जनकपुरः मोटरसाईकल तुरुन्तै नदिएपछि दुल्हा विहे गर्न आएनन्
बेहुली पक्षले जिल्ला प्रशासन कार्यालयमा जाहेरी दिए दाईजो कसुरको मुद्दामा कारवाही गरिने

२०७६ फागुन २७ मंगलबार, दिउँसो १२:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषा जिल्लामा एक युवतिको विहे (विवाह) रोकिएको छ ।
गत आईतबार बेलुकी आउनुपर्ने जन्ती दाईजोको सम्झौतामा मोटरसाईकल तत्कालै नदिएपछि विवाह रोकिएको हो । धनुषाको नगरलाइन नगरपालिका वडा नं. २ जटहीका सुकदेव सदाकी छोरी पूजा सदाकी विवाह रोकिएको हो ।
विवाहको लागि दुवै तर्फबाट बेहुला पक्षलाई २ आना सुन र एउटा मोटरसाईकलको सम्झौता भएको थियो । तर, मोटरसाईक विहेको दिननै किन्न नसकेपछि वेहुला पक्षले विवाह गर्न नै नआएपछि गाउँमा खैलाबैला मच्चियो ।
पूजाको विवाहका लागि धनुषाको भुतही पटेर्वा निवासी रोहित सदाका २१ वर्षीय छोरा सुशीलसँग साईत जुडेको थियो । त्यसै अनुसार आर्थिक अवस्था अत्यन्त कमजोर भएपनि पूजाकी आमा बेच्नी सदाले छोरीको विवाहका लागि ३ लाख रुपैयाँ चर्को ब्याजमा लिएर सबै तयारी गरेकी थिइन्।
“म मोटरसाईकल दिने सम्झौता गरेकी थिए । फागुन २५ गते राती जन्ती बाराती आउने थियो । तर तुरुन्तै मोटरसाईकल नदिएपछि बेहुला पक्षले विवाह गर्न नै आएनन् । यस्तो अवस्थामा अब हामी साहूको ऋण कसरी चुकाउने त ?”– पूजाकी आमाले भक्कानो फोडेर रोइन ।
विवाह भाँडिएकी पूजाले अब कुनै पनि हालातमा त्यो घरमा विहे नगर्ने अडानमा छिन् । उनले एउटा जाबो मोटरसाईकलको लागि विहे नगर्ने बेहुलाले उनीसँग विवाह गरेपछि झन दाईजोको लोभमा ज्यान पनि लिन सक्ने बताउँदै त्यो घरमा कदापी विहे नगर्ने प्रतिक्रिया दिएकी हुन् ।
यता, धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कनेलले यस्ता उपर कानुनी कारवाही गर्ने प्रतिक्रिया दिनुभएको छ । दाइजोको कारण विवाह रोक्नेलाई कारबाहीको दायरामा ल्याउने बताउनुभएको छ ।
बेहुली पक्षले जिल्ला प्रशासन कार्यालयमा जाहेरी दिए दाईजो कसुरको मुद्दामा कारवाही गरिने उहाँले बताउनुभयो ।
यता, बेहुला शुशिल सदा भने घरबाट फरार रहेका छन् । बेहुली पक्षले शुशिलको परिवार उपर कानुनी कारवाहीको प्रक्रियामा गएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…