आजदेखि बर्दिवास बन्द
केहि दिनका लागि बन्द गर्ने बारे आन्तरिक तयारी भइरहेको गौशाला नगरपालिकाले जनाएको छ ।

२०७६ चैत ९ आइतबार, बिहान १०:०४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ र बागमति प्रदेशको बीचमै रहेको महोत्तरीको बर्दिवास बजार आजदेखि बन्द भएको छ ।
मधेश आन्दोलनको बेला काठमान्डौंको लागि संजीवनीको रुपमा रहेको प्रदेश २ को बर्दिवास बजार आजदेखि बन्द गर्ने निर्णय गरिएको उद्योग वाणिज्य संघ बर्दिवासले जनाएको छ ।
विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै आजदेखि बजार बन्दको निर्णय गरिएको जनाइएको छ । संघले एक प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि बन्दको निर्णय गरिएको हो ।
बन्दको क्रममा पनि अति आवश्यक सेवाहरु सूचारु नै राख्न विज्ञप्तिमा मार्फत जनाइएको छ । अस्पताल सहित दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति हेतु यी क्षेत्रका पसहलहरु भने सूचारु रहने छ ।
बाणिज्य संघले कोरोना भाइरस संक्रमण विरुद्ध सचेत रहन सर्वसाधारणलाई आह्वान गर्दै महोत्तरीको बर्दिबास बजार बन्द गर्ने निर्णय गरीएको संघका अध्यक्ष प्रलाद क्षेत्रीले जानकारी दिए ।
बर्दिबासको बजारमा कोरोना भाइरस संक्रमण हुन सक्ने त्रासका कारण उपभोक्ताहरुको पातलो उपस्थितीका कारण बजार सुनसान देखिन थालेपछि बर्दिवास उद्योग वाणिज्य संघले चैत ९ गतेदेखि २१ गतेसम्म बजार बन्द गर्न व्यवसायीलाई अपिल गरेको छ ।
संघले चामल, दाल, तेल, नुन जस्ता खाद्यान्न दैनिक उपभोग्य वस्तु प्रशासनको सहयोगमा उपभोक्तालाई उपलब्ध गराउने भएको छ भने, ‘अत्यावश्यक बाहेकका सम्पूर्ण व्यवसाय बन्द गरी कोरोना भाईरस संक्रमण फैलिन नदिन सबै व्यापारी तथा नेपाली दाजुभाइ दिदी–बहिनीमा सरकारले गरेको निर्णय कार्यान्वय गरी सुरक्षित बस्न अनुरोध समेत गरेको छ ।
विपतको समयमा व्यबसायी उद्योगीलाई आर्थिक मार पर्ने भएको भन्दै घरधनीहरुलाई घरभाडा छुट दिन समेत आग्रह गरेको बर्दिबास उद्योग बाणिज्य संघ बर्दिबासका अध्यक्ष प्रह्लादकुमार क्षेत्रीले बताए ।
संघले व्यवसायीहरुको बैंक तथा वित्तिय संस्थाको ब्याज, बिजुली पानीको महसुल, कर, भ्याटमा छुट गर्न समेत सरकारसँग अनुरोध गरको छ ।
यता, महोत्तरीको गौशाला बजार पनि केहि दिनका लागि बन्द गर्ने बारे आन्तरिक तयारी भइरहेको गौशाला नगरपालिकाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…