आएपछि केहि दिनमा पुनः देखा पर्छ । केहि रोगमा लामो समयसम्म औषधि खानुपर्छ । कुनैमा मृत्यु स्विकार्नु पर्छ । तर, मलाई रोग लागोस् र म बिरामी भएर बाँचिरहनु भन्ने चाहना कसैको हुदैन । हामी स्वास्थ्य जीवन नै चाहन्छौ ।
तर, बेलाबेला लाग्ने रोग र महामारीले सताइरहन्छ । जसरी अहिले कोरोना महामारीले सताइरहेको छ । रोगहरु सरिरहेको छ, मान्छे मरिरहेको छ । यसबाट कसरी बच्ने भन्ने चिन्ता सबैलाई छ । केहि उदाहरण सहित महामारी नियन्त्रण कसरी गर्ने विषयमा विचार राख्दैछु ।
दुषित पानीले हैजा लाग्छ । अस्पतालमा रहुञ्जेल सफा पानी तथा खानेकुरा र पूर्ण औषधिले रोग निको हुन्छ । तर, घर आएपछि फेरी दुषित पानीको प्रयोग भयो भने रोग दोहोरिन्छ । सन् १८५४ मा जोन स्नोले हैजा र दुषित पानीको सम्बन्ध पत्ता लगाए । यो रोग भारतको बेंगालबाट सुरु भएको थियो । यो रोगबाट बच्न सफा पानीको प्रयोग पहिलो कुरा, अनि उपचार दोस्रो कुरा हो । सफा पानी पिउने काम आफ्नै हो, यसको लागि सरकारी सहयोग कुरिरहनु पर्दैन ।
त्यसैगरी एचआइभी भाइरस कसरी सर्छ भन्ने कुरा धरैलाई थाहा छ । राज्यले घरघर गएर यसको जाँच गरी खोज्नु र उपचार गर्नु भन्दा सचेत नागरिकले यो भाइरसलाई रोकथामका उपाय अपनाउँछन्, पीडित हुँदैन । तैपनि यो भाइरस लाग्यो भने चिकित्सकको सल्लाहमा औषधि लिनेगर्नु पर्छ । कण्डमको प्रयोग सरकारले गरिदिन्छ र म सुरक्षित हुन्छु भनरे सोच्नु गलत हो । आवश्यक बेलामा कण्डमको प्रयोग आफैले गर्ने हो । त्यस्तै अहिले महामारीबाट बच्न सामाजिक दुरी, मास्कको र पीपीइको उचित प्रयोग तथा हात धुने कार्य आफैले गर्ने हो । यसको लागि पनि सरकारलाई पर्खिरहनु पर्दैन होला । सरकारले नीति नियम बनाइदिने र सामाग्रीको उपलब्ध गरिदिने हो ।
नोबेल कोरोना भाइरस, एचआइभी र हैजा फरक प्रकृतिका हुन् । सबै पक्षसँग तुलना गर्न नमिल्ला तर, केहि हदसम्म माथि उल्लेखित तर्कले रोग रोकथाममा प्रष्ट हुन्छ कि भन्ने उदेश्य मात्र हो । हामीलाई थाहा छ, कोरोनाबाट बच्न सामाजिक दुरी कायम राखनुपर्छ । तर, तरकारी किन्ने पसलमा, औषधि पसलमा, गाडीमा यी नियम ब्यबहारमा लागु छ ? हामी भन्छौ हात धुनु, स्यानिटाइजर प्रयोग गर्नु तर, सोचौ पैसा कतिपय एटिएम तथा हरेक पसल अगाडी यी सुबिधा छ वा छैन । यदि छैन भने हामी के गर्छौ, हामीले जानेर मात्र हुदैन यो कुरा दैनिक जीवनमा पनि लागु गर्नुपर्छ ।
पीथ्रीसीइको अवधारणा के हो ?
हेल्थ प्रोमोशन : अधिकतम स्वस्थ्य लाभको लागि स्वस्थ्यकर उपायहरु दैनिक जीवनमा लागु गर्ने प्रक्रिया हो । जस्तो सन्तुलित भोजनमा जोड दिने, इमुयुनिटि शक्ति बढाउने, कन्ट्याक्ट ट्रयासिङमा सहयोग गर्ने आदि ।
प्रिभेन्सन : रोग लाग्ने कारक तत्व पहिचान र रोकथामका उपायहरु दैनिक जीवनमा लागु गर्ने जस्तै ः पटकपटक मिचीमिची सरदर ४० सेकेन्डसम्म हात धुने, तौल घटाउने, मास्कको उचित प्रयोग गर्ने आदि ।
प्रोटेक्सन : कुनै बायोलोजीकल, केमिकल तथा मेकानिकल तरिकाबाट रोग लाग्ने सम्भावनालाई कम गर्नु जस्तो खोप लगाउनु तथा पीपीइको सहि सदुपयोग गर्नु । कोरोनाबाट बच्न खोप पत्ता नलागुन्जेल कठिन छ । पत्ता लागेपनि हाम्रो देशको आम जनताले कहिले पाउँछन्, निश्चित छैन । तसर्थ, रोकथाममा जोड दिने । पीपीइ प्रयोग गरेकोहरुमा पनि रोग देखापर्नु राम्रो कुरा होइन । यसको सहि तरिकाले प्रयोग गर्ने ।
कन्ट्रोल एपिडेमिक : रोगिको बिस्तृत अध्ययन, संकास्पद तथा रोगीको खोजि, रगत जाँच, आइसोलेसन, क्वारेन्टाइन, माहामारी अध्ययन चरणको लागु गर्ने, होस्ट, एजेन्ट र वातावरण पहिचान गरि रोग सर्ने प्रक्रियालाइ रोक्ने ।
इन्करेज फर अर्ली ट्रीटमेन्ट : यदि रोगि भइसकेको छ भने रोग जटिल अबश्थामा पुग्नु अगाडी पूर्ण उपचार गर्न उत्प्रेरित गर्नुपर्दछ । अस्पतालबाट बिरामी नभागोस् । नियमित तरिकाले औषधी पुरा अबधि खाने गरि उत्प्रेरित गर्नु पर्दछ ।
माहामारी नियन्त्रण गर्न सर्वपक्षीय योगदानको जरुरि पर्छ । सरकारले जाँच र उपचार गर्ने तर जनताले दैनिक जीवनमा परिवर्तन नगर्ने हो भने महामारी नियन्त्रण हुँदैन । हामीले सिकेको कुरा ब्यबहारमा लागु गर्नुपर्दछ । कोरोना भाइरस पनि नयाँ र पीथ्रीसीइ पनि नयाँ तरिका भएकोले जनस्वाथ्यबिज्ञहरुसंग थप सल्लाह गरि प्रयोग गरे उपयोगी नै हुनेछ ।
के थाहा एचआइभी अनि हैजा जस्तै यों रोग पनि निर्मुल नहुने हो कि । त्यसैले पीथ्रीसीइको उचित प्रयोग गरि महामारी नियन्त्रण गरौं । हामी सबै मिलि स्वास्थ्य रहौं, आफु पनि बचौं र अरुलाई पनि बचाऔं ।
लेखक : सूर्य नारायण चौधरी कोशी हेल्थ एण्ड साइन्स क्याम्पस विराटनगरको जनस्वास्थ्य संकायका अध्यापक हुन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…