प्रदेश २ : पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टी
धनुषा जिल्लामा पनि जोखिमपूर्ण क्षेत्र र क्वारेन्टाईनहरु पहिचान गरी स्वाव संकलनका गर्ने कार्य अगाडि बढाइएको छ ।

२०७७ जेठ १ बिहीबार, बेलुकी ५:०५ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा थप ३ जना मानिसका कोरोना संक्रमण भएको पुष्टी भएको छ ।
प्रदेश नं. २ को समाजिक विकास मन्त्रालयद्धारा नियमित गरिने मिडिया ब्रिफिँगको क्रममा मन्त्रालयका सचिव एवम प्रवक्ता डा. राम प्रसाद घिमिरे सो कुरा बताएका छन् ।
मिडिया ब्रिफिँगको सारांश यस प्रकार छन् ।
जस अनुरुप पर्सा जिल्ला बीरगंज महानगरपालिका वडा नम्वर ८ का ३६ बर्षिय पुरुष तथा सोही नगरपालिका वडा नम्वर ३ को ३६ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टी भएको हो ।
त्यसैगरी पर्सा जिल्ला स्थित बीरगंज महानगरपालिका वडा नम्वर २ छपकैयाँ का ७४ बर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।
पर्सा जिल्लामा पछिल्ला दिनमा कोरोना संक्रमणको तीब्रता देखिएपछि कन्ट्याक ट्रेसिङ कार्यलयलाई पनि प्रभावकारी रुपमा कार्यान्वयन गरिएको छ ।
जसअनुरुप पर्सा जिल्लामा गत बैशाख ३० र ३१ गते कोरोना संक्रमण पुष्टी भएका ६० जना ब्यक्तिहरुलाई आधार बनाएर हालसम्म ३ सय ७० जनाको कन्ट्याक ट्रेसिङ गरिएको छ । कन्ट्याक ट्रेसिङ गरिएकाहरुको स्वाव संकलन गर्ने कार्य समेत सुरु भइसकेको छ ।
पर्सा जिल्लामा पिसिआर परिक्षण मार्फत प्रमाणित भएका कोरोना संक्रमितहरु मध्ये ६३ जना पुरुष र ८ जना महिलाको नारायणी अस्पतालको आईसोलेसनमा राखेर उपचार भइरहेको छ ।
यता, बीरगंज महानगरपालिका रहेको सिद्धार्थ क्वारेन्टाईन परिसरमा आइसोलेसन कक्ष निर्माण गरिएकाले कोरोना भाईरस संक्रमित १७ जनालाई सिद्धार्थ क्वारेन्टाईनको आइसोलेसनमा राखेर उपचार गरिएको जानकारी प्राप्त भएको छ ।
त्यसैगरी बीरगंज महानगरपालिका वडा नम्वरहरु क्रमष ३ र २६ का २ जना संक्रमितहरुलाई आईसोलेसन कक्षमा ल्याइँदै गरेको जानकारी प्राप्त भएको छ ।
बीरगंज स्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट हिँडेका बर्ष ४४ र २६ का २ जना कोरोना संक्रमितलाई पुन अस्पताल ल्याइएको छ ।
जसमध्ये दुध बिक्रबितरण गर्ने ब्यक्तिको मोटर साईकिल मार्फत धोबीनी गाउँपालिका पुगेका बर्ष ४४ का संक्रमित बिरामीको सम्पर्कमा आएका मोटर साईकिल चालक र उनका आफन्तका ६ जना परिवारका सदस्यहरुलाई धोबनी गाउँपालिकामा रहेको क्वारेन्टाईनमा राखिएको छ । अर्का बर्ष २६ का संक्रमित कसैको सम्पर्कमा नगएको खुल्न आएको छ ।
त्यसैगरी हिजो (बुधबार) नै धनुषा, महोत्तरी र सर्लाही जिल्लामा क्रमस दुई दुई र एक जनाको कोरोना संक्रमण पुष्टी भएकोमा धनुषा जिल्ला घर भएका २ जना र महोत्तरी जिल्ला घर भई धनुषा स्थित जनकपुर उपमहानगरपालिकामा बस्दै आएका १ जना बिरामीको केस हिस्ट्री संकलनगरी आवश्यक स्थानमा सिल गरिएको छ भने कन्ट्याक ट्रेसिङको कार्य अगाडि बढाईएको छ ।
महोत्तरी जिल्लामा पत्ता लागेका बर्ष १६ का कोरोना संक्रमित किशोर ईन्डियाबाट आफ्नो गाउँमा आई नपुगेको उसलाई सीमा क्षेत्रको क्वारेन्टाईनमा राखिएको खुल्न आएको छ ।
त्यसैगरी सार्लाही जिल्लामा पत्ता लागेका ४५ बर्षिय पुरुषको सम्पर्कमा आएका ३० जना ब्यक्तिहरुको हिजो नै स्वाव संकलन गरिएको छ भने उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।
प्रदेश नम्वर २ मा कोरोनाको संक्रणमा तीब्रता देखिएपछि स्वाव संकलनको दायरालाई अझै बढाउनु पर्ने आवश्यकता अनुसार काठमाण्डौंबाट स्वाव संकलनका लागि विशेष टोली प्रदेश नम्वर २ मा आईपुगेको र उक्त टोलीले ८ वटै जिल्लाहरुमा स्वाव संकलन गर्ने तयारी गरेको छ ।
सप्तरी जिल्ला स्थित गजेन्द्र नारायाण सिंह सगरमाथा अस्पतालमा स्वाव संकलनको कार्य भइरहेको छ भने छिमेकी मुलक भारतसँगको सिमा जोडिएका खडक नगरपालिका, राजगढ गाउँपालिका र तिलाठी कोइलाठी गाउँपालिमा तत्कालै स्वाव संकलन गर्ने योजना अगाडि बढाईएको छ ।
सिराहा जिल्लामा भारतीय सीमानाकाबाट लु्कीछिपी आउने क्रम बढेको गुनासोहरु प्राप्त भएका छन् । जसका कारण सिराहामा रहेका क्वारेन्टाईनहरुमा रहनेहरुको संख्यामाबृद्धि भएको छ ।
सिराहामा पनि सीमाक्षेत्र अन्तर्गत रहेका सिरााहा नगरपालिका, औरही गाउँपालिका, बरियारपट्टी गाउँपालिका र नबराजपुर गाउँपालिकामा तत्कालै स्वाव संकलन गर्ने योजना अगाडि बढाइएको छ ।
रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा पनि जोखिमपूर्ण क्षेत्र र क्वारेन्टाईनहरु पहिचान गरी स्वाव संकलनका गर्ने कार्य अगाडि बढाइएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…