कोरोना कहरले निम्त्याएका समस्याहरु
श्रमिकहरु प्रत्यक्ष रूपमा प्रभावित हुनेछन् भने अप्रत्यक्ष रूपमा प्रभावित हुनेको संख्या अझै भयावह छ ।
२०७७ बैशाख २५ बिहीबार, राति ८:०० बजे५ मिनेट पढाइ

विश्व अहिले कोरोना भाइरसको संकटबाट गुज्रिरहेको छ । चीनको वुहान राज्यबाट उत्पत्ति भएको भनिएको नोवेल कोरोना भाइरसले यो लेख तयार पार्दासम्म २ लाख ५० हजार भन्दा बढि मानिसको ज्यान लिइसकेको छ भने ४० लाख भन्दा बढी मानिस संक्रमित रहेको तथ्य विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को छ ।
यता हाम्रो देश नेपालमा भने भयावह अवस्था नभए पनि ९९ जना संक्रमित भइसकेका छन् र हामी कहाँ सुखद पक्ष के छ भने यहि भाइरसका कारण हालसम्म कसैले पनि ज्यान गुमाउनु नपरेको स्वास्थ्य मन्त्रालयको दावी रहेको छ ।
कोरोनापछि विश्वको स्थीती सामान्य नरहने विभिन्न विश्लेषकहरूको दावी रहेको छ । तर, ती असामान्य स्थीतीहरूको बारेमा चर्चा गर्नुभन्दा पहिले भाइरसको इतिहासको सामान्य चर्चा गर्नु उपयुक्त होला ।
कोरोना भाइरसको वास्तविक नाम हूमेन कोरोना भाइरस हो । यो कोरोना ऋयचयलबखष्चष्मबभ परिवार अन्तर्गत पर्दछ । सन् १९६० मा पहिलो पटक भेटिएको हूमेन कोरोना भाइरसको सात प्रजाती रहेको छ, HCV229E, HCV OC 43, SARC-COV, HCOV NL63, HCOV=HKUL, MERS-COV र अहिलेकाे SARS-COV-2 । यी सबै भाइरसहरूले पनि हजारौं मानिसको ज्यान लिएको थियो भने लाखौ संक्रमित भएका थिए र केहि देशहरूको असामान्य रूपले चुनौती दिने गरि प्रभाव पारेको थियो ।
अब कुरा गरौं यो अहिलेको SARC-COV-2 ले के कस्ता प्रभावहरू पार्ला । यो भाइरसको उत्पत्ति भएको केही दिनपछि देखि नै अधिकांश देशहरू कुनै न कुनै रूपमा लकडाउनको अवस्थामा छन् । करिब २ महिना देखि त लगभग पुरा विश्व नै लकडाउनमा छ । स्कुल, कलेज, उद्योग, व्यापार, राजनितीक भेटघाट सबै ठप्प रहेको अवस्थामा निश्चय नै विश्वको आर्थिक, राजनितीक, शैक्षिक, सामाजिक र वातावरणीय अवस्थामा निकै परिवर्तन आउने छ ।
इन्टरनेशनल मोनिटरी फन्डको भनाइ छ कि, कोरोना भाइरसको कारणले दुनियाँभरको अर्थव्यवस्थामा मन्दी आइसकेको छ । यो मन्दी सन् २००८ भन्दा खराब मन्दी मात्र हुनेछैन, बरू सन् १९३० को ग्रेट डिप्रेसन पछिको सबैभन्दा ठुलो मन्दी हुनेछ भन्ने धेरै अर्थशास्त्रीहरूको अनुमान रहेको छ । संकेतहरू पनि देखिन थालेको छ । उदाहरणका लागि फ्रान्सको कुल ग्राह्यस्थ उत्पादन -७% आएको छ । जुन फ्रान्सको इतिहासमा दोस्रो विश्व यूद्ध पछिको सबैभन्दा खराब स्थिती हो । त्यस्तै जर्मनीको सेकेन्ड क्वाटरको कुल ग्राह्यस्थ उत्पादन -१०% होला भनेर अर्थशास्त्रीहरूले अनुमान लगाइरहेका छन् ।
सन् २००८ को मन्दी र आजको स्थितीमा एक्दम आकास जमिनको फरक छ । सबै भन्दा ठूलो कुरा त के छ भने आज मानिसहरूले काम गरिरहेका छैनन् । २००८ को मन्दीको समयमा केही बैंकहरू पक्कै डुबेका थिए तर, मानिसहरूले काम निरन्तर गरि नै रहेका थिए । जसको फल स्वरूप विश्वको अर्थव्यवस्था तंग्रिएको थियो ।
आजको दिनमा धेरै जस्तो कम्पनीहरू “Work from home” को अवधारणा अबलम्बन गरेका छन् । नगरेकाहरू पनि यसै अवधारणा तर्फ उन्मुख छन् । तर, सोचेर हेरौं न एकदमै आकर्षक सुनिने यो अवधारणा अधिकतर उद्योग, कलकारखाना, सेवामुलक व्यवसायमा सम्भव नै छैन । उदाहरणका लागि खेल क्षेत्र, होटल रेष्टुरा, पर्यटन क्षेत्र, हवाइ क्षेत्र, मनोरन्जन क्षेत्र आदि ।
