प्रदेश २ः सवारीमा ५३ हजारसम्म कर लिने , मोटरसाईकलमा कति कर ?
डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेन जस्ता मेसिनरी उपकरणको लागि एकमुष्ट १७ हजार रुपैयाँ भर्नुपर्ने हुन्छ ।

२०७६ माघ २७ सोमबार, बेलुकी ७:३० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा पुनः सवारी साधनको करको थपघट गरिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गरेको नयाँ कर दरमा थपघट गरिएको छ ।
प्रदेश नं. २ को सवारी साधन करमा निजी सवारी साधनको लागि ५३ हजार रुपैयाँसम्म कर तोकिएको हो । नयाँ दरमा कार, जीप, भ्यान र माईक्रो बसको लागि १००० सिसिसम्ममा १९ हजार रुपैयाँ कर तोकिएको हो ।
यस्तै १००१ सिसिदेखि १५०० सिसिसम्मको २१ हजार रुपैयाँ, ५१०१ देखि २००० सिसिसम्मको गाडीमा २३ हजार रुपैयाँ तोकिएको छ । २००१ देखि २५०० सिसिसम्ममा ३२ हजार, २५०१ देखि २९०० सिसिसम्म ३७ हजार रुपैयाँ तथा २९०१ देखि माथिको मा ५३ हजार रुपैयाँसम्म कर लिने भएको छ ।
यस्तै, डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर र क्रेन जस्ता मेसिनरी उपकरणमा पनि कर तोकिएको छ । त्यसको लागि प्रदेश सरकारले ३५ हजार रुपैयाँ एकमुष्ट तोकेको हो । यसका साथै, मिनीटिपरको लागि २५ हजार रुपैयाँ तोकिएको हो ।
प्रदेश सरकारले अटो रिक्सा, थ्री ह्वीलर (तिनपाँग्रे, तिनपहिया) टेम्पो, ट्रेक्टर र पावर टिलरमा ५ हजारदेखि ३० हजारसम्म कर तोकिएको हो । अटो रिक्सा, थ्री ह्वीलर (तिनपाँग्रे, तिनपहिया) टेम्पोको लागि ५ हजार, ट्रैक्टरमा ४ हजार, पावर टिलरमा ३ हजार, मिनिट्रक र मिनीबसमा २२ हजार तथा ट्रक र बसको लागि ३० हजार रुपैयाँ कर तिर्नुपर्ने भएको छ ।
यस्तै मोटरसाईकल अर्थात दुई पाँग्रे सवारीको हकमा १२५ सिसिसम्मको मोटरसाईकलमा २५ सय रुपैयाँ, १२६ देखि १६० सिसिसम्म ४ हजार रुपैयाँ, २५१ देखि ४०० सिसिसम्म ८ हजार रुपैयाँ तथा सो भन्दा माथिकोमा १५ हजार रुपैयाँ कर तोकिएको हो ।
प्रदेश सरकारले सार्वजनिक रुपमा चलाउने सवारीको लागि अलगै कर कायम गरेको छ । सरकारले कार, जीप, भ्यान र माईक्रोबसको लागि वार्षिक ८ हजार रुपैयाँ देखि १७ हजारसम्म तोकेको छ । भाडाबाला गाडीको लागि १३०० सिसिसम्म ८ हजार रुपैयाँ, १३०१ देखि २००० सिसिसम्म ९ हजार, २००१ देखि २९०० सिसिसम्म ११ हजार रुपैयाँ तोकिएको छ ।
त्यस्तै, २९०१ देखि ४००० सिसिसम्मको गाडीको लागि १३ हजार, ४००० भन्दा माथिको सिसिमा १५ हजार रुपैयाँ बार्षिक रुपमा कर तिर्नुपर्ने भएको छ । डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेन जस्ता मेसिनरी उपकरणको लागि एकमुष्ट १७ हजार रुपैयाँ भर्नुपर्ने हुन्छ ।
भाडाबाला अटोरिक्सा, थ्री ह्वीलर र टेम्पोको लागि बार्षिक ४ हजार रुपैयाँ, ट्रेक्टरको लागि २५००, पावर टिलरको लागि २ हजार, मिनीबस र मिनि ट्रकको लागि १२ हजार रुपैयाँ तथा मिनी ट्रिपरको लागि १४ हजार रुपैयाँ बार्षिक कर तिर्नुपर्ने भएको छ भने सार्वजनिक ट्रक र बसको लागि १६ हजार रुपैयाँ बार्षिक बुझाउनुपर्ने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…