परीक्षा केन्द्रमै स्वास्थ्य सेवा दिइने
उपमहानगरपालिकाभित्रका सबै वडामा स्वास्थ्यचौकी स्थापना गरी सेवा दिन शुरु गरेको छ ।

२०७६ फागुन ३० शुक्रबार, दिउँसो ३:४७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, हेटौडा । हेटौँडा उपमहानगरपालिकाले एसइई परीक्षा केन्द्रमा स्वास्थ्य सेवा दिने भएको छ ।
चैत ६ गतेबाट हेटौँडाका एसइई परीक्षा केन्द्रमा उपमहानगरपालिकाले स्वास्थ्य सामग्रीसहितको ‘हेल्प डेस्क’ स्थापना गर्दै परीक्षामा सामेल विद्यार्थीको स्वास्थ्योपचारका लागि सहयोग गर्ने तयारी गरेको हो ।
यहाँ १४ परीक्षा केन्द्र तोकिएको छ । उक्त परीक्षा केन्द्रबाट करिब चार हजार विद्यार्थीले एसइई परीक्षा दिँदै छन् । सबै परीक्षा केन्द्रमा स्वास्थ्यकर्मीसहित, मास्क र सेनेटरी प्याडसहितको व्यवस्था गर्न हेल्प डेस्क सञ्चालन गर्न लागिएको नगर प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना भाइरसको सङ्क्रमणबाट सावधानी अपनाउन मेला, महोत्सव, सार्वजनिक कार्यक्रम नगर्न अनुरोध गरेकाले परीक्षामा विद्यार्थीको बाक्लो उपस्थिति हुने कारणले उपमहानगरपालिकाले परीक्षामा सामेल विद्यार्थीका लागि मास्क, सेनेटरी प्याड वितरण गर्नुका साथै स्वास्थ्यकर्मीको टोलीले प्राथमिक स्वास्थ्य सामग्रीसहितको आवश्यकताअनुसार स्वास्थ्योपचार गरिने जनाएको छ ।
त्यसैगरी, स्वास्थ्य सेवा दिने उद्देश्यले उपमहानगरपालिकाभित्रका सबै वडामा स्वास्थ्यचौकी स्थापना गरी सेवा दिन शुरु गरेको छ ।
उपमहानगरपालिकाले १९ वटै वडाबाट स्वास्थ्य सेवा दिन शुरु गरेको जनाएको छ । नगरका नागरिकलाई आफ्नै वडा र स्थानीयस्तरबाट नै स्वास्थ्य सेवा दिने उद्देश्यले काम थालिएको बताइएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…