सिरहामा राहत विषयमा झडप हुँदा १३ राउण्ड फायर, डिएसपीसहित ९ घाइते
वडाध्यक्षले एकलौटी र पूर्वाग्रही ढंगले राहत वितरण कार्य गरेको उनीहरुको आरोप छ ।

२०७७ बैशाख २२ सोमबार, दिउँसो १:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा राहत विषयमा झडप हुँदा प्रहरीले १३ राउण्ड फायर गरेको छ ।
मिर्चैया नगरपालिका–७ स्थित फूलबरियामा सोमबार दिउँसो साढे १२ बजेको समयमा वडा कार्यालयमै झडप भएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड हवाई फायर र ४ राउण्ड आश्रुग्याँस प्रहार गरेका हुन् ।
झडपमा परी ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तुप्रसाद जैसवारसहित ५ जना प्रहरी र चार जना स्थानीय गरी ९ जना घाइते भएका छन् । झडप नियन्त्रण गर्न प्रहरीको टोलीसहित पुगेका डिएसपी जैसवारको हातमा र बाँकी ४ प्रहरीलाई सामान्य चोट लागेको छ ।
स्थानीय चार जनाको भने मिर्चैयास्थित एक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था पनि सामान्य नै रहेको प्रहरीले जनाएको छ । लकडाउनबाट समस्यामा परेका गरिब विपन्नहरुलाई बायकाट गरेको र राहत पाउनेको सूचिमा धनीको नाम समावेश गरिएको भन्दै विवाद भएको हो ।
राहत नपाएका स्थानीयहरुले राहत माग्दै वडा कार्यालय परिसरमा धर्ना दिएपछि प्रहरीको सहयोगमा राहत वितरण सकेर जान लाग्दा वडाध्यक्षसहित जनप्रतिनिधिको समूहमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि झडप भएको डिएसपी जैसवारले बताए । झडप उग्र बनेपछि नियन्त्रणमा लिन हवाई फायर र आश्रुग्याँस प्रहार गर्नुपरेको उनले बताए ।
हवाई फायर र आश्रुग्याँस प्रहार गरेर झडपलाई तितरवितर पारिएको सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेर्दीले जानकारी दिए । ‘झडपले ठूलो रूप लिन थालेपछि प्रहरीले हवाई फायर र आश्रुग्याँस नै प्रहार गर्नुपर्यो, ढुंगाले लागेर सुरक्षाकर्मी नै घाइते भएपछि बल प्रयोग गर्न बाध्य हुनुपर्यो’, एसपी चतुर्वेर्दीले न्यूज ब्यूरोसँग भने । अहिले यहाँको अवस्था सामान्य भइसकेको उनले बताए ।
वडाध्यक्ष रामकुमार यादवले एकलौटी र पूर्वाग्रही ढंगले राहत वितरण कार्य गरेको उनीहरुको आरोप छ । यसअघि विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिसहित स्थानीयहरुले वडा कार्यालय घेराउ र कार्यालयमा धर्नासमेत दिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…