अहिलेको अवस्थामा क्रिकेट, फुटवल, टेवलटेनिस जस्ता खेलहरू की त रद्द गरिएका छन्, या त स्थगित गरिएका छन् । यहाँसम्म कि २०२० मा जापानमा हुने भनिएको टोकियो ओलम्पिक २०२१ को जुलाइ र अगस्तमाको लागि सारिएको छ । अब सोचेर हेरौं, यो खेलको महाकुम्भमा कती श्रमिकहरूको रोजगारी गासिएको थियो होला ? सयौं होइन हजारौंको संख्यामा श्रमिकहरु प्रत्यक्ष रूपमा प्रभावित हुनेछन् भने अप्रत्यक्ष रूपमा प्रभावित हुनेको संख्या अझै भयावह छ ।
अन्तराष्ट्रिय श्रम संगठनले अनुमान गरेको छ कि, विश्वको कुल श्रमिक मध्ये ३८% श्रमिक बेरोजगार हुनेछन् या त उनिहरूको तलब दिन बन्द गरिनेछ । यसको मतलब १ अर्ब भन्दा बढि कामदारहरू बेरोजगार हुनेछन् भने २.५ अर्ब भन्दा बढि कामदारहरू प्रत्यक्ष वा अप्रत्क्षरूपमा प्रभावित हुनेछन् । यसका केहि संकेतहरू देखिन थालेका छन् । उदाहरणका लागि “म्यारिएट” विश्वको सबैभन्दा ठुलो होटल कम्पनिले आफ्ना वरिष्ठ अधिकारीहरूको तलब ५०% ले कटौति गरिदिएको छ भने करिब दश हजार कामदारहरूलाई अस्थायी रूपले निकालिदिएको छ । त्यस्तै, टेस्लाले आफ्नो सम्पूर्ण कर्मचारीहरूको १०% तलब काटिदिएको छ भने नर्बेजियन एयरलाइन्स, स्क्यानेडेभियन एयरलाइन्सले पनि आफ्ना ९०% कर्मचारीलाई हटाई दिएको छ ।
केहि समयसम्म राज्यले सबै कोरोना संक्रमितहरूको उपचार समान र निःशुल्क रूपमा व्यवस्था गरेता पनि को कुन हदसम्म पीडित हुनेछ भन्ने कुरा पहिले देखि नै तय छ । भनिन्छ “कोरोनाले कसैलाई भेदभाव गर्दैन” । होला उसले आफ्नो तर्फबाट पहुँचमा रहेका सबैलाई बराबर धक्का हानेको तर, समाजले तय गरको हैसियत र भाग्यले निर्धारण गर्ने शरिर भित्रको प्रतिरोधात्मक शक्तीको आधारले निर्धारण गर्छ कि, को कत्ति जोडले पछारिनेछ ।
किनकी, हाम्रो जस्तो अविकसित भनौं या विकासोन्मुख देशमा व्यक्तीको सामाजिक, आर्थिक र राजनीतिक हैसियतलाई धेरै हदसम्म यो कुराले निर्धारण गर्छ कि उसको जन्म कुस्तो घरमा भएको छ । मानिस जन्मिसकेपछिको पहिलो एकहजार दिनले निर्धारण गर्छ कि, उसको बाँकीको जीवन कस्तो हुन्छ । यदि उसले ती दिनहरूमा पोषिलो खानेकुरा खान पाएको थिएन र उसको रोग विरुद्धको प्रतिरोधात्मक क्षमता बलियो छैन भने आज कोरोना संगको युद्धमा पक्कै पनि ऊ पराजित हुनेछ ।
सम्पन्न वर्गलाइ लकडाउन फाबेको छ, उसको घरको मुलढोका कोरोनाको लागि बन्द छ । तर, विपन्न वर्ग जो स्थानीय तहले बाडेको कुहिएको चामल र दालको भर पर्न नसकेर लुकिछिपी मजदुरी गर्न बाध्य छन्, के उसलाई कोरोनाको संक्रमण हुने खतरा सम्पन्न वर्गको जस्तै छ त ? पक्कै पनि उनिहरू उच्च जोखिमा छन् ।
तसर्थ, सरकारको ध्यान पार्टी फुटाउने खेल र आफ्नो सत्ता टिकाइरहने दाउपेच लगाउने बेवकुफी भन्दा पनि सरकारले कोरोना संक्रमणको उच्च जोखिममा रहेका वर्ग र असामान्य आर्थिक अवस्थाबाट अत्ति प्रभावित विपन्न वर्गको राहत र उद्धारमा ध्यान केन्द्रित गर्न अत्यन्त जरुरी छ ।
लेखक आभाष गुरु कानुन संकायमा अध्ययनरत छन् । उनी सिरहा गोलबजार निवासी हुन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…