कोरोनाको कहर विश्वको लागि पहिलो महामारी होइनन
पुर्व बिशिष्टहरुको सेवा सुबिधामात्रै कटौती गर्ने हो भने पनि देशले अर्बौ रुपिया बचाउन सक्छ ।
२०७७ बैशाख १ सोमबार, बिहान ९:०८ बजे४ मिनेट पढाइ

विभिन्न पत्र पत्रिका अध्यन गर्दा एवं सामाजिक संजालमा देखे अनुसार मानव समाजमा कोरोना भाइरस कोभिड–१९ को महामारी नै पहिलो भने होइन ।
सन् १६५ मा आएको एन्टोनाइन्प्लेग महामारी देखि सन् २०१९ डेसेम्बेर मा आएको कोरोना भाइरस (कोभिड–१९) महामारीमा हालसम्म अनुमानित करिब ३५–४० करोड मानिसको विश्वमा मृत्यु भैसकेको छ ।
महामारिहरु मध्ये सबैभन्दा बढी मानिसको मृत्यु भने सन् १३१४ मा आएको बुबोनिक प्लेग नामक महामारीमा करिब २० करोड मानिसको मृत्यु भएको तथ्यांकमा देखाइएको छ ।
तर सन् १३१४ तिर विश्वमा प्रविधिको विकास हाल जस्तो भएको थिएन । जनचेतना, शिक्षा आदि इत्यादिको विकास पनि हाल झैँ भैसकेको थिएन तथापी त्यस्तो समयमा २० करोड मानिसको मृत्यु हुनु र अहिले संसार नै प्रविधियुक्त युगमा ढलिसकेको अबस्थामा १ लाख भन्दा बढी मानिसको मृत्यु हुनु भनेको संसारलाई नै जितेको उद्घोष गर्ने मानव जातिलाई नै सर्बाधिक कठिन मोडमा ल्याइपुर्याएको भान हुन्छ ।
अहिले विश्वको २१० देश पूर्ण रुपमा यस (कोभिड–१९) महामारीबाट प्रताडित छन् ।आर्थिक ह्राश त छदैछ पुरा विश्वमै ,तर मानवमा जीवित रहने कि नरहने भन्ने भयले छुट्टै असमंजसता सृजना गरेको छ । बाल्यकालदेखि अहिलेसम्म मैले देश लकडाउन भन्ने पहिलोपटक अनुभव गरेको छु ।
कति पटक आन्दोलन,बन्दि हड्ताल देखे तर लकडाउनभन्ने मेरो र सायद कयौ को पहिलोपटक नै अनुभव होला । अहिले यस्तो परिस्थिति छ कि मानौ करिब करिब विश्व नै ठप्प रहेको अवस्था छ ।
विश्वभर नै यस महामारीले एउटा आतंक सृजना गरेको छ , महामारीले मान्छे बाट मान्छे नै डराउनुपर्ने स्थिति सृजना भएको छ ।
मानवले यतिबेला पिंजडाको सुगा झैँ जीवन निर्वाह गर्नुपरिरहेको छ र अझै कति दिनसम्म गर्नुपर्ने हो त्यसको ठेकान छैन, सबैथोक मौनताको आवरणभित्र छोपिएका छन् ।
हुँदा हुँदा सामाजिक संजालमा घरपालुवा जनावरहरुलाई पनि कतै कतै मास्क लगाएको दृश्य देख्दा झन् मन आक्रान्त हुन्छ । मोबाइल फोन मा कोरोना रिंग टोन, बीच बिचमा कोरोना मेसेज, समाचार पढ्दा शुरुमै हालसम्म भएका मृत्युको अपडेट आदि हेर्दा मन झनै बिचलित हुन्छ ।
मजदुर वर्ग यस महामारीमा भन्दा पहिले भोकले नै बाल बच्चा सहित मर्ने भन्ने असमंजसतामा बाचिरहेका छन् ।
अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी आफुनै पहिला महामारी बाट संक्रमित हुने हो कि भन्ने भयमा काम गर्दै छन् । कोरोना भाइरस (कोभिड–१९) महामारीले लकडाउन बाध्यकारी अवस्था बनेको छ ।
राहत वितरणमा संघ, प्रदेश र स्थानीय सरकार एकले अर्कोलाई औला देखाउदै जनता बीच बच्न खोजिरहेको भान हुन्छ र समन्व्यको अभाव महसुश हुन्छ ।
यस महामारीको जोखिमको कारण लकडाउनको विकल्प छैन ,यो आवश्यक छ भन्ने पुरा विश्वले नै स्वीकारेको अबस्था छ ।
