जनकपुरः भारतबाट खेतैखेत यसरी रातराती छिर्छ नेपाल, प्रहरी अपुग ?
सँक्रमितको सँख्या ९ पुगेको छ जसमा भारतबाट आएका व्यक्तिमा पनि सँक्रमण देखिएको पुष्टि भएको छ ।

२०७६ चैत २३ आइतबार, बिहान ८:२४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा शनिबार कोरोना सँक्रमणको सँख्या ९ पुगेपछि सरकारले लकडाउनलाई थप कडाई गरेको छ ।
तर, धनुषाको खजुरी नाकाबाट रातराती आम नागरिकहरु नेपाल पस्ने गरेको छ । यहाँसम्म की दैनिक उपभोग्य वस्तुको लागि पनि सर्वसाधारणहरु खेतको बाटो भएर सीमा पार गर्ने गरेको छ ।
सीमामा भारतको विहार सीमासँगै रहेका गाउँहरुबाट रक्सी सेवनको लागि खेतैखेतको बाटो भएर नेपाल छिर्ने गरेको छ भने यहाँबाट दैनिक उपभोग्य वस्तुको लागि सस्तो पर्ने गरेको भन्दै त्यही बाटो प्रयोग गरी निर्वाध आवतजावत गरेको देखिएको छ ।
खजुरी र इनरवा नाकाबाट रातराती भारतबाट नेपाल छिर्ने गरेको स्थानीयहरु बताउँछन् । नजिकै रहेको ईलाका प्रहरी कार्यालय खजुरीसँग जनशक्ति कम भएको कारण आवतजावतको शिलशिला रोक्न असमर्थ भएको देखिएको छ ।
खजुरी, इनरवा, नवटोली, महुवा, महिनाथपुर नाकाबाट राती खुल्ला सीमाका कारण निर्वाध रुपमा चोर बाटो भएर भारतबाट मान्छेहरु नेपाल छिर्ने गरेको स्थानीयहरु बताउँछन् ।
बोर्डरमा भारतीय एसएसबी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको पहरा भएपनि चोर बाटो भएर छिर्ने क्रम जारी छ । खजुरी ईलाका प्रहरी कार्यालयको मातहतमा जम्माजम्मी २६ जना प्रहरी रहेको प्रहरी नीरिक्षक हिरेन्द्र रोकायाले बताउनुभयो ।
प्रहरीको गस्ती सडकबाटोमा मात्र भएको मौका छोपी सर्वसाधारणहरु खेतमा काम गर्ने बहानामा निस्कँदै सीमा पार गरी आवतजावत गर्ने गरेको देखिएको छ ।
ईलाका प्रहरी कार्यालय खजुरी नजिकै सशस्त्र प्रहरी बलको क्याम्प समेत रहेको छ तर प्रहरी मुख्य सडकमा चेकजाँच, कडाई गरेपनि खुल्ला सीमा र खेतको बाटो, बगैँचाको चोर बाटो भएर आवतजावत गरिरहेको देखिएको छ ।
सरकारले लकडाउनलाई झन कडा बनाएपनि सुरक्षाकर्मीको जनशक्ति अभावका कारण चोरबाटोको प्रयोग गरी नेपाल छिर्ने गरेको छ ।
शनिबारसम्म कोरोना सँक्रमितको सँख्या ९ पुगेको छ जसमा भारतबाट आएका व्यक्तिमा पनि सँक्रमण देखिएको पुष्टि भएको छ ।
सुरक्षाकर्मी बलियो भएपनि, लकडाउनमा कडाइ गरिएपनि सँख्यात्मक हिसाबले कम भएको कारण पूर्ण रुपमा लकडाउनलाई पालना गराउन असफल भएको देखिएको छ ।
खजुरी ईलाकामा मोटो सँख्यामा प्रहरीको सँख्या थप्नुपर्ने आवश्यकता देखिएको छ ।
कोरोनो स्थिति नियन्त्रणको लागि सरकार, सुरक्षाकर्मीले दिनरात एक गरेको अवस्थामा सीमामा बस्ने आम नागरिकले कोही अनाधिकृत प्रवेश गरेको खण्डमा तुरुन्त प्रहरीलाई जानकारी गराउनु आवश्यकता देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…