लकडाउनमा मिर्चैयाको तरकारी बजारमा चरम लापरवाही
नगरपालिकाले चासो नदिँदा नगरवासीहरु जोखिममा पर्नसक्ने त्रासमा छन् ।

२०७६ चैत २९ शनिबार, बेलुकी ७:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले देशव्यापी लकडाउन गरेको छ ।
संघीय, प्रदेश र स्थानीय तहका सरकारहरुले नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र भीडभाड नगर्न अपिल गरेका छन् । सञ्चारमाध्यमहरुले पनि कोभिड–१९ को संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीबारे नागरिकलाई सूचित गरेकै छन् ।
यति हुँदा पनि सिरहाको मिर्चैयास्थित तरकारी बजारमा भने लापरवाही देखिएको छ । मिर्चैया नगरपालिकाको कार्यालय नजिकै शनिबार लागेको बजारमा उपभोक्ता र व्यापारीको अव्यवस्थित भीड देखियो ।
जबकी, तीनै तहका सरकारले भीड नगर्न र कम्तीमा तीन फिट दुरी कायम गरेर बस्न÷किनमेल गर्न भनेको छ । नगरपालिकाको कार्यालय सामुन्ने नै सञ्चालित तरकारी बजारमा भने कोभिड–१९ को संक्रमणबाट जोगिन अपनाउनुपर्ने कुनै सावधानी अपनाइएको छैन । बरु जोखिम निम्तिने गरी उपभोक्ता र ब्यापारीको भीड लगाइएको छ ।
त्यस क्षेत्रको ठूलो बजार मानिने मिर्चैया बजार बुधबार र शनिबार लाग्छ । लकडाउनअघि यो बजार नगरपालिकाको उत्तरपट्टीको बजार कम्पाउण्डमा लाग्थ्यो । तर, लकडाउनपछि नगरपालिकाको दक्षिण साइडमा लाग्दै आएको छ ।
लकडाउनमा अरु माध्यम अपनाएर उपभोक्ता बजार आउन नपर्ने व्यवस्था मिलाउनु पर्नेमा नगरपालिकाले चासो नदिँदा नगरवासीहरु जोखिममा पर्नसक्ने त्रासमा छन् ।
‘संभावित जोखिम र संक्रमण रोक्न कुनै चासो दिइएको छैन, सावधानीका उपाय अवलम्बन गरिएको छैन’, राजपाका नगर अध्यक्षसमेत रहेका अंजय साहले भने, ‘स्थानीय सरकारको चरम लापरवाही भएको छ, यस्तो लापरवाही तत्काल नरोक्ने हो भने नगरवासी जोखिममा पर्छन् ।’
नगरपालिकाले यसबारे तत्काल कदम चाल्नुपर्ने स्थानीयहरुको भनाई छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…