कत्तारबाट फर्केकाप्रति नगरपालिकाले लिएन चाँसो, त्रासमा सर्वसाधारण
नगरपालिकाले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामको लागि ५० लाख रुपैयाँसमेत छुट्याएको छ ।

२०७६ चैत १७ सोमबार, बिहान ११:३४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को डरले नेपालमा यत्तिबेला सनसनी छाएको छ ।
नेपालमा कोरोनाको संक्रमण फैलिन नदिन सरकारले उच्च सतर्कता अपनाएको छ । कोभिड–१९ एकबाट अर्कामा सर्ने भएकाले समाजिक दुरी बढाउन सरकारले देश नै लकडाउन गरेको छ ।
कोरोना रोकथामका लागि केन्द्र सरकारले प्रदेश र स्थानीय तहलाई विशेष सक्रिय भएर लाग्न निर्देशन दिएको छ । यत्तिबेला तीनै तहका सरकार कोरोना महामारी रोक्न कम्मर कसेर लागेका पनि छन् ।
सरकारले जनप्रतिनिधिहरु, स्थानीय तहका स्वास्थ्यकर्मीहरु सहित आम नागरिकलाई देश बाहिरबाट घर फर्किएकाहरुको खोजी गरेर उनिहरुको अवस्था पहिचान गर्न अपिल गरेको छ । यस्ता व्यक्तिहरुलाई तत्कालै स्वास्थ्य जाँच गर्न र क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई सरकारले भनेको छ ।
तर, केही स्थानीय तह भने यस्तो विषम परिस्थितिमा पनि संवेदनशील देखिएका छैनन् । सिरहाको मिर्चैया नगरपालिका १२ मा पर्ने सिक्रौनमा हालसालै दुईजना बैदेशिक रोजगारबाट फर्केका छन् । स्थानीय रामपति कापर गत ७ गते र लगत्तै त्यसको दुईतीन दिनपछि अजय कापर पनि कत्तारबाट आएका हुन् ।
सरकारले विदेशबाट आएका व्यक्तिलाई स्वास्थ्य जाँच र क्वारेन्टाइनमा बस्न अनिवार्य गरेपछि स्थानीयहरुले उनीहरुको लागि जनप्रतिनिधि र कर्मचारीलाई पटकपटक आग्रह गरेपनि चाँसो लिएका छैनन् । उनीहरुको कम्तिमा स्वास्थ्य जाँच गर्न र क्वारेन्टाइनमा राख्न सम्बन्धित निकायमा फोन गर्दा कुनैबेला फोन नै लाग्ने, फोन नउठ्ने, फोन काटिदिने र सम्पर्क भएपनि चाँसो नलिएको स्थानीयको गुनासो छ ।
एकजना स्थानीयले यस सम्बन्धमा न्यूज ब्यूरोलाई जानकारी गराएपछि पहल गर्न मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवसँग शनिबार सम्पर्क गर्दा उनले स्वास्थ्य जाँच गर्ने र क्वारेन्टाइनमा राख्ने बताएपनि हालसम्म राखिएको छैन । नगरपालिकाले वास्ता नगरेको भनेर फेरी आज (सोमबार) विहान गुनासो आएपछि नगरप्रमुख यादवसँग सम्पर्क हुन नसक्दा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश कुमार सिंहलाई फोन गरेपछि उनी गैरजिम्मेवार शैलीमा कुरा गरे ।
उनीहरुको कम्तिमा स्वास्थ्य जाँच र त्यस्तो देखिए क्वारेन्टाइनमा सिफ्ट गर्न गरिएको आग्रहमा उनले कसैले केहि भन्दैमा नगर्ने प्रतिक्रिया दिए । उनीहरुमा केही गडबडी देखिए मात्र केही गर्ने बताए । यस सम्बन्धमा वडा नम्बर १२ का वडाध्यक्ष तपेश्वर यादवसँग कुरा गर्न खोज्दा सम्पर्क भएन ।
मिर्चैया नगरपालिका २ का वडाध्यक्ष लक्ष्मेश्वर कापरले आफूले पनि पहल गर्न खोज्दा कसैले नसुनेको गुनासो पाखे । ‘तीनचार दिनदेखि निरन्तर प्रयासमा छौं, कसैले सुनेन’, उनले थपे, ‘उनीहरुलाई घरमै बस्न भनेका छौं, तर गाउँघरमा जनचेतनाको अभाव छ, यो संवेदशील परिस्थिति हो, के हुन्छ हुँदैन, कसले जानेको छ ?’ सम्बन्धित जनप्रतिनिधि र कर्मचारीले नसुनिदिएपछि त्यहाँका सर्वसाधारणहरु त्रासमा छन् ।
क्वारेन्टाइनको लागि नगरपालिकालाई मिर्चैयाको दुई होटलले भवन उपलब्ध गराएको छ । नगरपालिकाले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामको लागि ५० लाख रुपैयाँसमेत छुट्याएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…