'कमला नगरपालिका' बन्धकमुक्त महसुस भयो : मेयर गोईत
नगरपालिका बन्धकमुक्त भएको नगरपालिकाका योजना अधिकृत चन्द्रप्रकाश यादवले बताउनुभयो ।

२०७६ फागुन ३० शुक्रबार, बेलुकी ७:४४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाका मेयर राम उदगार गोईतले कमला नगरपालिका आजदेखि बन्धकमुक्त भएको महसुस हुने थालेको बताउनुभएको छ ।
गत आर्थिक वर्षको उपभोक्ताहरुको बाँकी बक्यौता भुक्तानी गर्ने बाटो खुलेको भन्दै नगरपालिका बन्धकमुक्त जस्तो महसुस भएको बताउनुभयो । आज भएको तेस्रो नगरसभाबाट विभिन्न निर्णयहरु गरिएको छ ।
चालु आर्थिक वर्षमा विकासको कामकाज हुन बाँकी रहेको धनुषाको कमला नगरपालिका सुचारु भएको छ ।

विगत कैयौं महिनादेखि कर्मचारीहरुको तलब समेत दिन नसकेको कमला नगरपालिकाले जनप्रतिनीधि र कर्मचारीबीचको समन्वयले नगरपालिकाको हरेक कामकाज सुचारु गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र सढानले बताउनुभयो ।
निवर्तमान प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादव र कर्मचारीहरुको किचलो र मतभेदका कारण नगरपालिका बन्धकमा परेको महसुस भएको निमित्त अधिकृत सढानले थप्नुभयो ।
आज (शुक्रबार) बोलाइएको तेस्रो नगरसभाबाट कमला नगरपालिकाको विभिन्न कार्यहरु सूचारुको लागि हरियो झण्डी देखाइएको छ । नगरपालिकाका नगर प्रमुख गोईतले गत आर्थिक वर्षको बाँकी बक्यौता भुक्तानी गर्ने सहमति गर्नुभएको हो ।
विशेष नगरसभामा ९ वटै वडाका वडाध्यक्ष, मेयर, उपमेयर, राष्ट्रसेवक कर्मचारी, वडा सचिवहरुको विशेष उपस्थितिमा चालु आर्थिक वर्षको लागि छुट भएका विभिन्न योजनाहरुलाई सुत्रमा समावेश गर्ने निर्णय समेत गरिएको हो ।

योजनाहरुको कागजी प्रक्रियामा छुट हुन गएका दस्तखत (भौतिक प्रगति भएको योजनाहरुको हकमा) पनि हालबहालबाला कर्मचारी मार्फत गर्ने आदेश समेत विशेष नगरसभाबाट लिइएको हो ।
कमला नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सढानलाई बाँकी बक्यौता र गत आर्थिक वर्षको भुक्तानीको लागि आदेश प्रदान गरिएको जनाइएको छ । मेयर गोईतले सम्पूर्ण कार्यपालिका सदस्यहरुको सहमतिमा सो आदेश दिएको जनाइएको छ ।
यसका साथै, नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को अनुमानित रु ५७ करोड ८५ लाख ५६ हजार ६ सय ३६ रुपैयाँ ६८ पैसा बराबरको वार्षिक बजेट तथा कार्यक्रम मध्ये हाल सम्म चालुमा रहेको ५ करोड ६४ लाख ६१ हजार २८ रुपैयाँ ६० पैसा (कुल बजेटको २६.५ प्रतिशत) खर्च भएको बताइएको छ ।

यस्तै, पुँजिगतमा ३ करोड २७ लाख १७ हजार ३ सय रुपैयाँ खर्च भएकोमा सो वमोजिमको खर्चहरु पारित गर्ने सर्वसम्मत निर्णय गरिएको हो ।
नगरस्तरीय वा वडास्तरीय गरी छुटाएका विभिन्न योजनाहरु सुत्रमा समावेशीकरण गर्दै विकास निर्माणका कार्यहरु तीव्र गतिमा सँचालन हुने अधिकृत वीरेन्द्र सढानले जानकारी दिनुभयो ।
बन्धक बनी रहेको कमला नगरपालिका बन्धकमुक्त भएको नगरपालिकाका योजना अधिकृत चन्द्रप्रकाश यादवले बताउनुभयो । उहाँले आन्तरिक किचलोको कारण बन्धकझैं भएको कमला नगरपालिकाले विकासमा तीव्रता देखाउने दाबी गर्नुभयो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…