लकडाउन,ज्याला मजदुरी र मेरो 'छिमेकी'
वास्तवमा अहिले धेरै मानिसहरुले यस्तो समस्या भोगिरहेको हामीले देखेका छौं ।
२०७७ बैशाख १३ शनिबार, बिहान ११:४७ बजे४ मिनेट पढाइ

“हातको मैलो सुनको थैलो के गर्नु धनले, साग र सिस्नो खाएको बेस आनन्दित मनले” माहाकवि लक्ष्मी प्रसाद देवकोटाद्धारा रचित यी उक्ति निकै प्रसिद्ध र अर्थपूर्ण रहेको छ । यसको मुल सन्देश जिवनमा आनन्द लिएर बाँच्नु हो । सुनैसुनको महल भएपनि यदि आनन्द र खुसी छैन भने यसको अर्थ केहि रहदैन ।
केहि दिन अगाडि एक मित्रसँग भेट भो । मैले सोधे के छ हालखवर ? वहाँले भन्नुभो ज्याला मजदुरी गरेर छाक टार्दै थिए तर अहिलेको अवस्था फरक छ । वेरोजगार छु न रिक्सा चलेको नत ठेला । न जागिर छ नत गरिखाने जमिन छ । हात मुख जोर्न पनि धौ–धौ छ । यो कुराले म स्तब्ध भए र साथीलाई केहि सहयोग गरे । वास्तवमा अहिले धेरै मानिसहरुले यस्तो समस्या भोगिरहेको हामीले देखेका छौं ।
अहिले कोरोना माहामारीको कारण धनी, गरिव सवैको खुसी र आनन्द खोसिएको छ । कसैको आमा,कसैको वुवा, कसैको श्रीमान त कसैको श्रीमती । यतिमात्र नभइ कसैको त सम्पुर्ण परिवार नै सखाप भएको छ । जाने त गइसक्यो तर बाँच्नेलाई कति पीडा छ । नरनाता, आफन्त कोइ संक्रमित भयो भने नजिक गएर सहानुभूति पनि व्यक्त गर्न पाइदैन ।
यतिमात्र होइन माहामारीले गर्दा दाहसंस्कार समेत गर्न पाइएको छैन । माहामारी अति नै प्रलय र विनासकारी हुन्छ यो हामी सवैले मनन गरिसकेकाछौं । मनमा तनाव छ । कोरोनाको त्रास अनि लकडाउनको वाध्यताले घरभित्रै सिमित हुनपरेको अवस्था छ । आखिर कहिले अन्त्य हुन्छ यो सव ? कहिले मानिसले चैनको साँस र्फेन पाउँछ ?
माहामारी र लकडाउनले विश्वको अर्थतन्त्रलाई नै असर पारेको छ । दैनिक क्रियाकलाप तथा व्यवहारिक गतिवीधिहरु पनि अनियमित भएकोछ । कोहिलाई मोटाउने डर त कोहिलाई भोकमरीको डर ।विश्व स्वास्थ्य संगठन अनुसार फेव्रुअरी २०१८ सम्म ४६२ मिलियन व्यक्ति कम तौलका छन् भने १.९ विलियन मोटोपन र ४९ मिलियन ५ वर्ष मुनिका बच्चाहरु कम तौलका छन् ।
डेमोग्राफी हेल्थ सर्वे नेपालको अनुसार ३६ प्रतिशत ५ वर्ष मुनिका वालबच्चाहरु कुपोषित रहेको छ । यदि यस्तै अवस्था रहनेहोभने कुपोषित र मोटोपन अझै बढ्नेछ । एउटा भनाई पनि छ “कोहि खान नजानेर मर्छ त कोही खान नपाएर मर्छ ।”सन्तुलित भोजन नखाएर मोटोपन तथा कुपोषण जस्ता समस्या बढ्दैछ । खान नपाउनुको अर्थ गरिवी वा उपलव्ध नहुनु हो । त्यसैले नियमित व्यायाम, संतुलित भोजन नै स्वस्थ्य हुने अति उत्तम उपाय हो ।
गरिवीको परिभाषालाई काल माक्र्सको उत्पादनसंग जोडेर हेर्दा उत्पादनको अर्थ भौतिक सम्पत्ति वा पूँजी हो । जसको घरमा पूँजी छैन र उत्पादनको स्रोत छैन उ गरिव वर्गमा पर्छ । अहिलेको प्रमुख समस्या भनेको माहामारी अन्त्य गर्ने हो । सरकारले जारी गरेको लकडाउन माहामारी नियन्त्रण गर्ने एउटा उत्तम उपाय हो तर दैनिक ज्याला मजदुरी गर्ने परिवारको लागि जीवन धान्नु कठिन छ जसको पुजी वा उत्पादको स्रोत न्युन छ ।
