नेकपामा हलचल : प्रचण्डद्वारा नेताहरुसँग छलफल तीव्र
प्रधानमन्त्री ओलीले पार्टी फुटे फुटोस् भन्ने तरिकाले अध्यादेश ल्याएको अधिकांश सचिवालय सदस्यहरुको बुझाइ छ ।

२०७७ बैशाख १० बुधबार, बिहान ८:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा छलफल नगरी दीर्घकालीन महत्वको दुई वटा अध्यादेश ल्याएपछि त्यसबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केही प्रमुख नेताहरुसँग छलफल र परामर्श तीव्र पारेका छन् ।
मंगलबार प्रचण्डले सचिवालयका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र महासचिव विष्णु पौडेलसँग टेलिफोनमा छलफल गरेका हुन् । सचिवालयका नेताहरुले भने पार्टीलाई दुर्घटनामा जान नदिन प्रचण्डसँग आग्रह गरेको स्रोतले बताएको छ ।
मंगलबार बिहानै उनले आफ्नै निवास खुमलटारमा केही स्थायी समिति सदस्य र प्रभावशाली केन्द्रीय सदस्यहरुसँग भेट गरेका थिए । खुमलटार पुगेका नेताहरूसँग प्रचण्डले सुरुमा सचिवालय बैठकको प्रसंगबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीले पार्टी फुटे फुटोस् भन्ने तरिकाले अध्यादेश ल्याएको अधिकांश सचिवालय सदस्यहरुको बुझाइ छ । प्रचण्डले प्रधानमन्त्री ओलीको कदमबारे सचिवालय सदस्यमाझ साझा धारणा बनाउने प्रयास गरेको ती नेताको भनाइ थियो ।
नेकपाका नेताहरुले स्थायी समिति बैठक तत्काल बोलाउन माग गरेका छन् । तत्काल स्थायी समितिको बैठक बोलाएर पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी गराउनुपर्ने विषयमा छलफल गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…