कोरोना रोकथामका लागि प्रदेश २ सरकारलाई सांसद साहको १३ सुझाव
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ प्रदेश सभाका नेकपा सांसद दिलीप कुमार साहले कोरोना रोकथामका लागि प्रदेश २ सरकारलाई १३ वटा सुझाव दिएका छन् । भाइरस संक्रमितको संख्या विश्वव्यापी रुपमा बढ्दै गएको र नेपालमा समेत जोखिम बढ्दै गएको भन्दै सांसद साहले एक सुझाव पत्र लेख्दै प्रदेश सरकारलाई प्रभावकारी तरिकाले

२०७६ चैत ३० आइतबार, दिउँसो ४:५२ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ प्रदेश सभाका नेकपा सांसद दिलीप कुमार साहले कोरोना रोकथामका लागि प्रदेश २ सरकारलाई १३ वटा सुझाव दिएका छन् ।
भाइरस संक्रमितको संख्या विश्वव्यापी रुपमा बढ्दै गएको र नेपालमा समेत जोखिम बढ्दै गएको भन्दै सांसद साहले एक सुझाव पत्र लेख्दै प्रदेश सरकारलाई प्रभावकारी तरिकाले लाग्न सुभाव दिएका हुन् ।
प्रदेश २ सरकारलाई सांसद साहले बुझाएको सुझाव पत्र जस्ताको त्यस्तै :
माननीय मुख्यमन्त्री ज्यू, प्रदेश नम्बर २
जनकपुरधाम, नेपाल
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमणले विश्वभरीका मानव जाति त्रसित रहेको बेला सबै अन्तरविरोध गौण रहेका छन् । कोरोना विरुद्ध जनताको संघर्ष नै प्रधान र निर्णयाक रहेको छ । यस प्रलयकारी महामारीसंग जनताको संघर्षमा जनताको जिवन रक्षा गर्नु नै सरकारको मुख्य दायित्व हो । प्रदेश २ को सरकारले कोरोना भाईरस नियन्त्रण गर्न प्रभावकारी भुमिका खेल्नु अति आवश्यक छ । प्रदेश २ का अधिकांश वेरोजगार युवाहरु कामको सिलसिलामा बिदेशमा रहेकाहरु कतिपय घर आएका छन् र कतिपय भारतमा काम गर्न गएकाहरु पनि आइरहेका छन् । यसरी हेर्दा प्रदेश नम्बर २ यस भाइरसले उच्च जोखिममा रहेका हुनाले यसको व्यवस्थापन पनि त्यहि हिसाबले गर्नु पर्ने आवश्यकता देखिन्छ । यता, लकडाउनको घोषणाले दैनिक ज्यालादारी मजदुर तथा विपन्न परीवारहरुलाइ व्यवस्थापन गर्नु नै मुख्य कुरा हो । यस सन्दर्भमा प्रदेश सरकारलाई निम्न बुँदागत सुझाव दिन चाहन्छु ।
नीतिगत :
१. प्रदेशभरीको समन्वय गर्न एउटा अधिकार सम्पन्न वा उच्चस्तरीय समिती गठन गर्नुपर्ने ।
२. कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने स्रोत र सामाग्रीको आपूर्ति गर्न प्रदेश सरकारले स्पष्ट नीति तयार गरी सहजता ल्याउने ।
३. मुलुकभरी जारी लकडाउनको सफल कार्यान्वयन गर्न प्रदेश सरकारले समन्वयकारी तथा प्रभावकारी भूमिका निर्वाह गर्न स्पष्ट नीति बनाउने ।
४. ज्यालादारीमा आश्रित असहाय, गरीब विपन्नका लागि राहत वितरण गर्न स्पष्ट नीति निर्माण गर्ने ।
५. जनसंख्या तथा जोखिमको हिसाबले आवश्यक क्षमताको कोरोना विषेश अस्पताल, आइसोलेसन, क्वारेन्टाइन निर्माणबारे स्पष्ट नीति हुनुपर्ने ।
कार्यक्रमगत :
१. रोगलेभन्दा पहिला भोकले मर्ने चिन्ता छ, तर प्रदेश सरकारको त्यतातिर ध्यान गएकै छैन । सर्वप्रथम सवैलाई खाद्यान्नको व्यवस्था गर्नेतिर केन्द्रित हुनुपर्छ । गरिब विपन्नका लागि राहत तथा सहायता उपलब्ध गराउने ।
२. प्रदेशभर रहेको सानो ठुलो अस्पताललाई स्रोत साधन उपलब्ध गराई स्थानीय तहलाई सशक्त बनाउनु पर्नेमा प्रदेश सरकारले स्थानीय तहलाई सम्पूर्ण रुपमा केन्द्रीत गराउँदा काम फितलो भएकोले यसलाई व्यबस्थित गर्ने ।
३. आइसोलेसन वार्डको लागि चाहिने भेन्टिलेटर, कार्डियक मनिटर, पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) गाउन, मास्क, टोपी, पञ्जा, इन्फ्रारेड थर्मामिटर लगायतका सामानको चरम अभाव रहेकोले तत्काल आपूर्ति गर्ने ।
४.सर्वसाधारण समेतलाई कपडाको मास्क, सामान्य बिरामीको जाँचमा सहभागी हुनेलाई पञ्जा र सर्जिकल मास्क तथा कोरोनाको बिशेष उपचारमा संलग्न हुने चिकित्सकलाई एन १५ मास्क तथा पीपिई प्रयोग गर्न सुझाउने तथा उपलब्ध गराउने ।
५. चिकित्सकीय सामग्रीको प्रयोगदेखि सामग्रीहरुको उपलब्धता, कोरोना संक्रमितहरुको उपचारमा संलग्न हुने चिकित्सहरुको सुरक्षा, प्रोत्साहन भत्ता र विशेष अस्पतालको निर्माण गर्ने ।
संरचनागत :
१. उच्चस्तरीय समिती गठन गरि जिल्ला तथा स्थानीय तह तथा प्रशासनसंग समन्वय गर्ने ।
२. प्रदेशसंग उपलब्ध स्रोत र साधन प्रयोग गर्न, स्वास्थकर्मी लगायतका जनशक्ति प्रयोगामा सबै संरचना प्रयोग गर्ने ।
३. (संघीय) परराष्ट तथा गृह मन्त्रालयसंगको सहकार्यमा (प्रादेशिक) आन्तरिक मामिला मन्त्रालयले सीमावर्ती क्षेत्रमा लुकिछिपी भइरहेको आवतजावतमा पूर्ण रुपले नियन्त्रण गर्ने ।
ज्ञातवयः कोरोना नियन्त्रण सम्बन्धमा प्रदेश २ सरकारले अहिलेसम्म गरेका निर्णयहरु पूर्ण रुपले अपरिपक्व रहेको छ । तसर्थ, प्रदेश सरकारलाई गम्भीर भई कुनै पनि निर्णय लिन ध्यानाकर्षण गराउन चाहन्छु । धन्यवाद ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…