प्रदेश २ : मुस्लिम धार्मिक सम्मेलनमा २ जनाको मृत्यू, प्रशासन अलर्ट !
सवारी साधन व्यवस्थापन गर्नकालागि २ सय ५० जना स्वयसेवक परिचालन गरेपनि ट्राफिक व्यवस्थापन गर्न सकिएको छैन् ।

२०७६ फागुन ५ सोमबार, बिहान ६:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा जारी भव्य ईस्लामिक सम्मेलनको क्रममा दुई जनाको मृत्यू भएको छ ।
प्रदेश नं. २ को सप्तरी जिल्लाको बोदे बरसाईन नगरपालिका वडा नं. ५ स्थित जाँजरमा आयोजना गरिएको इस्लामिक धार्मिक सम्मेलन ‘इज्तिमा’मा सहभागी हुन आएका दुई जना भारतीय नागरिकको मृत्यु भएको हो ।
शनिवारदेखि सुरु भएको सम्मेलनमा सहभागी हुन आएका विहार मोतिहारी ग्रामका ७४ वर्षीय हारुन रसिक र अर्को विरपुरका एक जना गरी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक तिलक भारतीले हृदयघाटका कारण शनिवार दुवै जनाको मृत्यु भएको बताएका छन ।
सोमवारसम्म चल्ने सम्मेलनमा नेपाल भारतका झण्डै ३ लाख मुस्लिम समूदायको सहभागीता रहेको छ । आइतवार पनि सहभागीहरु आउने क्रम जारी रहेको आयोजक समितिका अध्यक्ष मो।गफुरले जानकारी दिएका छन ।
सम्मेलनमा भारतको नयाँ दिल्लीका विश्व साद साहाब जमातका अध्यक्ष धर्मगुरु मौलाना साद साहाब, नेपाली जमातका अध्यक्ष मो. निसारुद्दिन लगायतका धर्मगुरुहरुबाट प्रवचन वाचन गरिरहेका छन ।
सहभागीहरुले प्रयोग गरेको सवारी साधनलाई व्यवस्थित गर्न नसक्दा विसनपुर–बोदे बरसाईन सडक खण्ड अस्तव्यस्त बनेको छ । सवारी साधनको बढ्दो चाप तथा ट्राफिक व्यवस्थापनमा ध्यान नदिँदा आइतवार दिनभर सर्वसाधारणलाई आउजाउ गर्न सास्ती भएको छ ।
सम्मेलनलाई मध्यनजर गर्दै प्रशासनले सम्मेलनको सुरक्षा व्यवस्थापन तथा हुनसक्ने सुरक्षा चुनौतीको विषयमा गम्भिरतापूर्वक निगरानी राखेको छ । यद्यपी ट्राफिक व्यवस्थापन खासै ध्यान नदिँदा सर्वसाधारणलाई सास्ती खेप्नु परेको स्थानीयहरुको गुनासो छ ।
आयोजक समितिले सवारी साधन व्यवस्थापन गर्नकालागि २ सय ५० जना स्वयसेवक परिचालन गरेपनि ट्राफिक व्यवस्थापन गर्न सकिएको छैन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…