२ दिन १ रातदेखि भोकै पैदल हिडदै थिए यी मजदुरहरु, कसैले पानी पनि दिएनन
जनकपुरदेखि ढल्केवरसम्मको लागि सवारीको व्यवस्था मिलाइदिन उनीहरुले आग्रह गरेका छन् ।

२०७६ चैत १७ सोमबार, बिहान ७:०६ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले लकडाउन गरेपछि विभिन्न ठाउँमा काम गर्ने सर्लाहीका केही मजदुरहरु २ दिन १ रातदेखि भोकभोकै सडकमा पैदल हिडे ।
प्रदेश नं. २ को सर्लाही जिल्ला निवासी उनीहरु प्रदेश नं. २ को सप्तरी जिल्लाको विभिन्न ठाउँमा काम गर्दै आएका थिए । सरकारले लकडाउन गरेपछि उनीहरुलाई छाडेर मालिक निस्के ।
मालिक निस्केपछि उनीहरु अलपत्र परे । कोरोना भाईरसलाई लिएर सरकारले गरेको लकडाउनमा पनि उनीहरुलाई काम गर्ने ठाउँमा खाना नपुगेपछि आफ्नो गाउँ जाने निधो गरे ।

असहाय संरक्षण मँचका अध्यक्ष समाजसेवी बैद्यनाथ साह खाद्यान्न समाग्री प्रदान गर्दै
शनिबार विहानैदेखि पैदल यात्रा सुरु गरेका सर्लाहीका २३ जना मजदुरहरु खाना नपाएर भोकभोकै हिडन बाध्य भए । सप्तरीको राजविराजबाट हुलाकी मार्ग हुँदै उनीहरु सर्लाही पुग्ने निधो गरे ।
शनिबार नै हिडेका उनीहरु आईतबार सिरहा जिल्लाको सदरमुकाम सिरहा आउँदा कसैले पानी पनि खान दिएनन । उनीहरु भारतबाट आएको हुनुपर्ने भन्दै तिर्खाले घाँटी सुक्दा सम्म पनि पानी खान दिएनन् ।
तैपनि हिम्मत नहारेका यी मजदुरहरु कमला नदीमा आएर पानी खान बाध्य भएका थिए । कमला नदी पार गरेपछि धनुषा छिरेका यीनीहरु कमला नगरपालिका वडा नं. २ माचि झिटकैयाको एक खेतमा विश्राम गर्दै थिए ।

असहाय संरक्षण मँचका अध्यक्ष समाजसेवी बैद्यनाथ साह खाद्यान्न समाग्री प्रदान गर्दै
सोही क्रममा न्यूज ब्यूरोको टीम स्थलगत रिर्पोटिँगमा रहेको बेला उनीहरुलाई अलपत्र देखेपछि भोजनको व्यवस्था गर्ने निर्णय गरयो । कमला नगरपालिका वडा नं. २ का वडाध्यक्ष धनेश्वर यादवको सहयोगमा उनीहरुलाई भोजन गराइयो ।
२३ जनामध्ये ६ जना विना चप्पलकै गिट्टीमा हिडन बाध्य भएको बेला वडाध्यक्ष यादवले ६ जोडी चप्पल समेत उपलब्ध गराए । उनीहरुको लागि तत्कालै केही च्यूरा, चिनी र दालमोठहरु ब्यागमा हालेर बाटखर्चा दिएर पठाउनुभयो ।
त्यहाँबाट जनकपुरसम्म पुग्नको लागि थलालिँग परेका उनीहरुको लागि सवारीको व्यवस्था नभएपनि ६ घण्टा हिँडेर जनकपुर पुगे । जनकपुरमा असहाय संरक्षण मँचका अध्यक्ष एवम समाजसेवी बैद्यनाथ साहले भोजनको व्यवस्था गरे ।

२ दिनदेखि भात खान नपाएर हिडन समेत सकिनरहेका उनीहरुको लागि न्यूज ब्यूरोको सम्पर्कमा मँचका अध्यक्ष साहले उनीहरुको खानाको लागि १० किलो चामल, १ किलो दाल, १ लिटर खाने तेल, ५ किलो आलु, २ किलो प्याज, नुन, मसाला र दाउराको प्रबन्ध मिलाएका थिए ।
साहलाई जानकारी भएलगत्तै उनीहरुको लागि खानाको जोहो गरेका थिए । उनीहरुलाई थप बस्ने व्यवस्था भएपछि थप रासन उपलब्ध गराउने पनि प्रतिबद्धता जाहेर गरेका थिए ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ को विद्यानगरमा सडकमै उनीहरुलाई आराम गर्न लगाउँदै खानाको व्यवस्था गरियो । सो क्रममा जय अम्बे किराना स्टोरका विशुन साह, जोमना साइकल तथा किचन हाउसका कैलास साह, गणेश ईटा उद्योग देउरी परवाहा, गिरिजा सिनेमा हलका म्यानेजर अरुण ठाकुर, कपिलेश्वर प्रहरी चौकीका सई चन्देश्वर महतो, विनयतारा फाउण्डेशनका प्रतिनीधि विजय मल्लिक, वेलकम टेन्ट हाउसका म्यानेर जीतेन्द्र पँजियारले हातहातै आफैंले बनाएर खुवाएका थिए ।

राती १२ बजे खाना खाँदै भोकै बसेका मजदुरहरु, भात खान पाउँदा खुसी
सो क्रममा कैलाश साह सहितको टीमले तरकारी र टेन्टका समानहरुको व्यवस्था गरिदिएका थिए । रातीमा उनीहरुलाई बाटो खर्चको लागि १००० रुपैयाँ समेत दिएका थिए । राती २३ सै जनालाई आराम गर्न लगाउँदै विहानै उनीहरु निस्केका हुन् । सवारीको व्यवस्था नभएको कारण उनीहरु अझै अलपत्र परेको अवस्था छ ।

कमला नपा २ का वडाध्यक्ष धनेश्वर यादव मजदुरहरुलाई खाना खुवाउँदै
जनकपुरदेखि ढल्केवरसम्मको लागि सवारीको व्यवस्था मिलाइदिन उनीहरुले आग्रह गरेका छन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…