विश्वको धनि देश अमेरिकामा पनि यस महामारीले गर्दा भेन्टिलेटर अभाव भएको छ भने हाम्रो देश को त कुरै छोडौ साबधानी बाहेक अरु कुनै उपाय छैन ।
यस महामारीले युवराज, युवराज्ञी ,प्रधानमन्त्री, मन्त्रि, मेयर लगायत थुप्रै पदमा भएका व्यक्ति समेतलाई बाकि राखेनन् ।
तर बिपन्न बर्गहरु महामारी बिरुद्ध लड्नु भन्दा पनि दैनिक काम गरि छाक टार्ने बाध्यतामा बाच्नेले राहतको पर्खाइमा दिन गुजार्नु बाहेक अरु कुनै बिकल्प देखेका छैनन् ।
यी चरम निराशाका बिच यो संकटले मानवजातिलाई नै आफ्नो अस्तित्वको अन्त्य गर्न आफैले बनाएको मेसिनबारे पुनर्विचार गर्न घच्घच्यारहेको जस्तो पनि महसुश हुन्छ ।
मानवजातिले प्रकृतिप्रति गरेको अन्याय र ज्यादतिको मूल्य अहिले चुकाउदै छ । हुन त नेपाल अहिले यस महामारीको दोस्रो चरण मा छ भन्ने सामाजिक संजालमा देख्ने गरेको छु तर छिमेकि देश जुन हाम्रो देशको तिन दिशाबाट जोडिएको छ त्यहाँ भने तेश्रो चरण मा महामारी आइसकेको हुदा हामि ज्यादै नै सचेत हुने अवस्था आएको छ ।
हालसम्म यस महामारीबाट एकै दिनमा २००० भन्दा बढीको मृत्यु संसारकै धनि देश अमेरिकामा भएको छ भने हालसम्म अमेरिकामा करिब २१००० को मृत्यु भैसकेको छ ।
अहिले संघिय सरकार, प्रदेश सरकार, स्थानीय सरकार त्यसमा पनि ६ महानगरपालिका , ११ उपमहानगरपालिका, २७६ नगरपालिका , ४६० गाउपालिका , ७७ जिल्ला समन्वय समिति र ६७४३ वडा छन् तर एक आपसमा समन्वयको अभावले एकले अर्कालाई दोष देखाउनु बाहेक अरु केहि देखिन्दैन ।
चुनाबका बेला यी सबै जनप्रतिनिधि घर घरमा पुग्छन तर अहिले यी सबै आ आफ्नै ज्यानकै लागि बढी चिन्तित देखिन्छन । संघिय सरकारले विभिन्न स्वास्थ्य सामाग्रीहरु प्रदेशको मातहतमा पठाइसकेको जानकारी गराउछन् तथापी स्वास्थ्यकर्मीहरु हालसम्म उपलब्ध नभएको गुनासो गर्दैछन ।
गरिबहरुलाई राहतको निम्ति नामावली संकलन गर्ने जिम्मा स्थानीय निकाय मार्फत वार्ड वार्ड को जिम्मा दियिएको छ तर अहिलेसम्म सम्पूर्ण नामावली एकत्रित हुन सकेको छैन ।
जीवन सुरक्षाका लागि सरकारले भरपर्दो योजना र कार्यक्रम नल्याएको भन्दै निजि अस्पतालहरु (कोभिड–१९) संक्रमितको उपचारमा हच्केका छन् । अन्य रोगका बिरामीले समेत निजि अस्पतालमा उपचार नपाउने अवस्था छ ।
छिमेकि देश भारतमा भने रास्ट्रपति, उप रास्ट्रपति , प्रधानमन्त्री , मन्त्रि, राज्यपाल, उप राज्यपाल र सबै सांसदको ३०% रकम कटौती गरिएको छ र संसद विकास कोष पनि २ बर्षको लागि निलम्बन गरिएको छ तर हाम्रो देशको सरकार अहिले पनि विचाराधीन अबस्थामै छ ।
पुर्व बिशिष्टहरुको सेवा सुबिधामात्रै कटौती गर्ने हो भने पनि देशले अर्बौ रुपिया बचाउन सक्छ ।
यी सबै असमंजसता ,असहजता र अक्रान्तमा दैनिकी गुजार्दै कोरोना को कहरमा बाच्नुपरिरहेको छ र अझै कति दिन ,हप्ता वा महिनासम्म बाच्नुपर्नेहो त्यो पनि असमन्जस छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…