घरबाहिर जाँदा रोग सर्ने डर, नजाँदा भौकै बस्ने समस्या त्यसैले बाध्यतामा मानिसले भन्छ “मर्नु भन्दा वौलाउनु राम्रो” तर एक चोटी शान्त भएर सोचौं त जसको घरमा वा छरछिमेकमा मानसिक रोगी छ, उसको अवस्था कस्तो होला । मानसिक रोगी घरमा बस्न मान्दैन, डुलिरहन्छ अनि संक्रमण हुने जोखिम पनि उसैलाई छ साथै परिवार तथा छरछिमेक पनि जोखिममा पर्ने देखिन्छ ।
नेपाल हेल्थ रिसर्च काउन्सीलमा प्रकाशित भएको ३ वटा जिल्लामा गरेको अनुसन्धानले १३.२ प्रतिशत १३ वर्ष भन्दा माथिकालाई मानसिक असन्तुलन देखाएको छ । नेपालभरी १८ प्रतिशत नसर्ने रोगहरु मानसिक रोगको कारणले हुन्छ भनेर अनुमान समेत गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणले देखाएको छ । लकडाउनमा गरिवीको समस्या त छदैछ साथै मानसिक रोगीहरु प्नि ठुलो चुनौतिको रुपमा देखिएको छ ।
सरकार तथा संघ–सस्थाले जनतालाई राहत बाँडेको छ तर यो राहत लकडाउन अवधीको लागि पर्याप्त छैन । दैनिक ज्याला मजदुरी गर्न घर वाहिर जान नदिनेहोभने लकडाउन अवधी भरी राहत दिनुपर्ने हो । सरकारले असारे विकासको आडमा पानीमा बगाउने बजेटको केहि अंश लकडाउन अवधीभर पुग्नेगरी राहतको नाममा खाद्यान्न उपलव्ध गराउन् । अव आउनेदिनमा आर्थिक वर्षको शुरुवात वैषाखमा होस भन्ने चाहन्छु ।
लकडाउनले गर्दा विश्व नै प्रभावित भएको छ । यसले विभिन्न क्षेत्रका प्रभाव पारेको छ । समग्र मानव जिवननै प्रभावित भएको छ । देश विदेशबाट आफ्ना मातृभूमि समेत आउन पाएको छैन । यसले सामाजिक,आर्थिक,धार्मिक तथा सांस्कृतिक, पर्यटन,शैक्षिक गतिवीधि,संस्थागत गतिवीधिहरु,वेरोजगार,भोकमरी,यातायात,खेलकुद,उद्योग तथा कलकारखाना,स्वास्थ्य सुविधामा लगायत समग्र आर्थिक प्रणालीमै प्रभाव पारेको छ ।
हामी सामाजिक प्राणी हौं । समाजमा मिलेर बसेका छौं । त्यसकारणले एकआपसमा सहयोगको भावना राखी एकले अर्कालाई सहयोग गर्ने वेला आएको छ । मेरो विचारमा छरछिमेकमा रहेका अति विपन्न तथा असाहयहरुलाई सहयोग गर्नु हाम्रो मानवता हो । हाम्रो छरछिमेकमा कोहि भुका नरहुन् ।
सबैले हातेमालो गरी सुख दुख बाड्न प्रयास गरौं । मानवीय भावना कायम राख्दै अन्न तथा खद्यान्न वस्तु कुहिनु,विग्रनु र फाल्नुभन्दा दीन दुःखी तथा असाहयहरुलाई अन्न दान गर्दा दिने र लिने दुवैलाई भलो हुने छ ।
जसरी सुगन्ध विना सौन्दर्यको महत्व हुदैन, त्यसरी नै आनन्द विना जिवनको महत्व हुदैन । सरकारको नीति नियम र आदेशको पालना गर्दै, साग र सिस्नो खाँदै आनन्दले वाँचौ, भिडभाडमा नजाऔं त्यसैले भन्छ “अनिकालमा विउ जोगाउनु अनि हुलमुलमा ज्यान जोगाउनु ।” अहिले हामीलाई ज्यान र विउ दुवै जोगाउनु छ । यो कार्यका लागि माहामारी रोकथाम, नियन्त्रण र उपचार प्रक्रियामा पूर्ण सहयोग गरी माहामारीलाई जितौं ।
सुर्य नारायण चौधरी
त्रियुगा नगरपालिका गाईघाट,उदयपुर ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…