जनकपुरः एसईई परीक्षार्थीबाट घुस लिने केन्द्राध्यक्ष रँगेहात पक्राउ
यसपालीको एसईई परीक्षामा त्यो विद्यालयको केन्द्रमा केन्द्राध्यक्षको रुपमा रहेका थिए ।

२०७६ चैत ५ बुधबार, दिउँसो २:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भोलीदेखि सँचालन हुने एसईई परीक्षाको लागि परीक्षार्थीबाट घुस लिने केन्द्राध्यक्षलाई रँगेहात पक्राउ गरिएको छ ।
प्रदेश नं. २ को धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजको जनता माध्यमिक विद्यालयका हेडमास्टर समेत रहेका केन्द्राध्यक्षलाई पक्राउ गरिएको हो ।
आज विहानैदेखि निगरानीमा रहेको अख्तियारको टोलीले विद्यालयका हेडमास्टर एवम् त्यो विद्यालय सेन्टरको लागि केन्द्राध्यक्ष रहेका महेन्द्र महतोलाई करिब १२ बजे तर्फ नियन्त्रणमा लिएको हो ।
समयमा एईई परीक्षाको फाराम नभरेपनि प्रवेश पत्र उपलब्ध गराइदिने भन्दै हेडमास्टर महतोले एक परीक्षार्थीबाट २ हजार रुपैयाँ घुस मागेका थिए । उनलाई घुस लिसकेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका सूचना अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो ।
अधिकारी घिमिरेका अनुसार परीक्षार्थीबाट अवैद्य रकम मागेको सूचनाको आधारमा टोलीले निगरानी राखेको थियो । आयोगलाई पूर्व सूचनाको आधारमा महतोलाई आज रँगेहात पक्राउ गरिएको उहाँले बताउनुभयो ।
महतो उपर भ्रष्टाचार निवारण ऐन सम्बन्धी मुद्दा चलाउने तथा अहिलेको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा लगिएको जनाइएको छ ।
भोली देखि सुरु हुने यसपालीको एसईई परीक्षामा त्यो विद्यालयको केन्द्रमा केन्द्राध्यक्षको रुपमा रहेका थिए ।
यता, केन्द्राध्यक्ष नै अख्तियारको गिरफ्ता आईसकेपछि महतोको विकल्प खोजिन लागेको जिल्ला शिक्षा समन्वय समितिका अध्यक्ष बरखु प्रसाद रजकले बताउनुभयो । उहाँले केन्द्राध्यक्षको विकल्पको रुपमा सहायक केन्द्राध्यक्षले कारवाही गर्ने बताउनुभयो ।
विशेष परिस्थिति भएको भन्दै उहाँले त्यहाँको लागि सहायक केन्द्राध्यक्ष श्याम यादवले जिम्मेवारी सम्हाल्ने बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…